coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मदन भण्डारी रंगशालाका लागि १५ बिघा जग्गा

राजविराज -  साढे ८४ करोडभन्दा बढीको लागतमा निर्माण हुने भनिएको मदन भण्डारी रंगशालाका लागि सप्तरीको कञ्चनरूप नगरपालिकाले १५ विघा जग्गा छुट्याएको छ। आवश्यक परे जग्गा अझै बढाउन सकिने नगरपालिकाकोे भनाइ छ।

फुटबल ग्राउन्ड तथा एथलेटिक्स ट्य्राकसहित अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधासहितको मदन भण्डारी रंगशाला निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयले टेन्डरसमेत आह्वान गरिसकेको छ। युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको विकासका लागि गाउँगाउँमा खेल पूर्वाधार पु¥याउने नीतिअनुसार सप्तरीमा मदन भण्डारी रंगशाला निर्माण गर्न लागेको हो। मन्त्रालयद्वारा रंगशाला निर्माणका लागि पछिल्लो शुक्रबार मात्रै    मूल्य अभिवृद्घिकर (भ्याट) बाहेक ८४ करोड ७४ लाख ३ सय ७० रुपैयाँको टेन्डर आह्वान गरिसकिएको मेयर मिश्रले जानकारी गराए। रंगशालामा फुटबल ग्राउन्ड, एथलेटिक्स ट्य्राकका साथै दर्शकका लागि आवश्यक प्यारापिट रहनेछन्।

कञ्चनरूप नगरपालिकाको वडा नं. ९ मा निर्माण गरिने रंगशालाका लागि नगरपालिकाले १५ बिघा जग्गा उपलब्ध गराइसकेको छ। आवश्यक परे सोही स्थानमा थप जग्गा उपलब्ध गराउन सकिने नगरप्रमुख मिश्रले बताए। उनले भने, ‘हाललाई १५ विघा छुट्याएका छौं, आवश्यक परे अझै जग्गा सोही स्थानमा उपलब्ध गराउन सकिन्छ।’ रंगशाला सप्तरीकै लागि पहिचानका रूपमा स्थापित हुने बताउँदै मेयर मिश्रले यसको सफलताका लागि सिंगो सप्तरीकै योगदान आवश्यक रहेको भनाइ राखे।

युवा तथा खेलकुद मन्त्रालयद्वारा रंगशाला निर्माणका लागि पछिल्लो शुक्रबार मात्रै मूल्य अभिवृद्घिकर (भ्याट) बाहेक ८४ करोड ७४ लाख ३ सय ७० रुपैयाँको टेन्डर आह्वान गरिसकिएको छ।

रंगशाला निर्माणले विभिन्न प्रतियोगिता आयोजना गर्न सहज हुनुका साथै स्थानीय स्तरबाटै राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समेत मद्दत पुग्ने स्थानीयको भनाइ छ। हाल सप्तरी सदरमुकाम राजविराजमा मात्रै व्यवस्थित रंगशाला रहेको छ। यद्यपि उचित संरक्षण तथा रेखदेदको अभावका कारण राजविराजस्थित रंगशाला पनि जीर्ण अवस्थामा पुगिसकेको छ। यस्तो अवस्थामा युवा तथा खेलकुद मन्त्रालयलले सप्तरीका व्यवस्थित रंगशाला निर्माणबारे लिएको निर्णायलाई सप्तरीवासीले अत्यन्तै हर्षका साथ लिएको नागरिक समाजका अगुवा थानसिंह भन्साली बताउँछन्।
    खास गरी जिल्लाको उत्तरी भेगमा फुटबल, भलिबल तथा एथलेटिक्सप्रति युवामा निकै उत्साह रहेको बताउँदै भन्सालीले यसरी उत्तरी भेगमा फुटबल र एथलेटिक्सलाई लक्षित गरी रंगशाला निर्माण गर्न लिइएको निर्णय अत्यन्तै सराहनीय रहेको बताए। त्यस्तै दक्षिणी भेगमा क्रिकेट, कबड्डी, कुस्ती, भलिवल जस्ता खेललाई लक्षित गरी त्यस्तै खाले रंगशाला निर्माण हुनुपर्ने उनको बुझाइ छ।

सदरमुकाम राजविराजस्थित राज रंगशाला, पब्लिक विन्देश्वरी माविस्थित क्रिकेट मैदन र महेन्द्र विन्देश्वरी क्याम्पसस्थित खेल मैदानलाई व्यवस्थित गर्नुपर्ने माग लामो समयदेखि यस क्षेत्रका युवाले उठाउँदै आएका छन्। यी मैदानमा सप्तरी क्रिकेट संघ, क्रिकेट एसोसिएसन अफ नेपाल(क्यान), राष्ट्रिय खेलकुद परिषद्लगायत विभिन्न निकाय एवम् संघसंस्थाले जिल्ला तथा राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएका छन्। त्यस्तै ग्रामीण भेगमा रहेको तिलाठीस्थित क्रिकेट मैदान, भारदह तथा मधवापुरस्थित खेल मैदानमाथि पनि राज्यले उचित दृष्टि पु-याउँदै तिनको स्तरोन्नति एवम् विकासका लागि ध्यान दिनुपर्ने मागसमेत बेलाबखत उठ्दै आएका छन्।

प्रकाशित: २२ पुस २०७६ ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App