८ वैशाख २०८१ शनिबार
अर्थ

योजना नै पास नभई भुक्तानी

डडेल्धुरा - अमरगढी नगरपालिकामा वडाबाट छनोट भएका योजना नगरसभाबाट पास भएका छैनन् । तर, नगरपालिकाले योजना सम्पन्न भई भुक्तानीसमेत दिएको छ । अमरगढी नगरपालिका–७ का दुईवटा योजना नगरसभाबाट पासै नभई योजना सम्पन्न गरी करिब साढे पाँच लाख रकम भुक्तानीसमेत भएको छ ।

पाँच लाखबराबरको एउटा सडक र अर्को गारेटो बाटो मर्मतमा ५० हजारबराबरको काम सम्पन्न भई भुक्तानी भएको अमरगढी नगरपालिकाले जनाएको छ । वडा अध्यक्षले आफूखुसी योजना बनाएको भन्दै निर्वाचित वडा सदस्यहरूले योजनाहरूमा हस्ताक्षर गरेका छैनन् । तर पनि यी दुई योजना सम्पन्न भई भुक्तानीसमेत गरिएको छ । वडाका योजना बजेटमा वडा सदस्यको हस्ताक्षर अनिवार्य हुन्छ । वडा सदस्यहरूको हस्ताक्षरबिना योजना कार्यान्वयन हुँदैनन् । यदि कार्यान्वयन भए यो नियम मिचेर आफूखुसी गरेको भन्ने बुझिन्छ ।

नगरसभामा कार्यपालिका सदस्यको बहुमतबाट योजना छनोट भई बजेट विनियोजन गरी योजना लागू गरी अनुगमनपश्चात भुक्तानी गरिनुपर्ने प्रावधान छ । तर, यी योजनामा सदस्यले हस्तारक्षर नै नगरे पनि योजना सम्पन्न भई भुक्तानीसमेत भएको छ । नगरपालिकाले भने दुईवटा योजना सम्पन्न गरी भुक्तानी गरिएको र अन्य योजना कार्यान्वयन नगरिने जनाएको छ ।

उपभोक्ता समितिबिना नै पाँच लाखबराबरको लेगी समैजी मन्दिर सडक निर्माण गर्न एक्साभेटर प्रयोग गरिएको थियो भने ५० हजार बजेटको ऐरीगाउँ बन्ढुनी बाटो मर्मत गरी भुक्तानी भएको हो । बाटो मर्मत भने उपभोक्ता समितिमार्फत काम गरिएको हो । नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले पास नभएको योजनाको काम रोकिने बताएका थिए । ‘कोटेसनमा काम गर्न मिल्दैन,’ उनले भने, उपभोक्ता समिति बनाउनुपर्छ । वडा सदस्यहरूले हस्ताक्षर गर्नुपर्छ । नभए काम हुँदैन । हामीले काम रोकिसकेका छौं ।’ तर भुक्तानी भने भएको छ ।

योजना पास नभएको पछि मात्र थाहा भएकाले दुईवटा योजना सम्पन्न गरी भुक्तानी भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्ययले बताए । ‘नगर प्रमुखको ताकेतापछि भुक्तानी गरिएको हो,’ उनले भने, ‘वडा सदस्यहरूले छनोट गरिएका योजनामा हस्ताक्षर नगरेको पछि थाहा भएकाले अन्य योजना कार्यान्वयन गरिँदैन ।’

वडाध्यक्ष र वडा सदस्यहरूबीचको विवाद मिलाउन छलफलका लागि बोलाइए पनि वडाध्यक्ष सम्पर्कमै नआउने गरेको उनले बताए । वडा सदस्य भक्त शाहुले भने बारम्बार यस विषयमा कार्यपालिका बैठकदेखि नगर प्रमुख र उपप्रमुखलाई जानकारी गराउँदासमेत कुनै वास्ता नगरी योजना सम्पन्न गरी भुक्तानी गरिएको बताए ।

 

 

प्रकाशित: २३ पुस २०७६ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App