६ वैशाख २०८१ बिहीबार
अर्थ

पोखरामा पनि अपार्टमेन्ट सुरू

पोखरा ।  राजधानी काठमाडौंमा अपार्टमेन्टमा बसोबास गर्न सुरु भएको एक दशकभन्दा धेरै भयो । मुलुकको दोस्रो ठूलो सहर पोखरामा भने अहिले पहिलो पटक अपार्टमेन्टमा बसोबास सुरु भएको छ । पोखरामा यतिबेला तीनवटा अपार्टमेन्ट छन् । एउटामा सर्वसाधारण बस्न थालेका छन् भने दुई निर्माणाधीन अवस्थामा छन् ।

महानगरपालिकाभित्रै पोखरा–१६ दिपमा दिप हाउजिङभित्र ३८ अपार्टमेन्ट छन् । पोखरा–३ नदीपुरमा एक सय सात अपार्टमेन्ट निर्माणाधीन छ । पोखरा–५ पस्र्याङमा पनि व्यक्तिगत लगानीमा आठ तलाको अपार्टमेन्ट बन्ने क्रममा छ । पोखरा महानगरपालिकाको स्वीकृतिसँगै २० महिनाअघि निर्माण सुरु गरिएको पोखरा–३ नदीपुरको अपार्टमेन्ट एक वर्षभित्र सर्वसाधारणलाई हस्तान्तरण गर्ने तयारी छ । पोखरा–३ को अपार्टमेन्ट बि एन्ड बी, कम्फर्ट र गुडविल डेभलपर्स प्रालिका दुई–दुई गरी ६ र अन्य आर जनासहित १० जनाको लगानीमा निर्माण सुरु गरिएको हो । ६.५ रोपनी क्षेत्रफलमा तीनवटा अपार्टमेन्टका लागि भवन बनिरहेका छन् । भवन १० तलाका छन् । फिनिसिङ हुदाँ एक सय सात अपार्टमेन्ट तयार हुने लगानीकर्ता बि एन्ड बी हाउजिङका निर्देशक बिमल बस्यालले बताए । अपार्टमेन्टको प्रोजेक्ट एक अर्ब ४० करोड रुपैयाँको हो । केही कंक्रिटकै काम र केही फिनिसिङको अवस्थामा छन् ।
आठ सय ८८ स्क्वायर फिटदेखि एक हजार ६ सय स्क्वायर फिटको अपार्टमेन्ट सर्वसाधारणले उपयोग गर्न पाउने छन् । एक करोड २३ लाख रुपैयाँदेखि दुई करोड ३० लाखसम्म लागत छ । दुई बेडरुम, किचन तथा डाइनिङ हलका लागि एक करोड २३ लाख रुपैयाँ मूल्य तोकिएको छ । चार बेडरुमसहितको अपार्टलाई दुई करोड ३० लाख रुपैयाँ निर्धारण गरिएको उनले सुनाए । अपार्टमेन्ट पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलदेखि दुई सय मिटरमाथि पर्छ । अपार्टमेन्ट भवनले तीन रोपनी क्षेत्र ओगेटको छ भने बाँकी क्षेत्रफल अन्य सुविधायुक्त पूर्वाधार तयार गरिने योजना छ । स्विमिङ पुल, योगा, ज्याकुजी, सभाहल, पार्टीस्थल, जिमखाना लगायत सुविधासमेत उपलब्ध हुने डेभलपर्स प्रालिको भनाइ छ ।

‘हामीले पब्लिक अभिरुचि नै देखेर अपार्टमेन्टको प्रोजेक्ट सुरु गरेका हौं ।’ सञ्चालक समेत रहेका बस्यालले भने, ‘सुरक्षित आवास र सुविधाकै कारणले अपार्टमेन्ट सर्वसाधारणको रोजाइमा परेको छ ।’ उनका अनुसार अपार्टमेन्टको नीतिलाई अब सरकारी निकायले नै प्रोत्साहन गर्नुपर्छ । थोरै जमिनमा धेरै परिवारलाई एकै ठाउँमा राख्न सकिने हुदाँ खेतीयोग्य जमिन नासिनबाट जोगिने उनको भनाइ थियो । अधिकांश अपार्ट बुकिङ भइसकेको छन् । काठमाडौं र पोखराका सर्वसाधारणले बुकिङ गरिसकेका छन् ।

अपार्टमेन्टमा एक सय १६ वटा सवारी साधन पार्किङ गर्न सकिन्छ ।  अन्डरग्राउन्डबाट पनि ४० फिट गहिराइको फाउन्डेसन छ । भूकम्प प्रतिरोधात्मक प्रविधिबाट निर्माण गरिएको छ । काठमाडौंको साइन विल्डर्सले कामको जिम्मेवारी लिएको हो । ‘एक वर्षमा हस्तान्तरण गर्ने लक्ष्यसहित काम गरिरहेका छौं,’ कम्फर्ड डविलडेभलपर्सका निर्देशक एवं अपार्टमेन्टका सञ्चालक गुणाखर सापकोटाले भने, ‘थोरै क्षेत्रफलमा धेरै परिवार राख्न सकिन्छ । राज्यलाई राजस्व आउँछ । जमिन जोगिन्छ ।’ उनले सरकारी निकायले अपार्टमेन्टको नीतिलाई अझ प्रभावकारी बनाउँदै लगानीका लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार फोहोरलाई त्यही व्यवस्थापन गरिने छ । भित्रको फोहोरलाई बाहिर फ्याक्ने योग्य बनाएर मात्रै फालिने छ । खानेपानी ट्रिटमेन्ट गरिने छ । जमिन खण्डीकरण रोक्नेतर्फ सरकारी निकायको ध्यान जान जरुरी रहेको लगानीकर्ताको ठम्याइ छ ।

प्रकाशित: २२ पुस २०७६ ०२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App