६ वैशाख २०८१ बिहीबार
समाज

सप्तऋषि अस्पतालमाथि छानविनमा किन ढिलाई ?

लहान- लहान नगरपालिका ३ स्थित सप्तऋषि अस्पतालमा एकै रात तीन जना शिशु मृत्यु प्रकरण छानविन तथा कारबाहीमा नियामक निकाय उदासिन देखिएको छ। शुक्रबार राती भएको उक्त घटनाबारे जिल्ला स्वास्थ्य कार्यालयले अहिलेसम्म कुनै कारबाही अघि बढाएको छैन।

घटनाको चार दिन भैसक्दापनि जिल्ला सवास्थ्य प्रमुख कृष्णदेव यादव घटना बुझ्दैछु भन्दै छन्। अस्पताल नविकरण भएनभएको बारे उनले अनविज्ञता प्रकट गरे। अस्पतालमा एनएमसि (नेपाल मेडिकल काउन्सिल) पास नभएका डाक्टरले उपचार गरेनगरेको बारे समेत उनलाई पत्तो छैन। जिल्लाभरीका स्वास्थ्य संस्थाको नियमन, निगरानी तथा कारबाही गर्ने अड्डाका प्रमुख बेखबर हुँदा घटना मिलोमतोमा सेलाउने पो हो की भन्ने शंका पीडितहरुले गर्न थालेका छन्।

यत्ता पीडित पक्षका तीनै जनाले आइतबार साँझ इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। पीडित घुरन यादवले नगरिकसँग भने,‘प्रहरीमा जाहेरी दिएको छु, निसाफको पर्खाइ छ।

दोस्रो पटक आमा बन्दै गरेकी लहान नगरपालिका–१९ की २५ वर्षीया जानकी यादव सप्तऋषि अस्पतालमा भर्ना भएको झन्डै पाँच घन्टापछि शल्यक्रियापछि सकुशल छोरा जन्मियो। केहीबेरमै नर्सहरूले उनको परिवारलाई ‘बच्चा मर्‍यो’ भनेर जानकारी गराएका थिए। त्यसपछि उनले प्रहरीलाई घटना जानकारी गराउँदै जानकीका आफन्तले निसाफ मागेका थिए।

शुक्रबार साँझ सुत्केरी हुन सप्तऋषि अस्पतालमा भर्ना भएकी  औरही गाउँपालिका–१ दरैहियाकी २३ वर्षीया प्रमिला यादवले पनि शिशु गुमाउनु पर्यो। मध्यरातमा शल्यक्रियाका लागि शल्यक्रिया कक्षमा प्रमिलालाई लगेपछि खुसीको खबर सुन्न आतुर परिवारजन बच्चाको मृत्युको खबरले दु:खी बनायो। त्यसपछि आक्रोसित आफन्तले प्रहरी समक्ष डाक्टरको लापरबाहीले शिशुको मृत्यु भएको दुखेसो पोख्दै कारबाहीको माग गरेका छन्। प्रमिलाका पति लालबहादुर यादवले आफ्नो शिशुको मृत्यु नभई हत्या भएको आरोप लगाउँदै शल्यक्रियामा संलग्न चिकित्सकमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्।

सप्तरीको बलानबिहुल गाउँपालिका–३ दुधौलाकी २० वर्षीया संगीता साहले पनि सप्तऋषि अस्पतालमा छोरा गुमाउनुपर्‍यो। शुक्रबार राति उनले सप्तऋषि अस्पतालमा उनले छोरा जन्माएकी संगीताले चिकित्सककै लापरबाहीले बच्चाको मृत्यु भएको भन्दै संगीताका पति मनोज साहले प्रसूति कार्यमा संलग्न चिकित्सकमाथि कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिएका छन्। ‘हामीले निसाफका लागि प्रहरी गुहारेका छौं,’ उनले भने ‘प्रहरीले निष्पक्ष निसाफ दिलाउने भरोसामा छु। अदक्ष चिकित्सक र सिकारु नर्सको सिकार आफ्नो शिशु भएको उनको भनाई छ। घटना भएको चार दिन भैसक्दा पनि सप्तऋषि अस्प्तालमाथी कुनै कारबाही नहुनुले निसाफ पो नपाईने हो की जस्तो लागेको छ, उनले भने। 

शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म एक रातमा तीनजनाको पालैपालो शल्यक्रिया भए पनि शिशुहरू भने बाँचेनन्। शल्यक्रियामा डाक्टरको लापरबाही भएको पीडितका आफन्तहरूको आरोप छ। जानकीका पिता घुरन यादवले नागरिकसँग भने,‘अस्पतालले एनएमसी पास नभएका डाक्टरलाई राखेर मानव जीवनसँग खेलबाड गर्दैछ। ‘यस अस्पतालमा कार्यरत डा. सुनिल कुमार विराजीले त्यो रात शल्यक्रिया गरेका थिए, घुरनले भने। डा. बिराजी नेपाल मेडिकल काउन्सिल परीक्षा पास नभईकनै उपचारमा संलग्न हुँदै आएका छन्। एनएमसी परीक्षा पास नभई डाक्टरले एनएमसी नम्बर पाउँदैनन्। एनएमसी नम्बर नभई उपचारमा संलग्न हुन नपाईन प्रावधान रहेको जिल्ला अस्पताल सिरहाका प्रमुख डा. नागेन्द्र यादवले बताए।

तीन जना शिशु मृत्यु प्रकरण छानविन गर्न प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज मण्डारीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। समितिका संयोजक भण्डारीले भने,‘सोमबार जिम्मेबारीको पत्र पाएँ, मंगलबारसम्म काम नै गर्न पाएको छैन।’ जिल्ला स्वास्थ्य प्रमुख नै अनुपस्थित भएकोले काम अगाडि बढाउन नसकिएको उनले बताए।

उनका अनुसार सप्तऋषि अस्पतालको नवीकरण नभएको बुझिएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाबाट ५० शैयाको अनुमति लिई संचालन भएको यस अस्पतालको नविकरण सकिएको छ। प्रदेश २ बाट नविकरणका लागि प्रक्रिया अघि बढाइएको अस्पताल पक्षले मौखिक जानकारी गराएको भण्डारीले बताए।

‘पीडित तीनजनाबाट जाहेरी आएको छ,’ इलाका प्रहरी कार्यालय लहानका डीएसपी सरत थापा क्षेत्रीले भने,‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ अस्पतालको नवीकरण, उपचारमा संलग्न डाक्टर, कार्यरत्त डाक्टर, उनीहरुका योग्यताको प्रमाणपत्रलगायत सबै कागजात तथा उपचारमा संलग्न चिकित्सक, डाक्टर, स्वास्थ्यकर्मी, नर्सहरुको वयान लिने काम सुरु भएको डिएसपी थापाले बताए। अनुसन्धानबाट दोषी पाइएकामाथी कानुनी कारबाही अघि बढ्छ, उनले भने। स्वास्थ्यका मामिलामा बढी जानकार जिल्ला स्वास्थ्य प्रमुख हुने भएकोले उनीसहितको छानविन समितिले छानविन गरी तयार पारेको प्रतिवेदनको आधारमा पनि कारबाही अघि बढ्ने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।

यस भन्दा अगाडि यस अस्पतालले शक्तिको आडमा घटना दबाएकोले यस घटनामा कारवाही हुनेमा पीडितहरु ढुक्क छैनन्। पैसा र पावरको बलमा केस रफादफा पो गरिदिने हो कि भन्ने डर छ पीडित प्रमीलाका पति लालबहादुर यादवले बताए। बलियाका अगाडि नियम कानुन पनि फिका पर्दोरहेछ, उनले भने,‘हामी पीडितसँग न्याय होस् भन्न चाहन्छौं।’

स्वास्थ्य क्षेत्रमा बढ्दो बेथितिका कारण महिलाले शिशु गुमाउनु परेको यी प्रतिनिधि घटना हो। नियामक निकायको फितलो नियमनको फाइदा उठाउँदै यहाँका निजी स्वास्थ्य संस्थाबाट यस्ता घटना पटकपटक दोहोरिएका छन्।

ज्यानै जाने घटनापछि निजी स्वास्थ्य संस्थाले पीडितपक्षलाई कानुनी कारबाहीबाट रोक्न आर्थिक लेनदेन गरेर मिलाउने गरेको घटना छ। आर्थिक लेनदेनका कारण निजी स्वास्थ्य संस्थाको लापरबाही ढाकछोप हुँदै आएको महिला मानव अधिकारकर्मी रेणु कर्ण बताउँछिन्। ज्यानमारा संस्थामाथि हदैसम्मको कारबाही नभएसम्म घटना दोहोरिने उनले बताईन।

 

 

प्रकाशित: २३ पुस २०७६ ११:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App