७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अस्ट्रेलिया डढेलो: कति जनावार मारिए भन्ने कसरी थाहा भयो ?

क्याप्सन ः अस्ट्रेलियाको ब्लु माउन्टेन क्षेत्रबाट उद्धार गरिएका डढेलोबाट प्रभावित जनावर। तस्बिरः एजेन्सी

सिड्नी – गत सेप्टेम्बर महिनादेखि अस्ट्रेलिया डढेलोबाट आक्रान्त छ। यसैबीच, डढलोमा परी करिब ४८ करोड जनावर मारिएका विषयले यस साता निकै चर्चा पाएको छ। के हो त यसको वास्तविकता ? के विश्वभरका सञ्चारमाध्यमले जनाएजस्तै अस्ट्रेलियाको डढेलोमा परी ४८ करोड बढी जनावर मरेकै हुन् त ? यसबारे स्वतन्त्र पुष्टि भने भएको छैन। डढेलो प्रभावित अस्ट्रेलियाका ती क्षेत्रमा त्यत्तिको संख्यामा जनावर थियो भनेर कसरी र के माध्यमबाट किटान गरियो  र  यति नै संख्यामा जनावर मरे भन्नेबारे कसले रेकर्ड राख्यो, यो सोचनीय विषय छ।

यसको बारेमा बुझ्नुअघि सन् २००७ मा जारी भएको एउटा तथ्यांकलाई केलाउनुपर्ने हुन्छ। सोही तथ्यांककै आधारमा अहिले ४८ करोड जनावर मारिएको विवरण बाहिरिएको हो भन्दा अतियुक्ति नहोला ! डढेलोमा परी ४८ करोड जनावर मरेको भन्ने तथ्यांक सिड्नी विश्वविद्यालयका अस्ट्रेलियाली जैविक विविधतासम्बन्धी विज्ञ प्राध्यापक क्रिस डिकम्यानले जारी गरेका हुन्।

उनले यो संख्यामा जनावर मरेको भन्ने विषय कसरी थाहा पाए भन्नेबारे एउटा विज्ञप्ति नै जारी गरेका छन्। उनले आफ्नो विज्ञप्तिमा आगलागीका कारण जनावर मारिएको भन्दा पनि प्रभावित भएको भन्ने विवरण उल्लेख गरेका छन्। यद्यपि उनले आफ्नो विज्ञप्तिको शीर्षकमा भने ‘४८ करोड जनावर मारिएको’ विषय लेखेका छन्।

उनले आफू सहलेखक भएर सन् २००७ मा जारी गरेको एउटा प्रतिवेदनका आधारमा यो संख्या उल्लेख गरेका हुन्। उनले त्यसबेला ‘वल्र्ड वाइड फन्ड फर नेचर (डब्लुडब्लुएफ)का लागि न्यु साउथ वेल्समा भइरहेको जंगल फडानीले वन्यजन्तुमा के कस्तो असर पार्छ भन्नेबारे सहलेखक भएर प्रतिवेदन लेखेका थिए।

पछिल्लो डढेलोबाट न्यु साउथ वेल्स सबैभन्दा प्रभावित अस्ट्रेलियाली राज्य हो। प्राध्यापक डिकम्यानसहितले सन् २००७ मा जारी गरेको प्रतिवेदनमा सो क्षेत्रमा प्रति हेक्टर १७.५ स्तनधारी जनावर, २०.७ चराचुरुङ्गी र १२९.५ घस्रने जीव रहेको तथ्यांक सार्वजनिक गरिएको थियो।

त्यसबेलाको सोही तथ्यांकलाई अहिले डढेलोले प्रभावित पारेको भूभागसँग गुणान गरेर ४८ करोड जनावर मरेको विवरण निकालिएको हो। ‘न्यु साउथ वेल्समा मात्रै ३० लाख हेक्टर भूभाग डढेलो प्रभावित रहेको हामीले अनुमान गरेका छौं। यो तथ्यांक १० दिनअघिको हो। तसर्थ, ४८ करोड स्तनधारी जनावर, चराचुरुङ्गी र घिस्रने जीव आगोबाट प्रभावित भएको हुनसक्छ,’ प्राध्यापक डिकम्यानले बताए।

‘पक्कै पनि ! कंगारु वा इमुसजस्ता ठूला जनावरका साथै चराचुरुङ्गी आगोनजिकिँदै गर्दा अन्यत्र जान सक्छन्,’ उनले बिबिसीसँग बताए। ‘मलाई लाग्छ जंगलमै आश्रित हुने र साना प्रजातिका जनावर आगोबाट बढी प्रभावित बनेका छन्।’ उनले ‘आगोबाट बचेका कैयौं जनावर पनि खानेकुरा वा आवासको अभावमा मर्ने निश्चित छ,’ उनको भनाइ छ। योर्क विश्वविद्यालयका अर्का पर्यावरणविद् कोलिन बियलले डढेलोमा परी मर्ने जनावरको तथ्यांक बढाइएको हुनसक्ने बताएका छन्।

‘मैले काम गर्ने अफ्रिकाका कैयौं जंगलमा आगलागीका प्रत्यक्ष कारणले धेरै कम संख्यामा मात्रै चराचुरुङ्गी मर्ने गरेका छन्। पक्कै पनि उनीहरुसँग आगोबाट उड्ने क्षमता हुन्छ,’ उनले भने, ‘यो अवस्था अस्ट्रेलियामा पनि पक्कै हुन्छ।’
यो तथ्यांकसँग केही असहमति पक्कै छन् किनभने यो विवरण न्यु साउथ वेल्समा भएको क्षतिसँग मात्रै सम्बन्धित छ, जबकी आगो भिक्टोरियामा पनि फैलिएको छ।

पुनर्स्थापना निकाय गठन
यसैबीच, अस्ट्रेलियामा आगलागीबाट भएको क्षतिको व्यवस्थापनका लागि राष्ट्रिय पुनस्र्थापना निकाय गठन गरिएको छ। प्रधानमन्त्री स्कट मोर्रिसन, उपप्रधानमन्त्री मिचेल एमसिकोर्माक र अर्थमन्त्री जोस फ्रिडेन्बर्गले सोमबार पुनस्र्थापना निकाय गठनको घोषणा गरेका हुन्। यस निकायको कोषमा प्रारम्भिक चरणमा झण्डै दुई अरब अस्ट्रेलियन डलर जम्मा गरिने पनि प्रधानमन्त्रीलगायतले प्रतिबद्धता व्यक्त गरेका छन्।

‘अस्ट्रेलियामा अहिले भइरहेको डढेलोका क्षतिपूर्ति र संकट व्यवस्थापनका लागि जे गर्नुपर्ने हो, त्यो सबै काम यही किायले गर्नेछ,’ प्रधानमन्त्री मोर्रिसनले बताए।  अस्ट्रेलियामा गत सेप्टेम्बरदेखि सुरु भएको आगलागीका घटनामा परी २४ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन्।

पुनस्र्थापना निकायले आगामी दिनमा हुने क्षति न्यूनिकरणका लागि पनि आधार तयार पार्ने अस्ट्रेलियाका उच्च अधिकारीहरुको भनाइ छ। अहिले कोषमा राखिएको रकमले आगलागीबाट प्रभावित परिवार, किसान, व्यवसायीलगायतलाई राहत पनि उपलब्ध गराउने प्रधानमन्त्री मोर्रिसनले बताएका छन्। अकल्पनीय आगलागीबाट पीडित सबैलाई सहयोग होस् भन्ने उद्देश्यले राहत प्रदान गर्न लागिएको उनले जानकारी दिए।

‘जो आगलागीबाट पीडित भएका छन्। जसको काम नै रोकिएको छ, उनीहरुलाई पुनस्र्थापना गर्नुछ। उनीहरुका लागि हामीले यसमार्फत धेरै पछाडिसम्म काम गर्नुपर्छ,’ प्रधानमन्त्री मोर्रिसनले सञ्चारकर्मीसँग बताए। यसैबीच, नवगठित पुनस्र्थापना निकायको नेतृत्व अस्ट्रेलियाको  संघीय प्रहरीका पूर्वआयुक्त अन्ड्रेव कोल्भिनले गर्ने भएका छन्।

अहिलेसम्म डढेलोका कारण लाखौं हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ। डढेलो प्रभावित क्षेत्र नेदरल्यान्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी भएको बताइएको छ। यसवर्ष अस्ट्रेलियामा गर्मी अत्यधिक महसुस गरिएको र कतिपय राज्यमा डढेलो ‘नियन्त्रण बाहिर’ रहेको अस्ट्रेलियाली अधिकारीहरुले बताएका छन्। पछिल्ला केही दिनमा देशका अधिकांश स्थानमा तापक्रम वृद्धि भएको छ। यसैबीच, डढेलो प्रभावित केही स्थानमा भने वर्षा भएको र तापक्रम केही कम भएको भए पनि आगलागी पुनः सुरु हुनसक्ने भन्दै अधिकारीहरुले चेतावनी जारी गरेका छन्।

प्रकाशित: २२ पुस २०७६ ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App