coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘नेपाल बिल्डटेक एक्स्पो’ अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी बन्ने

बायाँबाट क्रमश : रोशन दाहाल, रवि सिंह, निकोलस पाण्डे।

काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघको २१ औं साधारण सभा र नेपाल बिल्डटेक एक्स्पो २०२० आगामी माघ ३ देखि ५ गतेसम्म आयोजना गर्दैछ। निर्माण कार्यमा प्रयोग हुने प्रविधि तथा सामग्रीसँग जोडिएका विभिन्न कम्पनीको उपस्थिति रहने एक्स्पोमा व्यवसायी तथा निर्माणमा चासो राख्नेले एकै ठाउँमा भेट्ने आयोजकले जनाएको छ।

साधारणसभा र एक्स्पोसँगसँगै आयोजना गर्दा यन्त्र उपकरणको व्यापार गर्ने र प्रयोग गर्ने व्यवसायीलाई सँगै जोड्ने अवसरसमेत बनेको महासंघका अध्यक्ष रवि सिंह बताउँछन् ‘एक्स्पोमा राखिने प्रविधि एकै ठाउँ देख्न चाइना, बैङ्लोर, दिल्ली लगायत ठाउँमा हुने मेलामा पुग्नुपथ्र्यो तर हामी नेपालमै यो अवसर पाउने गरी आयोजना गरिरहेका छौं,’ उनले भने, ‘यसरी अन्यत्र गएर अवलोकन गर्न सबैको पहुँच पनि नहुने र लागत पनि बढी हुने भएकाले निर्माण व्यवसायीले एउटै छानामुनि नयाँ नयाँ उपकरण र उत्पादकसँग साक्षात्कर गर्ने अवसरको रुपमा लिनेछन्।’

उनले एक्स्पोमा बढीभन्दा बढी बिक्रेतालाई समेट्ने प्रयास भइरहेको बताए। पहिलो वर्ष भएकाले केही तयारी र प्रकृयालाई आगामी वर्षको एक्स्पोमा थप सुधार गर्नका लागि पनि अहिलेको एक्स्पो राम्रो सिकाइ बन्नसक्ने उनको तर्क छ। ‘हाम्रो अठोट छ अबका हरेक वर्षमा हामीले एउटा निर्माण उपकरणसँग सम्बन्धित एक्स्पो नियमित गर्छौं,’ उनले भने, ‘अहिलेको एक्स्पो पनि अन्तर्राष्ट्रिय स्तरको हो तर अबका एक्स्पोमा अन्य क्षेत्रलाई समेत समेटेर थप प्रभावकारी बनाउन सकिने सिकाइ तयारी अवस्थामै महसुस गरेका छौं।’

व्यवसायीले एउटै थलोमा बसेर एउटै प्रकृतिका उपकरणलाई बिक्रीमा राख्दा खरिदकर्ताले तुलना गरेर किन्न सक्ने अवस्था रहने र बिक्रेताले पनि आफ्नो नयाँ प्रविधिबारे जानकारी गराउन एक्स्पो सफल रहने सिंह बताउँछन्। एक्स्पोमा आउने विदेशी व्यवसायीको उपस्थितिले सरकारको नेपाल भ्रमण वर्षको अभियानमा पनि सहयोग पुग्ने उनको भनाइ छ। सिंह मुलुक समृद्ध बन्नका लागि पूर्वाधार निर्माण आवश्यक पर्ने, पूर्वाधार निर्माणका लागि निर्माण उपकरणको भूमिका महवपूर्ण हुने भएकाले यो एक्स्पोले समग्रमा सरकारकै लक्ष्यलाई सहयोग पुग्ने हुँदा यसमा सरकारको पर्याप्त साथ र सहयोग रहेको बताउँछन्।

धेरै अगाडिदेखि आयोजना गर्ने चाहना राख्दै आएको भए पनि पहिलो पटक यो अवसर जुरेको र यसलाई हामीले आगामी वर्षमा पनि निरन्तरता दिँदै जाने महासंघका महासचिव रोशन दाहाल बताउँछन्। एक्स्पोमा निर्माण प्रविधि तथा सामग्रीको बिक्री मात्रभन्दा पनि मुलुकभरका दुई हजारभन्दा बढी निर्माण व्यवसायी पनि उपस्थिति हुने हुँदा एक्स्पोले निर्माण व्यवसायीमा हेबी इक्विपमेन्टको प्रयोगसँगै समय अनुसार प्रविधिले यसरी फड्को मारेको छ भन्ने कुराको पनि जानकारी उपलब्ध गराउने दाहालको भनाइ छ।

उनले भने ‘यो एक्स्पोको अवलोकनकर्ता संख्यात्मक रुपमा धेरै थोरै भन्दा पनि वास्तविक निर्माणसँग जोडिएका व्यवसायीको चासो र उपस्थितिले समग्र निर्माण कार्यमै गुणात्मक परिवर्तन ल्याउन सहयोग पु-याउने छ।’

उनले अहिले सरकारको नीतिका कारण निर्माण व्यवसायीले जुन असहज अवस्था भोग्दै आएका थिए, त्यो वातावरण अन्त्यका लागि हामी सबैको निरन्तरको प्रयासका कारण सरकारले व्यवसायीको पक्षमा सहयोग पुग्ने गरी परिमार्जन गरेको बताए। दाहालले भने,‘निर्माण व्यवसायीका सबै माग सुनुवाइ नभए पनि म्याद थप र बैंक क्रेडिट लाइनका केही सवालमा राहत मिलेको छ ।’

तीन हजारभन्दा बढी योजनाको म्याद थप हुन नसक्दा रोकिएको भुक्तानी र हर्जनाको व्यवस्थामा सरकार लचिलो बनिदिँदा निर्माण व्यवसायीलाई बौरिन सहयोग मिलेको उनको बुझाइ छ।‘यसले काम गर्ने वातावरण पनि सहज बन्दै गएको छ,’ उनले भने,‘अबव्यवसायीले यो अवसरलाई सञ्जीवनी बुटीको रुपमा ग्रहण गरेर आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘सरकारले निर्माण व्यवसायीबाट गरेको अपेक्षा र व्यवसायी आफैंमा ल्याउनुपर्ने परिवर्तनका लागि पनि यो एक्स्पो सिकाइको माध्यम बन्न सक्छ।’ उनले नेपालको निर्माण व्यवसाय समयानुकुल प्रविधिको प्रयोगमा धेरे अगाडि पुगिसकेको बताए।

तर पनि अन्य विकसित मुलुकको तुलनामा पछाडि नै रहेको उनको भनाइ छ। ‘सकेसम्म त्यस्ता प्रविधिमैत्री बन्नका लागि अत्याधुनिकयन्त्र उपकरणको पहुँचमा पुग्न नेपाली निर्माण व्यवसायी लागेका छन्,’ उनले भने, ‘तर बैंकबाट ऋण लिएर महंगा मेसिन किन्ने तर व्यवसायीले नियमित काम नपाउने अवस्था छ, जसका कारण पनि ठूला यन्त्र उपकरण चाहेर पनि भित्रन सकेका छैनन्।’ दाहालले सरकारले निर्माण व्यवसायीलाई छुट्याउन नसकेको गुनासो गर्छन्। ‘सामान्य मापदण्ड पूरा गरेर दर्ता हुने व्यवसायी पनि छन्।

अर्कोतिर अर्बौंका योजना सम्पन्न गरेका र गर्न सक्ने समाथ्र्य भएका व्यवसायी पनि छन्,’ उनले भने, ‘कम्तिमा सरकारले यसमा फरक छुट्याउन सक्ने हो भने व्यवसायीले पाउने सुविधा तथा सहुलियत र व्यवसायीले सरकारका योजनामा पु¥याउने सहयोगमा प्रभावकारिता आउने थियो।’ महासंघका वरिष्ठ उपाध्यक्ष तथा एक्स्पोका संयोजक निकोलस पाण्डेभारतको निर्माण कम्पनी इन्नो रेग ग्रुप अफ कम्पनीले व्यवस्थापन गर्ने एक्स्पो नेपालका लागि विशेष रहने बताउँछन् । उनले भने,‘समय र लगानीका हिसाबले हाम्रो जुन प्रयास भएको छ, महासंघले आयोजना गर्ने पहिलो अन्तर्राष्ट्रिय किसिमको एक्स्पोमै हामीले त्यति धेरै अपेक्षा गरेका छैनौं।’

उनले नेपालजस्तो सानो र विकासशील मुलुकमा विश्वका प्रतिष्ठित ठूला ठूला उपकरणका उत्पादक सहजै आउन सक्ने अवस्था नेपालका निर्माण व्यवसायीसँगको सम्बन्ध र कारोबारले पनि काम गरेको बताउँछन्।‘नेपालका निर्माण व्यवसायी सबै खालका प्रविधि र उपकरणको पहुँचमा छैनन् र जानकार पनि छैनन्, हाम्रा व्यवसायीले प्रयोग गर्दै आएका प्रविधिमा भएका सुधार जुन नेपालमै अगाडिदेखि प्रयोग भइरहेका छन्,’ उनले भने, ‘कति नयाँ पनि छन् जसलाई एकै ठाउँ देखाउनु पनि ठूलो उपलब्धी हो। यसमा व्यवसायीले खरिद नै गर्छन् भन्दा पनि त्यसका बारेमा जानकारी लिन सक्छन्।

प्रकाशित: २३ पुस २०७६ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App