७ वैशाख २०८१ शुक्रबार
विचार

जीवनमा जान्नैपर्ने कला

कुनै समयको कुरा हो– एक युवक मुल्ला नसरुद्दिनलाई भेट्न आए। उनले भने,‘ कैयौं ज्ञानी गुरुहरूलाई भेटे, तर आत्मज्ञान पाइनँ। तपाईंका बारेमा धेरै सुनें र भेट्न आएको छु। मलाई रित्तो हात नफर्काउनुहोस्।’ नसरुद्दिनले भने, ‘केही छैन, तिमीले चाहेको कुरा पाउनेछौ, तर त्यसका लागि एउटा सर्त छ– तिमी चुप रहनुपर्छ, मैले जे भन्छु त्यही गर्नुपर्छ।’ ती युवकले भने, ‘तपाईंले भनेको सुन्न र चुप लाग्न म तयार छु।’

त्यसपछि नसरुद्दिन ती युवक लिएर पोखरीछेउ गए। जहाँ एउटा पिँध नभएको गाग्रो थियो। मुल्ला नसरुद्दिनले भने, ‘मैले यो गाग्रो नभरुन्जेल तिमी चुप रहनू।’ त्यसपछि उनले आम्खोराले पानी उबाउँदै गाग्रोमा हाल्न थाले। युवक अचम्ममा परे (यो पागलपनको पनि हद हुन्छ नि ! पिँध नभएको गाग्रोमा पानी खन्याउँदै छ, अनि नभरुन्जेल चुप पनि बस्नुपर्ने !)। ती युवकको धैर्य टुट्यो। उनले यो मेरो परीक्षा हो, बोल्नु हुन्न भन्ने बिर्से। अनि  बीचैमा बोले, ‘के गर्दै हुनुहुन्छ तपाईं यो ! पिँध नभएको यो गाग्रोमा जीवनभर पानी हालिरहे पनि भरिन्न। यो पनि तरिका हो ?’ त्यसपछि मुल्ला नसरुद्दिनले भने, ‘बस ! तिम्रो परीक्षा सकियो। तिमी फेल भयौ। जाऊ फर्केर र फेरि मकहाँ नआऊ।’ युवक फर्केर गए, तर उनलाई रातभर निद्रा लागेन र सोचे– ‘मुल्लाले मलाई चुप रहन त भनेका थिए। पिँध नभएको गाग्रोमा उनैले पानी भर्दैथिए त मलाई के थियो ? श्रम खेर गइरहेको थियो त उनकै गइरहेको थियो। म किन बोलें ? उनले चुप रहन भन्नाको कुनै कारण थियो होला !’

ती युवक भोलिपल्ट बिहानै उठेर फेरि मुल्लाकहाँ पुगे। मुल्लाले भने, ‘किन आयौ ? मैले नआउनू भनेको होइन ? तिमीले आफ्नो चुप रहने वाचा त पूरा गर्न सकेनौ, अरू के गर्न सक्छौ ? के सिक्न सक्छौ ?’  युवकले भने, ‘मलाई माफ गर्नुहोस्, बताइदिनुस् कि तपाईंले त्यो पिँध नभएको गाग्रोमा पानी भर्ने प्रयास गर्नुको आशय के थियो ?’ मुल्लाले हाँस्दै भने, ‘हेर ! कति वासनारूपी, चाहनारूपी कहिल्यै नभरिने सपनारूपी पिँध नभएका गाग्रीहरू लिएर तिमी भर्ने कोसिस गरिरहेका छौ ?’

प्रस्तुत कथाले ‘मेरो स्वभाव कस्तो छ, कस्तो हुनुपथ्र्याे र म केका लागि भौतारिरहेको छु’ भन्ने मार्मिक सन्देश दिन खोजेको छ।

आफ्नो बुद्धत्व पहिचान गर्नु भन्नुको अर्थ जतिबेला पनि आँखा चिम्लेर ध्यान गर्नु र आफ्नो कर्म, अनि घरपरिवार छाड्नु अवश्य होइन। संसारको कोलाहल, भागदौड र कर्मका बीच पनि एक्लो भएर आफैभित्र डुब्नु बुद्ध स्वभाव हो।  संसारका अन्धविश्वास र पूर्वाग्रह अलग राखेर होसमा रहनु नै बुद्ध स्वभावमा जिउनु हो। मेरा लागि के उचित छ र के अनुचित, के सही छ र के गलत ?  छुट्टयाउन सक्नु नै आफ्नो स्वभाव पहिचान गर्न सक्नु हो।

तथाकथित भोगी र त्यागी स्वभाव पनि हाम्रो वास्तविक स्वभाव होइन । अतिवादी नभई सन्तुलनमा जिउनु हाम्रो स्वभाव हो। जबसम्म हामीमा गुनासा, लोभलालच, तिरस्कार, ईष्र्या, बेहोसी र द्वेषजस्ता मनोविकार रहन्छन्, तबसम्म हामी हाम्रो स्वभावबाट टाढा रहन्छौं। हाम्रो आत्मा, हामीभित्रको प्रेम, ध्यान, करुणा, स्वीकार भाव र जागरण नै हाम्रा स्वभाव हुन्। जीवनलाई एउटा साधना ठानेर, जीवनका आयाम बुझेर सन्तुलित जीवन जिउनु हाम्रो स्वभाव हो।

गुगलमा भेटिने कुराले हाम्रो स्वभावको पहिचान दिन सक्दैन। त्यसका लागि आफैंभित्र खोज्न जरुरी छ। हामी मन्दिर गएर, तीर्थव्रत गरेर, काशी काबा गएर, सत्संगमा सहभागी भएर र कुनै आश्रममा गएर चाहेका कुरा पाएझैं ठान्ने गरेका छौं। ती माध्यमले हाम्रा आँखा खोल्ने काम गरे होलान्, मार्ग देखाउने काम गरे होलान्, तर भेटिएका चिज आफैंभित्रका हुन्।  सुख, दुःख, आनन्द, ध्यान, प्रेम, गुनासो, करुणा, ईष्र्या सबै हामीभित्रै छन्। कोही कसैसँग छ, कसैका कारण भएको छ भन्ने ठानेका छौं भने त्यो भ्रम हो। आफ्नो स्वभाव पहिचान गर्न बिर्सनुको परिणाम हो– अरूलाई दोषी ठान्नु।

आगोको स्वभाव ताप दिनु, पानीको स्वभाव शीतलता प्रदान गर्नु, हावाको स्वभाव श्वासप्रश्वासमा सघाउनु हो भने हामी मनुष्यको स्वभाव के होला त ? घरबाट बाहिर निस्केको व्यक्ति घरभित्र छिर्न पनि त बिर्सनु भएन। बाहिरको बाहिरै भइयो भने ? बाहिरको दौडधूपपछि घरभित्रको विश्राम अति नै मूल्यवान् हुन्छ। त्यस्तै संसारको भागदौडपछि स्वयंमा डुब्ने र विश्राम लिने कला पनि त जान्नुप-यो। बाआमाले ताते गराएर हिँड्न सिकाएको र हामी पाइला चाल्न सकेको देखेर उहाँहरूमा आएको खुसी कल्पना गरौं त ! जब पाइला चाल्यौं, कुद्न थाल्यौं, त्यत्तिले मात्र भएन, आकाशमै उडान भर्न सिक्यौं, तर फर्केर आउन जान्यौं कि जानेनौं ? गहन तर सजिलो प्रश्न हामी सबैले आफैंलाई गरौं त ! अवश्य हामी सबैलाई थाहा छ– होसपूर्ण हुनु, प्रेमपूर्ण हुनु र बुद्ध स्वभावमा अर्थात् करुणावान्, अहिंस्रकजस्ता गुणले भरिपूर्ण हुनु, काम, क्रोध, लोभ, मोह, ईष्र्या, द्वेषजस्ता अवगुणबाट परै रहनु र स्वयंमा जागृत रहनु। यसलाई सजिलै स्वीकार्नु जति सजिलो छ, व्यवहारमा उतार्न निकै कठिन छ। अन्यथा हामी सबै धेरै अगाडि नै यी अवगुणबाट मुक्त भइसकेका हुन्थ्यौं।

हिजो व्यापारमा नाफा भयो हामी दंग, खुसी, आनन्दित थियौं। आज व्यापार भनेजस्तो भएन लाग्छ, संसारै सकियो। छोराले भनेजस्तो कलेजमा भर्ना हुन पायो, छात्रवृत्ति पनि पायो खुसी, दंग, आनन्दमा छौं। आफूले चाहेको कलेजमा भर्ना पाएन, जहाजै डुब्यो जस्तो। श्रीमान्को जागिरमा बढुवा भयो वा चाहेको ठाउँमा सरुवा भयो यो भन्दा खुसीको क्षण के हुन्छ ? समयावधि सकिएपछि दुर्गममा सरुवा हुन्छ फेरि दुःख सुरु भयोजस्तो लाग्छ।

कुनै बिन्दुमा गएर पूर्णता नमिल्ने र गुनासो अन्त्य नहुने हाम्रा घटना जीवनपर्यन्त चलिरहन्छन्। जीवनपर्यन्त हामी क्षणमै खुसी, क्षणमै दुःखी बनिरहने ? अब जागृत बनौं, साक्षी भएर घटना र परिस्थिति हेरौं र जानौं– संसारमा जे चिज छन्, जस्ता परिस्थिति आउँछन् ती स्वाभाविकै छन्, तिनलाई स्वीकार गर्ने बानी विकास गरौं। तर भित्रको खुसी र सतत, सहज आनन्दमा डुब्न अन्तर्मुखी भएर हेर्ने कला जान्नैपर्छ।

प्रकाशित: २३ पुस २०७६ ०५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App