८ वैशाख २०८१ शनिबार
अर्थ

साउदीका २६ कम्पनी कालो सूचीमा

काठमाडौं- सरकारले साउदी अरेबियामा नेपाली कामदारलाई समयमै तलब भुक्तानी नगर्ने २६ कम्पनीलाई कालोसूचीमा राखेको छ। श्रम तथा रोजगार मन्त्रालयका अनुसार साउदीमा कम्पनीको गैरजिम्मेवारीका कारण नेपाली कामदार अलपत्र पर्ने क्रम बढ्दै गएपछि त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेको हो।

कालोसूचीमा परेका कम्पनीमा नेपाली वैदेशिक रोजगार व्यवसायीले कामदार पठाउन पाउने छैनन्।

सरकारले कालोसूचीका कम्पनीमा जान कामदारलाई श्रम स्वीकृति नदिने वैदेशिक रोजगार विभागले जनाएको छ।

कामदार अलपत्र पर्दा पनि फिर्ता पठाउन असहयोग गर्ने कम्पनीलाई कालोसूचीमा राखेको भन्दै विभागले त्यस्ता कम्पनीमा अब कामदार पठाउन नदिन कालोसूचीमा राखिएको बताएको छ।

अहिले विभागमा सबैभन्दा धेरै कालोसूचीमा मलेसियन कम्पनीहरु रहेका छन्। त्यस्तै, साउदीका २ कम्पनीलाई पनि विभागले कालोसूचीमा राखेको छ।

विभागका अनुसार अब नेपाली कामदारलाई अलपत्र पार्ने विभिन्न देशका कम्पनीको कालोसूचीमा २८ कम्पनी पुगेका छन्।

साउदीको रियादस्थित नेपाली दूतावासले नेपालीलाई बारम्बार अलपत्र पर्ने कम्पनीको सूची तयार गरिरहेको हुनाले त्यसैको आधारमा कालोसूचीमा कम्पनी थपिने पनि विभागले जनाएको छ। नयाँ सूची पाएपछि त्यसैको आधारमा त्यस्ता कम्पनीमा जान स्वीकृति नदिने विभागको तयारी छ।

क्तिपय रोजगारदाता कम्पनीले जोखिमपूर्ण र अप्ठेरो काम लगाउने, तोकिएको तलब नदिने गरेका कारण कामदार भाग्नुपर्ने स्थिति एकातिर छ भने अर्कोतिर साउदी पुगेपछि एजेन्टले कामदारलाई सम्झौतापत्रमा भनेको भन्दा फरक तथा जोखिमपूर्ण काम लगाउने र कतिले त सम्झौतापत्र अनुसारको काम नै नपाएका घटना छन्। नेपाली कामदारलाई अलपत्र छाडेर एजेन्ट नै भागेका पनि धेरै उदाहरण भएकोले कठोर कदम चाल्नुपरेको विभागको भनाइ छ। साउदीमा पछिल्लो समय कामदारलाई समयमै तलब नदिने समस्या पनि बढ्दै गएको छ। साउदीको कानुन तथा नेपाल सरकारको कमजोर वैदेशिक रोजगार नीतिका कारण पनि कामदार ठगिएका छन्।

त्यस्तै, वैदेशिक रोजगार व्यवसायीले पनि कामदार पठाइसकेपछि तिनका कुनै गुनासो नसुनेको धेरै गुनासो विभागमा आएका छन्।

अहिले साउदीका विभिन्न कम्पनीमा कार्यरत १ हजारभन्दा बढी नेपाली कामदार अलपत्र रहेको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

प्रकाशित: ७ पुस २०७३ ०४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App