खोटाङ- नेपाल सितोरियो कराते संघ खोटाङले सातौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा विजयी हुने खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको छ। शुक्रबार सुरु भएर आठ दिनसम्म पूर्वाञ्चलका विभिन्न स्थानमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा जिल्लाका सितोरियो खेलाडीले पदक जिते नगदबाट सम्मानित गर्ने निर्णय गरेको जिल्ला संघका अध्यष संजयकुमार राईले जानकारी गराए। उनका अनुसार खोटाङका सितोरियो खेलाडीले राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जिते नगद १५ हजार रुपैयाँ पाउनेछन् भने रजत जिते १० हजार तथा कांस्य जिते ७ हजार रुपैयाँ पाउनेछन्।
जिल्लाका खेलाडीको मनोबल बढाउन यस्तो निर्णय गरिएको राईले नागरिकलाई बताए।
यसैगरी, सितोरियो करातेका अर्न्तराष्ट्रिय निर्णायक तथा सगरमाथा अञ्चल संयोजक बिचारी तामाङले पनि राष्ट्रिय प्रतियोगीतामा पदक जित्ने खेलाडीलाई व्यक्तीगत रुपमा पुरस्कार दिने घोषणा गरेका छन्। तामाङले स्वर्ण पदक जित्ने खेलाडीलाई १० हजार, रजत विजेतालाई ७ हजार र कांस्य जित्नेलाई ४ हजार रुपैयाँ दिने घोषणा गरे।
सितोरियो करातेका संस्थापक थानेश्वर राईको गृह जिल्लाका खेलाडीले मंसिर २७ र २८ गते विराटनगरमा सम्पन्न क्षेत्रीय छनोट प्रतियोगीतामा चार स्वर्णसहित १५ पदक जितेका थिए। पाँच वर्षअघि सुदूर पश्चिमाञ्चलमा भएको छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा तीन स्वर्णसहित पूर्वाञ्चल दोश्रो भएको थियो।
प्रकाशित: ७ पुस २०७३ ०४:२७ बिहीबार