coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मेयरको कक्षमा पत्रकार कुटिए

महोत्तरी – जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै मंगलबार पत्रकार कुटिएका छन्। विश्व सम्पदा सूचीमा रहेको जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचार संकलनका लागि उपमहानगपालिका कार्यालयमा पुगेका पत्रकारमाथि नगर प्रमुख साहका समर्थक खनिँदा अवस्था केही बेर तनावपूर्ण बनेको थियो। मेयरको कार्यकक्षमा उनकै निर्देशनमा नगर प्रहरी, कर्मचारी र कार्यकर्ताले पत्रकारमाथि दुर्व्यवहार गरेको नेपाल पत्रकार महासंघका महासचिव किरणकुमार कर्णले जनाएका छन्।

समाचार संकलन गर्न पुगेका पत्रकारहरु अमरकान्त ठाकुर, विकासकुमार साह, शत्रुधन यादवलगायतलाई तीन घण्टासम्म कुराएर प्रतिक्रिया दिने क्रममा मिडिया आतंक मच्चाएको भन्दै दुव्र्यवहार गरिएको कर्णले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सूचनाको हक सम्बन्धित विषयमा प्रतिक्रिया दिन आलटाल गर्ने तथा पत्रकारलाई घन्टौं कुराएर दुव्र्यवहार गरिएको घटनापछि समन्वय गर्न पुगेका अरु पत्रकारलाई पनि दुव्र्यवहार गरिएको कर्णले जनाएका छन्। ‘हामी आक्रोशपूर्ण वातावरणलाई शान्त बनाउन गएका थियौं’, उनले भने, ‘तर मेयरका कार्यकर्ताले हामीमाथि सांघातिक आक्रमण गरे।’

आक्रमणबाट एपी वान टेलिभिजनका विकासकुमार साह, सञ्जय यादव, कान्तिपुर टेलिभिजनका अमरकान्त ठाकुर, उज्यालो नाइन्टी नेटवर्कका सुभाष कर्ण, देशसञ्चार डटकमका राजा झा, एबिसी टेलिभिजनका सुमित मिश्र घाइते भएका छन्। उनीहरुलाई प्रादेशिक अस्पतालमा उपचारपछि घर पठाइएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए।

‘पत्रकारलाई तीन घण्टा कुराएर प्रतिक्रिया लिने क्रममा मिडिया आतंक मच्चाएको भन्दै कुटपिट गर्नु अत्यन्त लज्जास्पद र आपत्तिजनक विषय हो’, अध्यक्ष मिश्रले भने, ‘सूचनाको हक नमान्नु, सम्बन्धित विषयमा प्रतिक्रिया दिन आलटाल गर्नु तथा पत्रकारलाई कुराएर दुव्र्यवहार गर्न लगाउनु निन्दनीय हो।’ पत्रकारको मोबाइल र क्यामेरासमेत खोसिएको उनले बताए।

घटनापछि नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेश २ समितिले पत्रकारमाथि भएको दुव्र्यवहारको छानबिन र दोषीलाई कारबाही माग गरेका छन्। पत्रकार महासंघ धनुषाको बैठकले दोषीमाथि कारबाही नभएसम्म मेयर साह सहभागी हुने कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ।

जानकी मन्दिरको जग्गा अतिक्रमण गर्नेहरुलाई जोगाउन मेयर साहले यो घटना गराएको बताउँदै अध्यक्ष मिश्रले दुव्र्यवहारमा संलग्नलाई कानुनी कारबाहीको माग गरे।

यता, उपमहानगरपालिकाको मंगलबार बसेको आकस्मिक बैठकले पत्रकारहरु अभद्र शैलीमा प्रस्तुत हुँदै कुटपिटमा उत्रिएको दाबी गरेको छ। पत्रकारको कुटपिटबाट तीनजना महिला कर्मचारीसमेत घाइते भएको उपमहानगरपालिकाले दाबी गरेको छ। उपमहानगरपालिकाले घटनामा मुछिएका पत्रकारलाई कारबाही गर्न न्यायिक समिति गठन गर्न माग गरेको छ।

प्रकाशित: २३ पुस २०७६ ०१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App