८ वैशाख २०८१ शनिबार
समाज

शीतलहर पीडितलाई प्रशासनबाट टेन्टको घर उपहार

जिल्ला प्रशासन कार्यालय सिरहले सुकुम्बासी परिवारलाई टेन्टको घर उपलब्ध गराएर जिम्मा लगाउँदै। तस्बिरःमिथिलेश/नागरिक

लहान- त्रिपालमुनि चिसो काटिरहेका सिरहा नगरपालिका–६ बसबिट्टाका सुकुम्बासी पाँच परिवारलाई मंगलबार प्रशासनले टेन्ट सहयोग गरेको छ। चिसोसँगै झरी पर्न थालेपछि त्रिपालभित्रै पानी पसेर कष्टकर जीवन बाच्न बाध्य सुकुम्बासी परिवार टेन्टको घर पाएपछि सुखी भएका छन्।

पाँच परिवार सुकुम्बासी चमारहरुलाई यसअघि सिरहा नगरपालिका र जिल्ला प्रशासनले एक थान त्रिपाल, एक थान म्याट, तीनवटा कम्बल, ५० किलोग्राम चामल, डेढ किलो दाल, नुन, तेल, चिउरा, मुरही र ५ क्विन्टल दाउरा उपलब्ध गराएको थियो।

आँपको बगैचामा त्रिपाल राखेर बस्दै आएका सुकुम्बासीहरुलाई ढाडस दिन दलित संघसंस्थाका धेरै व्यक्ति गाडी चढेर आए तर कसैले राहत नदिएको सुकम्बासी बस्तीका ७० वषीय रामजी महराले दुखेसो पोखे। पानी परेर चिसो बढेपछि बिचल्लीमा परेका यी सुकुम्बासीहरु प्रशासनले उपलब्ध गराएको टेन्टको घरभित्र बस्न पाएपछि राहत महसुस गरेका छन्। ‘त्रिपालले हावापानी थेग्न छाडेको थियो,’ महराले भने, ‘प्रशासनले टेन्टको हावापानी छेक्ने घर उपलब्ध गराएपछि बाँच्ने आशा पलाएको छ।’

त्रिपालमा बस्दा राति स्यालले दुःख दिने गरेको रिझो महराले सुनाइन्। एकै त्रिपालमुनि रिझोको ६ परिवार कोचिएर बस्न बाध्य थिए। ‘रातभर शीतले छपक्कै ढाक्दा चिसो सहिनसक्नु हुन्छ,’ महराले भनिन्, ‘लालाबाला यही चिसोले लैजान्छ कि भन्ने पीरले रातभर निन्द्र लाग्दैन्थ्यो।’ टेन्टको घर पाएपछि परालको बिछ्यौना र म्याट मािथ न्यानो निन्द्रा सुत्ने उनीहरु बताउँछन्। रिझोका चार सन्तान र श्रीमानसहित ६ परिवार त्रिपालभित्र बस्दै आएका थिए।

सिरहा नगरपालिका–१ का दामोदर प्रधानांगले आफ्ना बाजे लालबहादुरले मन्दिरलाई दिएको जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै गत पुस ६ गते रामजी महरा, रामवृक्ष, रिझो, फूल्चो, समतौलिया, नीलम महरालाई त्यहाँबाट हटाएका थिए। घरमा डोजर चलाइएपछि उनीहरूले नजिकैको आँप बगैचामा आश्रय लिएर बस्दै आएका छन्। बाबुबाजेको पालादेखि बस्दै आएको जग्गाबाट उठिबास भएपछि कहाँ गएर बस्ने भन्ने पिरलो भएको उनीहरूले दुखेसो पोखे।

अतिक्रमित जग्गा खाली गर्न पटकपटक सूचना दिए पनि अटेर गरेपछि अदालतको फैसला अनुसार घर भत्काएको जग्गाधनी प्रधानांगको भनाइ छ। उनका अनुसार बाजे लालबहादुरले सय वर्ष पहिला नै राधाकृष्ण मन्दिरका नाममा नीजि गुठी बनाएर कित्ता नम्बर २६८ देखि २७२ सम्म करिब चार बिघा जग्गा राखेका थिए। त्यसमध्ये एक कट्ठा उनीहरूले अतिक्रमण गरेको र पटकपटक हट्न भन्दा पनि नमानेपछि अदालत गएको प्रधानांगको भनाइ छ। जिल्ला अदालत सिरहाले ती घरटहरा हटाउने फैसला गरेको थियो।


 

प्रकाशित: २३ पुस २०७६ ०९:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App