coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पेडा व्यवसायमा तीन पुस्ता

पूर्वपश्चिम राजमार्ग भएर यात्राको क्रममा सप्तरीको कञ्चनपुर नगरपालिका –२ ‘बरमझिया’ पुगेपछि राजमार्गसँगै लम्बिएको ‘पेडा’ बजारमा एकछिन जो पनि अलमलिन्छ । लगभग उस्तै नामका झन्डै एक सय वटा पेडा पसल छन्।

यता ‘बुढो बाजे’, उता पनि ‘बुढो बाजे’। यता हेर्‍यो ‘असली’, उता ‘उही पुरानो’ । लहरै सञ्चालित पेडा पसलले यो बजारको नाम बरमझिया नभई पेडा बजार पो राखिदिनुपर्ने धेरैको सोच पलाउँछ होला । पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने मेचीदेखि महाकालीका यात्रुका लागि यहाँको पेडाले मिठो स्वाद त दिएको छ नै । सप्तरी, सिरहा, उदयपुर, सुनसरी र झापाका पशुपालक किसानलाई बरमझियाको पेडा उद्योगले उत्साहित र प्रोत्साहितसमेत गरेको छ ।

करिब सयको संख्यामा सञ्चालित पेडा पसल सबै गुणस्तरीय भने छैनन् । अघिल्तिर ‘असली’ पुरानो जस्ता शब्द झुन्डाएको भए पनि असली पेडा पसलको खोजीमा अधिकांश ग्राहक झुक्किने गरेका छन् । धेरैले साइनबोर्डमा झुक्याउने जानकारी लेखे पनि असली बुढो बाजेले खोलेको पसल सशस्त्र प्रहरीको ब्यारेक छेवैमा छ । बरमझिया निकै पहिलेदेखि ठूलो मात्रामा भैंसीपालन चल्दै आएको स्थानीय राजकुमार साहले बताए । दूधको कमी कहिल्यै भएन । पछिल्लो समय त पेडाको निम्ति प्रसिद्ध भएपछि आफ्नो क्षेत्रले मुलुकभरि पहिचान पाएकोमा उनलाई गर्व लागेको छ।

‘पेडाकै निम्ति गाउँको दूधले मात्र नपुगेर हरेक बिहान उदयपुर, सुनसरी सिरहादेखि ओसार्ने गरिन्छ,’ उनले थपे, ‘दैनिक चारपाँच हजार लिटर दूध त पेडामै जान थालेको छ ।’ यो ठाउँले पेडाको पहिचान बनाउँदै गएपछि स्थानीय कृषक र व्यवसायीलाई लाभ मिल्न थालेकोमा उनी मख्ख छन् ।

बरमझियामा पेडा बनाउन सुरुवात गर्ने व्यक्ति बैजनाथ साह हुन् । ‘श्री बैजनाथ साह पेडा भण्डार’का संस्थापक बैजनाथ साहको २०६९ साउनमा निधन भयो । परिवारका बाँकी सदस्यले पसल चलाइरहेका रहेछन् । चौथो पुस्तामा चलिरहेको यो पसल अकल साहले सुरु गरेका हुन् । यहाँ पेडा भित्र्याएको भने उनका छोरा बैजनाथले हो । बैजनाथका दुई छोरा छन्, जेठा जयराम र कान्छा राजकुमार ।

दुवै छोरा मिठाइ व्यवसायमा छैनन् । जेठा जयराम मोरङमा छन् भने कान्छा राजकुमार निजी स्कुलमा पढाउँछन् । राजकुमारका छोरा विवेक साहले पुस्तैनी पेसालाई निरन्तरता दिइरहेका छन् । उनलाई आफैँ पनि पेडा बनाउन आउँछ।

बैजनाथसँग जगेश्वरी साह बिहे गरेर आउँदा ससुराको मिठाई पसल थियो । पेडा बनाउने चलन भने थिएन । त्यतिबेलै बैजनाथ काम विशेषले सुनसरीतिर गएका थिए । त्यहाँबाट फर्किएर आएपछि नै पेडा बनाउन थालेको परिवारजन बताउँछन् ।

सुनसरी पुगेका बेला कुनै मिठाई पसलमा पेडा बनाएको देखेपछि बैजनाथले यो परिकार यहाँ भित्र्याएका रहेछन् । दूधलाई घोटेर पेडा बनाउने तरिका सजिलो थियो । पेडा बनाउन सिकेर आएका बैजनाथले घरमा भनेछन् –मैले एउटा नयाँ मिठाई बनाउन सिकेर आएको छु, सजिलै छ । ‘त्यो यहाँ बनाउन सके राम्रो चल्छ ।’ बैजनाथले पेडा बनाउन थालेपछि त्यसैको देखासिकी वरपर सबैले गर्न थाले । बिस्तारै यहाँको पेडा लोकप्रिय हुँदै गयो । लोकप्रियातासँगै पेडा पसलहरु पनि थपिँदै गए ।

गिरिजाबाबुदेखि दरबारसम्मलाई मनपर्ने पेडा
बरमझियाको पेडाको स्वादले पूर्वपश्चिम यात्रा गर्नेहरुलाई त अड्याएको थियो नै । बैजनाथ साहको पेडाको स्वादले गिरिजाप्रसाद कोइरालालाई समेत तानेको रहेछ ।

‘एकदिन अचानक गिरिजाबाबु यहाँ आइपुग्नुभएछ,’ हजुरबुवाले सुनाएको घटना सम्झँदै बिवेकले भने, ‘चिउरा र दूधको छालीसँगै पेडा खाएर जानुभएछ ।’ कोइरालाले स्वाद मानेर खाएको पेडाको  चर्चा सबैतिर फैलियो । ‘हुँदाहुँदा दरबारबाट पनि कुनै विशेष समारोह हुँदा यहीँको पेडा मगाउन थालिएको थियो,’ उनले भने, ‘काठमाडौंमा कार्यक्रमपिच्छे ५०–६० किलो पेडा दरबार जाने गरेको थियो ।’

यसरी बनाइन्छ पेडा
पेडा बनाउन दूध घोटेर बाक्लो भएपछि चिनी हालिन्छ र सुकाएर राखिन्छ । त्यसपछि डल्लो पारिन्छ । दूध र चिनीबाहेक अतिरिक्त केही प्रयोग गरिँदैन । विवेकले अरू पसलमा भने अरुथोक पनि हाल्छन् भन्ने गुनासो ग्राहकहरुले गरेको सुनेका छन् ।

बैजनाथ सुरु–सुरुमा आफैँ दूध घोट्थे । व्यवसाय बढ्दै गएपछि कामदार राख्न थाले । ‘दैनिक ठूलो मात्रामा पेडा बिक्न थालेपछि फुर्सद पाउनै गाह्रो हुन्थ्यो,’ विवेक भन्छन्, ‘जीवनको अन्तिम कालसम्म हजुरबुवालाई चित्त नबुझेर दूध घोट्ने काम बेलाबेला आफैँ गर्नुहुन्थ्यो ।’

नामको मात्र नभई सुगाको पनि नक्कल
पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तरीको बरमझिया पेडाका लागि प्रसिद्ध छ । पेडा त्यसमा पनि बैजनाथको नाम जोडिएपछि सबैको ध्यान खिचिन्छ ।

बैजनाथको पेडा पसलअघि ठूला अक्षरमा लेखिएको नामको मात्र नक्कल भएको छैन । साहले असली छुट्याउन पालेको सुगासमेत सबैले नक्कल गरेका रहेछन् । ‘हाम्रो सुगा पालेका कारण असली भनेर देखाउन अरुले पनि सुगा पाले ।’ बैजनाथका नाति विवेक भन्छन्, ‘हाम्रो सुगा त अहिले छैन, अझै केही पसलमा सुगा देखिन्छन् ।’ बैजनाथले पेडा बनाउन सुरु गरेको सात दशक पुगेको छ । बरमझियामा बैजनाथ पछि खुलेका अधिकांश पेडा पसल बैजनाथको पसलमा काम सिकेकाहरुले खोलेका रहेछन् ।

बरमझियालाई पेडाले देशविदेश चिनाउने बैजनाथको पेडा पसल करिब सय वटा पेडा पसलको भीडमा ओझेल छन् । बरमझियालाई पेडा ब्रान्डको रुपमा स्थापना गरेका बैजनाथको नाति पुस्ताले पसल धानिरहेको छ । बैजनाथका पनाति विवेकले यसरी बाजेको पेडा पसल सम्हालिरहेका छन् । पसलको माथिल्लो भागमा ‘श्री बैजनाथ साहको पेडा भण्डार’ लेखिएको बोर्ड राखिएको छ । ब्रान्ड छुट्याउन राखिएको बोर्डको दायाँबायाँ बैजनाथको फोटो पनि छ । पसलभित्र काउन्टर नजिक स्व. बैजनाथ साहको तस्बिर राखिएको छ ।

पेडाले दिएको काम नाम र दाम
पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्नेहरुमध्ये सप्तरीका बरमझियाबारे नसुनेका सायदै होलान् । बरमझियाबारे बुझेकाहरुले त्यहाँ पेडा नचाख्ने कुरै भएन । पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तरीको बरमझिया पेडाका लागि प्रसिद्ध छ । पेडा किन्नैका लागि यहाँका पसलहरुमा दैनिक सयौं यात्रु यहाँ ओर्लन्छन् । मिठो मानेर पेडा खान्छन् र कोसेलीका रूपमा घर लैजान्छन् ।

बरमझियामा अहिले यहाँका हरेक घरको रोजगारी पेडा व्यवसाय बनेको छ । सय लिटर दूधबाट बढीमा २० किलो पेडा निस्किन्छ । बरमझियाको पेडा गुणस्तरीय हुने ग्राहकहरुको विश्वास छ, त्यही विश्वासले यहाँको पेडा व्यवसाय राम्रो रहेको विवेकले बताए ।

यहाँको पेडा पसलमा दैनिक ५ हजार लिटर दूध खपत हुन्छ । जसका कारण यहाँका व्यसायीले मात्रै होइन किसानले पनि रोजगारी पाएका छन् । काम मात्रै होइन, बरमझियावासीले पेडा व्यवसायबाटै नाम पनि कमाएका छन् । पेडा व्यवसायले बरमझियालाई काम, दाम र नाम सबै दिएको छ । काम, दाम र नाम फैलिएसँगै बरमझियाको पेडाले गुणस्तरीयता जोगाइराख्ने चुनौती थपिएको छ ।

बैजनाथ पेडा भण्डारमा पेडासँगै खाजा, खुवा, घ्यु, लड्डुसमेत पाइन्छ । यहाँको पेडा जस्तै खाजा र खुवाका पारखी पनि प्रशस्तै रहेको विवेक बताउँछन् । पेडा किन्न आउनेहरु थोरै भएपछि खाजा पनि कोसेली लिएर जान्छन् । खुवा नास्ताको रुपमा यहीँ खान्छन् । खुवाका पारखीहरु घर पनि लिएर जान्छन् ।

यहाँ पेडा प्रतिकिलो ७५०, खाजा प्रतिकिलो ६००,  खुवा प्रतिकिलो ८००, लड्डु प्रतिकिलो ५०० र घ्यु प्रतिकिलो १००० रुपैयाँमा पाइन्छ । यस पसलमा मूल्यसूची काउन्टर नजिक झुन्ड्याइएको छ ।

 

प्रकाशित: २२ पुस २०७६ ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App