coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गुनासो सम्बोधन गर्न आग्रह

रसुवा – यहाँका भूकम्पपीडितले तत्काल गुनासो सम्बोधन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई आग्रह गरेका छन्। लाभग्राहीको सूचीमा नपरेका भूकम्पपीडितले पटकपटक गुनासो गर्दा पनि सम्बोधन नभएपछि ध्यान दिन आग्रह गरेका हुन्। पुनर्निर्माणको समय सकिन लाग्दासमेत गुनासो सम्बोधन नभएपछि थप समस्या उत्पन्न भएको भूकम्पपीडित छेकु लामाले बताए।

‘हामी खाल्डेमा २ सय ६० परिवार विस्थापित छौँ,’ उनले भने, ‘विस्थापितमध्ये अझैँ ९० परिवारको नाम आएको छैन।’ विस्थापितको स्थान्तरणमा भएको ढिलाइ र छुटेकाको नाम अझैँ नआएको उनको भनाइ छ। कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले स्थानीय तहले सिफारीस गरेर पठाएका पीडितको नाम नआउँदा समस्या उत्पन्न भएको बताए। ‘प्राविधिक र जनप्रतिनिधि पीडितको घरमा पुगेर सूची बनाएको हो, हामीले गलत गरेको भए सजाय भोग्न तयार छौँ,’ उनले भने।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धुन्चेमा आयोजना गरेको ‘पुनर्निर्माणमा देखिएका कानुनी समस्या र समाधानको उपाय’ कार्यक्रममा पीडित सर्वसाधारण तथा जनप्रतिनिधिले गुनासो गरेका थिए। दोस्रो चरणमा जिल्लाका एक हजार सात सय ६८ परिवारले गुनासो दर्ता गरेका थिए। त्यसमध्ये ९ सय ६३ को गुनासो सम्बोधन भएको छ भने बाँकीको अझै हुन सकेको छैन्। प्राधिकरणले हालसम्म चार लाख गुनासो सम्बोधन गरेको प्राधिकरणका उपसचिव शंकरहरी आचार्यले बताए। एक लाख ९० हजार तथ्यांक केन्द्रमा पुगेको उनले बताए। जिल्लामा पुनर्निर्माणको काम करिब ९० प्रतिशत सकिएको उनले बताए।

प्रकाशित: २३ पुस २०७६ ०३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App