८ वैशाख २०८१ शनिबार
समाज

३६ थान प्रतिबन्धित लागुऔषधसहित एक पक्राउ

उदयपुर- उदयपुरका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको त्रियुगा नगरपालिका ६ स्थित सप्तरीको सीमा नाकास्थल लालपत्ताबाट सार्वजनिक यातायात विङ्गर (भ्यान) चढेर गाईघाटतर्फ आउँदै गरेका प्रहरी चेकजाँच गर्ने क्रममा त्रियुगा ११ का २४ वर्षीय विनोद चौधरी पक्राउ परेका हुन्।

सोमबार दिउँसो ना १ ज ७३५३ नं. को विङ्गरमाथि लालपत्ता चौकीका प्रहरीले खोजतलासका क्रममा सवार चौधरीको साथबाट बिभिन्न किसिमका ३६ थान प्रतिबन्धित लागुऔषध बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनको साथबाट डाईजोल्याप १२ एम्पुल (थान), नोफिन १२ एम्पुल र फेनारगन १२ एम्पुल बरामद भएको छ।

लालपत्ता हिरासतमै रहेर अनुसन्धान भईरहेको चौधरीलाई बुधबार सदरमुकाम ल्याएर अदालतबाट म्याद थपेर थप अनुसन्धान प्रक्रिया थालिएको एसपी मगरले बताएका छन्।

लागुऔषध दुव्र्यसनी तथा कारोबारीहरु मोटरसाइकल, सार्वजनिक यातायात बस, विङ्गर, जिप, कार र भ्यानमा सवार रहेर र पैदलै हिडेर सो नाकामार्फत जिल्लामा लागुऔषध भित्र्याउने गरेको पाइएको छ। अधिकांश लागुऔषध लालपत्ता नाका भएर सप्तरी सिराहाबाट भित्रिने गरेको निश्कर्षसहित पछिल्लो समय प्रहरीले लालपत्ता चौकीमार्फत कडाईका साथ चेकजाँच गर्ने गरेको छ। चेकजाँचको क्रममा पटकपटक यस्ता कारोबारी र अम्मलीहरु पक्राउ पर्ने गरेको एसपी मगरले बताए।

प्रकाशित: २३ पुस २०७६ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App