coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जीर्ण बन्दै बुद्धस्थल पुग्ने बाटो

कपिलवस्तु – नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ। प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष पनि जारी छ। तर, कपिलवस्तुस्थित बुद्धस्थल पुग्ने बाटाहरू भने जीर्ण बन्दै गएका छन्। तिलौराकोट, धमनिहवा, कन्थक स्तुप, गोटिहवा र सिसहनिया कोट पुग्ने बाटा अस्तव्यस्त बन्दा लुम्बिनी जाने पर्यटक समस्यामा पर्ने गरेका छन्। बाटोकै कारण ती स्थलमा पर्यटक जान सकिरहेका छैनन्। बुद्धस्थल पुग्ने अधिकतर बाटा बिग्रिएका छन्। जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ।

यहाँका सडक वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुन्छन्। बाटो बिग्रेकै कारण सोलुखुम्बुको नाम्चेबाट आएकी ६२ वर्षीया आङमाया शेर्पाले बुद्धस्थल धमनिहवा स्तुप जान नसकेको बताइन्। तिलौराकोटको अवलोकनपछि धमनिहवा स्तुप जाने सोच बनाएकी उनले बाटाकै कारण त्यहाँ जान नसकेको दुःखेसो पोखिन्। राजा शुद्धोदन र मायादेवीको समाधिस्थल पुग्न नसकेकी उनले भनिन्, ‘पूजाआजा गरेर पुण्य सञ्चय गर्ने धोको थियो तर अधुरै रह्यो।’ शाक्यवंशीय राजधानी तिलौराकोट आसपासको बाटो जीर्ण भई आवतजावतमा समस्या भएको छ। तौलिहवा–गोरुसिंगे कालोपत्रे सडकखण्डबाट तिलौराकोट पुग्ने दुईवटा बाटा छन्। एउटा डेरवा गाउँबाट उत्तर गएपछि पुगिन्छ भने अर्को संग्रहालयबाट उत्तर पश्चिम गए पुगिन्छ। तर, दुइटै बाटा जीर्ण छन्। डेरवाबाट तिलौराकोटसम्मको करिब १ किमि बाटोको कालोपत्रे पुरै उप्किएको छ। मुस्किलले साढे ३ मिटर चौडा बाटोको ठाउँठाउँमा ठुल्ठुला खाल्टो परेका छन्। साना जिपदेखि ठुल्ठुला पर्यटक बस त्यही बाटो भएर तिलौराकोट पुग्छन्।

संग्रहालयदेखि तिलौराकोटसम्मको ८ सय मिटर बाटो पनि उस्तै छ। आधी पिसिसी र आधी कालोपत्रे छ। पिपिसी बाटो दबिएर ठाउँठाउँमा खाल्टो परेको छ। कालोपत्रे बाटोमा पनि खाल्टाखुल्टी छन्। यो बाटोबाट त कोही आवतजावत गर्नै खोज्दैनन्। तिलौराकोट (प्राचीन कपिलवस्तु) शाक्यवंशीय राजा शुद्धोदनको राजप्रासाद तथा भगवान् बुद्धले २९ वर्ष सम्मको युवा अवस्था बिताएको ठाउँ हो।

त्यस्तै, तिलौराकोटको मुख्य प्रवेश द्वार पश्चिमी गेटबाट अर्को बुद्धस्थल धमनिहवा र कन्थक स्तुपसम्म पुग्ने पक्की बाटोको अवस्था पनि दयनीय छ। डेढ किमि कालोपत्रे बाटो भत्किएर कच्ची बन्न पुगेको छ। बढी क्षमताका नदीजन्य पदार्थ बोकेका टिप्पर, ट्याक्टर चल्नाले ठाउँठाउँमा बाटो खाल्टो परी धसिएको छ। ‘धुलो र प्रदूषणका विषयमा विदेशी पर्यटक निक्कै संवदेनशील हुन्छन्,’ पथ प्रदर्शक राजु कहारले भने, ‘त्यही भएर उता पर्यटक जानै मान्दैनन्, महत्वपूर्ण स्थल भइकन पनि ओझेलमा छ।’

धमनिहवामा एउटा ठूलो र अर्को सानो स्तुप छ। सो स्तुप राजा शुद्धोदन र महारानी मायादेवीको समाधिस्थल भएको मानिन्छ। त्यस्तै नजिकै कन्थक स्तुप छ। यो स्तुप पनि महत्वपूर्ण मानिन्छ। ‘तर, विडम्बना भनेको सन् २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने योजना बनाएको छ,’ उनले प्रश्न गरे, ‘यस्तो पाराले त्यो लक्ष्य प्राप्त गर्न सकिएला त ?’

उता सम्राट् अशोक तीर्थाटन गर्न आउँदा बनाइएको गोटिहवा अशोक स्तम्भसम्म पुग्ने बाटो पनि त्यस्तै छ। निग्रोधारामबाट जेनतेन गोटिहवा नहरसम्म पुग्न सकिन्छ। ‘सो स्तम्भसम्म पुग्न कच्ची बाटो छ, त्यो पनि साघुरो,’ उनले भने, ‘हिउँदमा मात्र जिप मुस्किलले पुग्छ। वर्षा लागेपछि त पैदल जान पनि गाह्रो हुन्छ।’ गोटिहवालाई बौद्धधर्मावलम्बी निक्कै महत्वपूर्ण स्थल मान्छन्। यहाँ १० फिट उचाइको अशोक स्तम्भ रहेको छ।

अर्को महत्वपूर्ण स्थल सिसहनिया कोट पुग्ने बाटो पनि जर्जर छ। लुम्बिनी तौलिहवा कालोपत्रे सडकखण्डको दोहनीबाट करिब १० किमिमा कोट पुगिन्छ। करिब ५ किमि मात्र कालोपत्रे बाटो बनेको छ। ३ मिटर चौडा रहेको सो बाटोको ठाउँठाउँमा खाल्टाखुल्टी परेका छन्। बाँकी बाटो ग्राबेल र कच्ची छ। त्यी भएर वर्षाका बेला जान निक्कै समस्या पर्छ। ‘राम्रो बाटो नहुँदा वर्षमा एक/दुईजना बाहेक धेरै विदेशी पुग्दैनन्,’ स्थानीय वीरेन्द्र शुक्लाले भने, ‘त्यही भएर यो ठाउँ ओझेलमा परेको छ।’

सरोकार राख्ने लुम्बिनी विकास कोषले ती सडकको बेवास्ता गर्दा उपेक्षित र जीर्ण छन्। त्यस्तै बिकुली, पिपरी, हरदेवा, बर्दहवा र लमतियालगायत ऐतिहासिक तथा पुरातात्विक ठाउँमा पनि आवतजावत गर्न बाटोको समस्या छ। सीमित स्रोतसाधनका कारण पर्यटकीय स्थल पुग्ने बाटो बनाउन चाहेर पनि नसकेको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बताए। यसका लागि सरकार र लुम्बिनी विकास कोषले ध्यान दिनुपर्ने उनले सुझाए। कोषको काम ऐतिहासिक र पुरातात्विक स्थलको संरक्षण र विकास गर्ने भएको भन्दै कार्यवाहक सदस्य सचिव सरोज भट्टराईले सार्वजनिक बाटोघाटोतिर ध्यान दिन नसकेको बताए। उनले बाटोका लागि संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराइसकेको जानकारी दिए।

प्रकाशित: २३ पुस २०७६ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App