८ वैशाख २०८१ शनिबार
समाज

साढे १८ हजार रोपनी सरकारी जग्गा भोगाधिकारका नाममा दुरुपयोग

काठमाडाैँ – सरकारी स्वामित्वमा रहेको १८ हजार ६ सय ८८ रोपनी जग्गा झण्डै चार सय संघ/संस्था र निकायले प्रयोग गर्दै आएको खुल्न आएको छ। भूमि व्यवस्था मन्त्रालयाका अनुसार देशभरका ७ हजार ५सय ८५ रोपनी १ आना ३ पैसा तथा ८ सय ५४ बिगाहा ८ धुर सरकारी जग्गा भोगाधिकारका नाममा विभिन्न संघ संस्थाले प्रयोग गर्दै आएको पाइएको हो।

विभिन्न सरकारी कार्यालयका नाममा रहेका सरकारी जग्गा विभिन्न बहानामा भोगाधिकारमार्फत विभिन्न संघ÷संस्थाले प्रयोग गर्दै आएका छन्। यसरी प्रयोग गर्नेमा राजनीतिक दलसँग निकट संघ÷संगठन, राजनीतिक दलका नेताका नाममा खुलेका संस्था छन्। सामाजिक संघ/संस्थाका साथै विद्यालय, मन्दिर र रेडक्रसले पनि सरकारी जग्गा प्रयोग गर्दै आएका छन्।

भोगाधिकारका नाममा लिएको जग्गा दुरुपयोग हुन थालेसँगै सरकारले २०७१ सालमा लिजसम्बन्धी कार्यनीति ल्याएको थियो। कार्यनीतिले भोगाधिकारमार्फत विभिन्न संघ/संस्थाले प्रयोग गरेका जग्गालाई लिजमा परिणत गर्ने निर्णय पनि ग-यो। भूमि व्यवस्था मन्त्रालयले भोगाधिकारका लागि लिएको जग्गालाई लिजमा परिणत गर्न पटकपटक सूचना जारी ग-यो। तर अहिलेसम्म्म एक दर्जन मात्र संघसंस्था मात्र लिजमा आउन तयार भएका छन् भने अन्यले अटेर गरिरहेका छन्। लिजमा आउन अटेर गर्नुको कारण हो भाडा नर्तिनु। भोगाधिकारबाट जग्गा लिजमा लिएपछि उनीहरूले निःशुल्क प्रयोग गर्दै आएका जग्गाको वर्षैपिच्छे सम्बन्धित सरकारी कार्यालयलाई निश्चित रकम दिनुपर्छ। तर भोगाधिकारमा लिएको जग्गामा सरकारलाई रकम बुझाउनु पर्दैन। लिजमा आउन नचाहेका संघ, संस्थाको हकमा के गर्ने भन्ने विषयमा मन्त्रालयले अझै निर्णय गरेको छैन। तर, यस विषयमा छलफल सुरु भएको र छिट्टै निष्कर्षमा पुग्ने मन्त्रालयको भनाइ छ।

सरकारले २०५५ सालमा एउटा कार्यनीति बनाई विभिन्न संघ संस्थालाई सरकारी जग्गा भोगाधिकार दिन सुरु गरेको हो। ‘भोगाधिकारका लागि सरकारी जग्गा लिनेमध्ये अधिकांश राजनीतिक पहुँचाला छन्। त्यसैले पनि ती संस्था सरकारले जतिपटक सूचना निकाले पनि लिजमा आउन तयार भएका छैनन्,’ भूमि व्यवस्था मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्।

भोगाधिकारका लागि सरकारी जग्गा लिने संघ संस्थामा राजनीतिक दलका कार्यलय, कर्मचारी संघ, संगठन, विभिन्न नाममा स्मृति प्रष्ठिान, हाइड्रो पावरलगायत विभिन्न क्लब पनि छन्। यसैगरी स्कूल, कलेज, अध्ययन प्रतिष्ठान, प्रहरी चौकी, आर्मी ब्यारेक स्थापनाका लागि पनि सरकारी जग्गा भोगाधिकारका लागि लिइएको मन्त्रालयको रेकर्ड छ। भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले भोगाधिकारका लागि लिइएको जग्गा लिजमा परिणत गर्न मन्त्रालयले पटकपटक सूचना निकालेको बताए। उनले भने, ‘तर अधिकांश संघ संस्थाले मन्त्रालयको निर्देशन कार्यान्वयन गरेको देखिएन।’ यसबारे के गर्ने भन्नेबारेमा आन्तरिक छलफल भएको उनले बताए।

काठमाडौंमा मात्र क–कसले लिए सरकारी जग्गा
मन्त्रालय स्रोतका अनुसार काठमाडौंमा मात्र सरकारी जग्गाको भोगाधिकार लिनेको संख्या ८७ छ। डिल्लीबजार मालपोत कार्यालयबाट लुनिभा निःशुल्क स्वास्थ्य केन्द कमलादीले २०५५ साउन २२ मा कामनपा–५को कित्ता नम्बर २६५ को २ पैसा ३ दाम लिई एक तले पक्कि घर बनाई पसल सञ्चालन गरेको छ। यसैगरी, डिल्लीबजार मालपोत कार्यालयबाट टिम्बुरबोटे सहिद स्मृति पार्क प्रतिष्ठानले २०५५ साउनमा कामनपा १० को कित्ता नम्बर ३७६ को ४ रोपनी २ आना २ पैसा क्षेत्रफल भएको जग्गा भोगाधिकारका लागि लिएको छ।

यसैगरी, मदन भण्डारी अध्ययन अनुसन्धान केन्द्रले २०५८ कात्तिक १५ गते कामनपा–५ को कित्ता नम्बर १४३ को ३ रोपनी ११ आना २ पैसा दुइ दाम, अखिल नेपाल भिक्षु महासंघले २०५८ कात्तिक १६ गते कामनपा–१० को कित्ता नम्बर १८१ को १ रोपनी ८ आना, सगरमाथा आरोही संघ स्व.बाबुछिरी शेर्पाको शालिक निर्माण गर्न कामनपा ८ कित्ता २ मध्ये ४ आना भोगाधिकार लिइएको जनाइएको छ। यसैगरी, मालपोत कार्यालय डिल्लीबजारबाट बहादुर शाह स्मृति प्रष्ठिानले २०६० मंसिर १८ गते कामनपा १०को कित्ता नम्बर २९२,१३३को साढे दुई रोपनी, सनातन धर्म सेवा समितिले २०६७ चैत ६ गते कामनपा १० को कित्ता ८२९ र ८३२ को १३ आना, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र अनामनगरले २०६८ असार ११ मा कामनपा ३२ को कित्ता नम्बर ३५३ को १ रोपनी लिएको छ।

त्यस्तै नेपाल निजामती कर्मचारी युनियन २०६८ फागुन १४ मा कामनपा ११ को १ रोपनी, नेपाल मधेसी कर्मचारी युनियनले २०६८ फागुन १४ गते कामनपा ११ को १ रोपनी, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले कामनपा ३२ को १ रोपनी, जनमैत्री हस्पिटल बालाजुले साविकको काठमााडौंको जितपुरफेदी गाविसको कित्ता नम्बर ६१, ८२ र १०६ को ८६ रोपनी ४ आना, ज्ञान सत्संग मण्डलले २०५५ फागुन १५ मा कामनपा –३२ को कित्ता नम्बर ३२को ४ आना जग्गा भोगाधिकारका लागि लिएको रकेर्डमा देखाइएको छ।

यसैगरी, मालपोत कार्यालय डिल्लीबजारबाट नेपाल शिक्षक संघले कामनपा–२३ को कित्ता ७४ बाट १ रोपनी ७ आना, अखिल नेपाल भिक्षु संघले २०५८ माघ २२ गते कामनपा १० को कित्ता नम्बर ३८४ को १ रोपनी ८ आना, प्राकृतिक स्वास्थ्य पुराना बानेश्वरले २०५५ फागुन २० गते कामनपा १० को कित्ता नम्बर १६३ को २ रोपनी ५ आना १ पैसा १ दाम जग्गा भोगाधिकारका लागि लिइएको देखाइएको छ। मालपोत कार्यालय चावहिलबाट कृष्ण प्रणाामी सेवा समिति गोठाटारले २०५८ पुस २५ गते गोठाटारको ६ रोपनी ११ आना, हेल्पिङ हेण्डसले साविकको इन्द्रायनी गाविस ८ को ६ रोपनी १० आना, संकल्प नेपाले ५ रोपनी, पुष्पलाल स्मृति प्रतिष्ठानले साविकको चम्दादेवी गाविस–२ को कित्ता ७ को १ सय २४ रोपनी भोगाधिकारका लागि लिएको रिपोर्टमा जनाइएको छ।

मालपोत कार्यालय कलकीबाट पुष्पलाल स्मृति बाटिकाले २०६३ असार १९ गते साविकको सितापाइला गाविस–२ को कित्ता नम्बर २२०३ को ३ रोपनी ९ पैसा, वाचन शिरोमणी पण्डित नारायणप्रसाद पोखरेल स्मृति प्रतिष्ठानले २०६७ चैत २१ गते साविकको डाँडापौवा गाविस–१ को २२ रोपनी, पुष्पलाल स्मृति प्रतिष्ठानले मच्छेगाउँ–२ को कित्ता नम्बर ९४ को १ सय २४ रोपनी, मालपोत कार्यालय काठमाडौंबाट नेपाल राष्ट्रिय कर्मचारी संगठनले २०६८ फागुन २३ गते कामनपा–११ को २ रोपनी जग्गा भोगाधिकारका लागि लिएको देखाइएको छ।

सरकारी जग्गा भोगाधिकार लिनेमा नेपाल खानेपानी संस्थान केन्द्रीय कार्यालय, कोटेश्वर बहुमुखी क्याम्पस, नेपाल इञ्जिनियरिङ परिषद्, पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान धुम्बाराही, श्री ५ त्रिभुवन स्मारक समिति, पशुपति विकास कोषा त्रिवि जमल, युएन पार्कसहित विभिन्न स्कुल तथा कलेज रहेका छन्।

नेताका नामको प्रतिष्ठान पनि उस्तै
सरकारी जग्गा भोगाधिकारको प्रयोग गर्दै विभिन्न राजनीतिक दल निकट नेताका नाममा खुलेका संघ ÷संस्थाले पनि जग्गा प्रयोग गर्दै आएका छन्। मालपोत कार्यालय दमकबाट २०५९ वैशाख १५ मा गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यावसायिक शिक्षालयले झापा साविकको शिवगञ्ज– ७ को कित्ता नम्बर ६९७४ को १० रोपनी सरकारी जग्गा लिएको छ।

मालपोत कार्यालय विराटनगरबाट पुष्पलाल स्मारक समिति विराटनगरले मोरङका साविवको कञ्चनबारी ३ (ख)को कित्ता नम्बर १०६० बाट ३ बिगाहा ६ कठ्ठा ५ धुर लिएको रिपोर्टमा जनाइएको छ। मालपोत कार्यालय भक्तपुरबाट गणेशमान सिंह स्मृति बाटिका तथा स्थापना संरक्षण समितिले भक्तपुरको साविक कटुञ्जे–८ (ख) कित्ता नम्बर ४९७ को ४१ रोपनी जग्गा लिएको रिपोर्टमा देखाइएको छ। यसैगरी, मालपोत कार्यालय भक्तपुरबाट टंकप्रसाद स्मृति प्रतिष्ठानले भक्तपुर साविकको कटुञ्जे ७ को कित्ता ३८३ को २ रोपनी ४ आना लिएको छ।

भक्तपुर मालपोत कार्यालयबाट भक्तपुरको साविकको कटुञ्जे ८ (क)को कित्ता ४९६,४९७ तथा ९५६ को १७ रोपनी १० आना लिएको छ।

मालपोत कार्यालय ललितपुरबाट तुलसीलाल स्मृति प्रष्ठिान ललितपुरले २०५८ फागुन १० गते ललितपुर उपमहानगरपालिका ९ (ख)को कित्ता नम्बर १३९को १२ रोपनी ४आना ५ पैसा ३ दाम जग्गा लिएको छ। यसैगरी मालपोत कार्यालय ललितपुरबाट पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आश्रम निर्माणले ललितपुरको साविकको बाँडेगाउँ– ४ को कित्ता नम्बर ३८ को ५ रोपनी जग्गा लिएको छ।

मालपोत कार्यालय डिल्लीबजारबाट मदन भण्डारी अध्ययन अनुसन्धान केन्द्रले काठमाडौ कामनपा, ५को कित्ता नम्बर १४३को ३ रोपनी ११ आना २ पैसा २ दाम क्षेत्रफलको जग्गा लिएको छ। मालपोत कार्यालय चाबहिलबाट प्रस्तावित मदन भण्डारी औद्योगिक विश्वविद्यालय काठमाडौले साविककको काठमाडौ डाँछी गाविस ६ (ख)को कित्ता ५१७,५१९,५२०,र ५२१को ३सय ३६ रोपनी १४आना जग्गा लिएको छ।

मालपोत कार्यालय कलकिंबाट पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौं जिल्ला साविकको चम्पादेवी (मच्छेगाउँ)कित्ता २७को १सय २४ रोपनी जग्गा लिएको छ। यसैगरी मालपोत कार्यालय कलकिंबाट पुष्पाल स्मत बाटिकाले २०६३ असार १९गते काठमाडौंको साविवकको सितापाइला–२ को कित्ता नम्बर २२०३ को ३ रोपनी ९ आना तथा पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडांैको साविकको मच्छेगाउँ–२(ङ)को कित्ता नम्बर ९४ को १ सय २४ रोपनी जग्गा लिएको छ।
मालपोत कार्यालय काठमाडांैबाट मदन भण्डारी फाउन्डेसन काठमाडौंले २०६६ भदौ १५ गते र २०६७ वैशाख १३ गते छुट्टाछुट्टै मितिमा सरकारी जग्गा भोगाधिकारका लागि लिएको रिपोर्टमा जनाइएको छ। जसअनुसार काठमाडौ जिल्लाको साविकको डाँछी र बालुवा गाविस, वडा ६(घ) ९, (ग) र ५का कित्ता नम्बर ५१७, ५१९, ५२०, ५२१, ६७७, ६७८ को करिब ४ सय २५ रोपनी जग्गा लिएको रिपोर्टमा जनाइएको छ।

प्रकाशित: २३ पुस २०७६ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App