६ वैशाख २०८१ बिहीबार
राजनीति

बढ्दो इरान- अमेरिका द्वन्द, मध्यपूर्वमा तनाब

काठमाडौं– इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि विश्व राजनीतिले नयाँ मोड लिएको छ। अघिल्लो शुक्रबार इराकमा सुलेमानीको हत्या भयो। अब अमेरिका र इरानबीचको टकराब त्यतिमै सिमित हुने लक्षण देखिँदैन। बढ्दो इरान- अमेरिका द्वन्दले मध्यपूर्वमा तनाव सिर्जना भइरहेको छ।
सुलेमानीको हत्यापछि छिप्पिदो घटनाक्रमलाई तेस्रो विश्व युद्धको संकेत भनिएको छ। सुलेमानीको हत्यापछि केही बर्षयता शान्त रहेको इरान उग्र बनेको देखिन्छ। जनरल सुलेमानीको अन्त्येष्टी भएको केही घण्टामै इरानले इराकमा रहेकाअमेरिकी सैनिक अखडामा मिसाइल आक्रमण गर्‍यो। दुई सैन्य अखडामा गरिएको आक्रमणमा ८० अमेरिकी सेना मारिएको इरानी संचारमाध्यमले दावी गरेका छन्।

इरानको आक्रमण पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ड्रम्पले आफुसंग संसारकै शक्तिशाली हतियार र सेना रहेको ट्वीट गरे। सामाजिक सञ्जाल टुइटरमार्फत उनले अहिलेसम्म हताहती र क्षतीको विवरण संकलन भैनसकेको उल्लेख गरेका छन्। 

‘सबै ठीकठाक छ!’ ट्रम्फले भने,‘इराकमा अवस्थित दुई सैन्य इलाकामा इरानले व्यालेष्टिक आक्रमण  गरेको छ। हताहती र क्षतिको विवरण संकलन भैरहेको छ।’  अहिलेसम्म जे भएको छ राम्रै भएको छ भन्दै उनले लेखेका छन्,‘हामीसँग संसारकै सबैभन्दा शक्तिशाली र सुसज्जित सेना छ। यसको बारेमा मैले भोली बिहान मात्रै आफ्नो धारणा व्यक्त गर्नेछु।’

यता इरानले पनि अमेरिकालाई कुनै हालतले नछोड्ने इरानी परराष्ट्रमन्त्री मोहमद जवाद जारिफले बताइरहेका खबरहरु सार्वजानिक भएका छन्। ‘अमेरिकी प्रतिबन्ध र तैनाथीको जवाफ दिन इरानसँग अनेकौं विकल्प छन्’, जारिफले भने।

तर नेपाली राजनीतिक विश्लेषक भने अमेरिका र इरानबीचको टकराब तेस्रो विश्व युद्धको संकेत नभएको बताउँन्। राजनीतिक विश्लेषक टिका ढकाल अमेरिका र इरानबीचको द्वन्द्वलाई बढाईचढाई गरिएकाले पनि तेस्रो विश्व युद्धको हल्ला बढेको बताउँछन्। उनले यी दुई देशबीचको द्वन्द्वमा चीन, रसिया जस्ता मूलुक सामेल नहुँदा तेस्रो विश्व युद्धको सम्भावना नरहेको बताउँछन्।

‘ढुक्क हुनुस्, इरान र अमेरिकाबीचके युद्धले तेस्रो विश्वयुद्ध हुदैंन’ ढकालले भने,‘तर यसलाई नजरअन्दाज गर्न पनि मिल्दैन।’ उनले यी दुई देशबीचको टकराबले इन्डो प्यासिफक क्षेत्रका धेरै देशलाई असर नगर्ने बताए। 

‘पक्कैपनि दुई देशबीच थप टकराब भयो भने विश्वव्यापी असर पर्नसक्छ’ उनले भने,‘यो ट्रम्पको चुनावी ऐजेन्डा पनि हुनसक्छ।’

सुलेमानीको हत्या भएपछि यतिबेला इरानमा बदलाको भावना मडारिएको देखिन्छ। इरान प्राचिन विरासत पर्सियाली सभ्याता बोकेको मूलुक हो। इरानमा सिया समुदायको वाहुल्यता छ। जसलाई अमेरिकाले शत्रुताको आँखाले हेर्छ।

त्यस्तै इरानमा ३० प्रतिशत सुन्नी समुदाय छ। यो समुदाय भने आफ्नै देशको विपक्षमा देखिन्छ। ‘सिया समुदायको राष्ट्रप्रेमका कारण पनि इरानले अमेरिकालाई आक्रमण गर्नसक्छ’ विश्लेषक ढकालले भने। बदलालिनको लागि इरानले इजरालय, युएई, साउदी अरेबिया, बहराइनलाई आक्रमण गर्न सक्ने आंकलन छ उनको। यी देशहरु अमेरिकी साझेदार देशहरु हुन्।

कसरी होला सुरक्षित अवतरण?

अमेरिका र इरानबीचको अवस्थालाई शान्त पार्न राष्ट्रसंघको भूमिका कमजोर देखिएको छ। अमेरिका स्वयं युद्धबाट पछि हट्ने सम्भावना देखिँदैन। इरान रोकिने पक्षमा छैन। इरानका विदेशमन्त्री जव्वार जरिफले आत्मरक्षाको लागि हमला गरिएको बताएका छन्। उनले ट्वीट गर्दै भनेका छन्, 'इरानले संयुक्त राष्ट्रसंघको घोषणापत्रको धारा ५१ अनुसार आत्मरक्षाको लागि आक्रमण गरेको हो। जहाँबाट कायरतापूर्ण तरिकाबाट हाम्रा नागरिक र वरिष्ठ अधिकारीका विरुद्धमा हमला भएको थियो। हामी लडाई बढाउन चाहन्नौ तर हामी आत्मरक्षा गर्छौं।' उनको यो भनाईले पनि इरान शान्त हुने अवस्थामा छैन। यता सुलेमानीको हत्या युद्धबाट रोक्न आफ्नै निर्देशनमा भएको ट्रम्पले बताइरहेका छन्।

अमेरिककी राष्ट्रवादलाई भोटमार्फत आफुतिर आकर्षित गर्ने योजना मात्रै हो भने ट्रम्प ठूलो समस्यामा फसिसके। ‘अमेरिका कमजोर देखिन नचाहने र इरान नरोकिने अवस्था छ’ विश्लेषक ढकालले भने,‘सेफल्याण्डको चाबी राष्ट्रसंघसंग हुनुपर्छ।’ 
सन् २०१५ मा तत्कालिन राष्ट्रपति बाराक ओबामाले इरानसहित ६ देशबीच आणविक सन्धि गरेका थिए। राष्ट्रपति ट्रम्पले भने उक्त सन्धि तोडेका हुन्।

अमेरिकालाई अहिले सबै भन्दा ठूलो चिन्ता इरानको आणविक कार्यक्रम मात्र नभएर ब्यालेस्टिक मिसाइल पनि हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाहरुले बताएका छन्। 

यदी युद्धको अवस्था आयो भने नेपालको अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने देखिन्छ। मध्ये एसियाका साउदी अरेबिया, यूएइ, कतार, बहराइन, कुबेत, इराक, इजरायल जस्ता देशका नेपालीहरु प्रत्यक्ष रुपमा प्रभावित हुनेछन्। जसले रेमिट्यान्समा प्रभाव पर्ने छ।

प्रकाशित: २३ पुस २०७६ १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App