coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रंगशाला निर्माण गर्न हेटौंडा उपमहानगरको ३० लाख सहयोग

मकवानपुर– चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपैंया सहयोग गरेको छ। 

धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’लाई उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मंगलबार भरतपुरस्थित रंगशाला निर्माण स्थलमा चेक हस्तान्तरण गरे।

नेपाल र नेपालीको गौरवको विषय रंगशाला भएकाले सहयोग गर्न पाउँदा खुशी लागेको हेटौंडाका मेयर महतले बताए। ‘खेल र खेलाडीले देश र नेपालीको नाम उचो बनाउँछन्,’ उनले भने, ‘रंगशालाले देश र खेल क्षेत्रमा धेरै सहयोग गर्छ, त्यसैले सात सय ५३ स्थानीय तहलाई सहयोग गर्न विनम्र अनुरोध गर्दछु ।’

भरतपुर महानगरपालिकाले चालु आवमै साँढे छ करोड रुपैंया बजेट बिनियोजन गर्ने मेयर रेणु दाहालले बताएकी छिन्। यता, प्रदेश ३ सरकारले पाँच करोड रुपैंया रंगशाला निर्माणमा सहयोग गर्ने जनाएको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको २० विघा छ कठ्ठा जमिनमा फाउण्डेशनले तीन अर्ब रुपौया संकलन गरेर अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन लागेको हो।

२५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने लक्ष्य राखिएको छ। विश्वस्तरीय प्यारापिट रहने रंगशालामा चारवटा ढोका तथा एक सय ३५ मिटर ब्यासमा बन्ने रंगशालामा देश विदेशबाट आउने विशिष्ट व्यक्तिका लागि विशेष लबिको व्यवस्था हुनेछ।

रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बाँस्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डीबियो, पौडी लगायतको २२ विधाका खेल खेल्न सकिने संरचना बन्ने फाउण्डेशनका अध्यक्ष धुर्मुसले बताए। अन्तर्राष्ट्रिय मापदण्डमा बन्ने रंगशाला आफ्नैपन झल्कने नेपाली जनताको सहयोगबाट बनेको विश्वकै नमूना र जनस्तरबाट निर्माण भएको पहिलो रंगशाला हुने फाउण्डेशनले जनाएको छ।

भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनबीच गत माघ १६ गते काठमाडौंमा रंगशाला बनाउने विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो।

प्रकाशित: २२ पुस २०७६ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App