धरान- नेपालका नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठले बुधबार सिजनको पहिलो प्रतियोगिता सूर्य नेेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। पार ७० को निर्वाण कन्ट्री क्लब गल्फ कोर्षमा बुधबार २ अन्डर ६८ खेलेका शिवरामले कुल ४ अन्डर २ सय ६ स्कोरका साथ उपाधि जितेका हुन्। इस्टर्न ओपनमा यो शिवरामको तेस्रो उपाधि हो। श्रेष्ठको खेल जीवनमा भने यो ३० औं उपाधि हो। उपाधिसँगै शिवरामले पुरस्कारस्वरुप १ लाख १० हजार रुपैयाँ हात पारे। उनी भन्दा ७ स्ट्रोकले पछि परेका रवि खड्का कुल ३ ओभर २ सय १३ स्कोरका साथ दोस्रो स्थानमा सिमित भए। रविले नगद ७० हजार रुपैयाँमा चित्त बुझाए। कुल ६ ओभर २ सय १६ स्कोर गरेका संजय लामा तेस्रो हुदै ५० हजार रुपैयाँ पुरस्कारको हकदार बने।
तीन दिनसम्म ५४ होलमा प्रतिस्पर्धा गराइएको प्रतियोगिताको अन्तिम दिन शिवरामले फ्रन्ट नाइनमा २ अन्डर ३३ खेले भने ब्याक नाइनमा उनको स्कोर इभन पार ३५ थियो। दोस्रो र छैटौं होलमा बर्डी गर्दै स्ट्रोक जोगाएका उनले १०, ११ं र १२ औं होलमा पनि स्ट्रोक जोगाए। तर १३, १७ र १८ औं होलमा बुगी खेपेपछि ब्याक नाइनको स्कोर इभन पार भएको थियो।
'शुरुबाटै राम्रो भयो, लामो पटिङ पनि छिर्यो। सिजनको पहिलो उपाधि जितेकोले एकदमै खुशी छु,' श्रेष्ठले भने, 'यो जितले बाँकी प्रतियोगिताहरुमा पनि राम्रो गर्ने प्रेरणा मिलेको छ।' पहिलो दिन ३ अन्डर ६७ को स्कोर गरेर सञ्जय लामासँगै शीर्ष स्थानमा रहेका शिवराम दोस्रो दिन पनि १ ओभर ७१ खेल्दै शीर्ष स्थानमा कायम रहेका थिए।
उपविजेता रविले बुधबार इभन पार ७० स्कोर गरेका थिए। फ्रन्ट नाइनमा १ ओभर ३६ खेलेका उनले ब्याक नाइनमा १ अन्डर स्कोर गरे। पाँचौं तथा १० औं होलमा बुगी खेपेका उनले १४ र १६ औं होलमा बर्डी प्रहार गरेका थिए।
तेस्रो स्थान हासिल गरेका संजय लामाले अन्तिम दिन राम्रो प्रदर्शन गर्न सकेनन्। ४ ओभर ७४ स्कोरमा सिमित भएका उनले फ्रन्ट नाइनमा २ ओभर ३७ खेले भने ब्याक नाइनमा पनि त्यही प्रदर्शनलाई निरन्तरता दिए। तेस्रो र छैटौं होलमा बर्डी खेले पनि फ्रन्ट नाइनका दोस्रो, चौथो, पाँचौं र आठौं होलमा उनले बुगी खेपेका थिए। यसैगरी ब्याक नाइनको १२ औं होलमा गरेको बर्डीविरुद्ध उनले ११, १५ र १७ औं होलमा बुगी खेपेका थिए।
एमेच्योरतर्फ कुल ३ ओभर २ सय १३ स्कोरका साथ स्थानीय खेलाडी शुक्रबहादुर राई च्याम्पियन बने। तेस्रो दिन १ अण्डर ६९ स्कोर गरेका उनले पहिलो दिन ५ ओभर ७५ र दोस्रो दिन एक अन्डर ६९ स्कोर गरेका थिए। एमेच्योरतर्फ धरानकै शिवकुमार माझी कुल ७ ओभर २ सय १७ स्कोरका साथ दोस्रो भए। तेस्रो दिन ३ ओभर ७३ स्कोर गरेका माझीले पहिलो र दोस्रो दिन समान २ ओभर ७२ स्कोर गरेका थिए।
स्थानीय व्यावसायिक खेलाडी वलभद्र राई कुल ८ ओभर २ सय १८ स्कोरका साथ चौथो स्थानमा रहँदै नगद ४० हजार रुपैयाँ पुरस्कारको भागिदार बने। समान ९ ओभर २ सय १९ स्कोरसहित पाँचौं स्थानमा रहेका धनबहादुर थापा र भुवन नगरकोटीले जनही ३२ हजार ५ सयका दरले थापे भने कुल १२ ओभर २ सय २२ स्कोरका साथ सातौं स्थानमा रहेका रामे मगर र देवराज पाखि्रनले जनही २६ हजार रुपैयाँ हात पारे। कल १३ ओभर २ सय १३ स्कोरका साथ नवौं स्थानमा रहेका दिपक मगरले २३ हजार र कुल १६ ओभर २ सय २६ स्कोरका साथ दशौं स्थानमा रहेका स्थानीय सविन सापकोटाले २१ हजार रुपैयाँ पाए।
नेपाल व्यावसायिक गल्फर्स संघ (एनपिजिए) को आयोजनामा सम्पन्न प्रतियोगिताका विजेतालाई प्रायोजक सूर्य नेपालका ब्रान्ड म्यानेजर सौरभ भट्टराई र एनपिजिएका केन्द्रिय सदस्य एमबी लिम्बुले पुरस्कृत गरे।
प्रकाशित: ७ पुस २०७३ ०४:२८ बिहीबार