८ वैशाख २०८१ शनिबार
खेल

भार्डेको प्रतिबन्धले लेस्टरलाई धक्का

लन्डन- स्ट्राइकर जेम्स भार्डेमाथि इङल्यान्ड फुटबल संघ (एफए) ले मंगलबार तीन खेलको प्रतिबन्ध लगाएपछि प्रिमियर लिगमा संघर्ष गरिरहेको साविक विजेता लेस्टर सिटीलाई थप धक्का लागेको छ। लिगमा शनिबार सम्पन्न स्टोक सिटीविरुद्धको खेलमा मध्यान्तरअघि रातो कार्ड दर्शन गर्दै भार्डेले मैदान छोडेका थिए।

१० दिनअघि लयमा फर्केको संकेत गर्दै म्यानचेस्टर सिटीविरुद्ध ह्याटि्रक गरेका २९ वर्षे भार्डेले प्रतिबन्धका कारण एभर्टन, वेस्ट ह्याम र मिडल्सब्राउविरुद्धका खेल गुमाउने छन्। सिटीविरुद्ध उनले तीन महिना लामो गोलको खडेरी तोडेका थिए।

लेस्टर सिटीले भार्डेलाई रातो कार्ड देखाउनु गलत भन्दै गरेको अपिल एफएले खारेज गरिदिएको छ। २८ औं मिनेटमा स्टोकका स्ट्राइकर  मामे डियोफमाथि खराब फाउल गरेपछि रेफ्री चिराग पसनले भार्डेलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।

‘लेस्टरले भार्डेलाई रातो कार्ड देखाइनु गलत थियो भनी गरेको अपिल खारेज भएसँगै उनीमाथि तीन खेलको प्रतिबन्ध लगाइएको छ,’ एफएको विज्ञप्तिमा भनिएको छ।

भाडर्ेे प्रतिबन्धित भएसँगै लेस्टर आगामी सोमबार एभर्टनविरुद्ध हुने खेलमा आफ्ना प्रमुख तीन खेलाडीबिना मैदान उत्रने भएको छ।

स्टोकविरुद्धको तनावपूर्ण खेलमा रक्षक क्रिस्टियन फुक्सले सामना गरेको पहेँलो कार्ड जारी सिजनमा उनको पाँचौं थियो। जसका कारण उनी आगामी खेलका लागि निलम्बनमा छन् भने रोबर्ट हथ एक महिनाको प्रतिबन्धमा छन्।

पसनले विवादास्पद खेलको मध्यान्तरभन्दा ७ मिनेटअघि फुक्स र हथलाई पहेँलो कार्ड देखाएका थिए। लेस्टरले २–० ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै खेल २–२ को बराबरीमा टुंग्याएको थियो।

तर, क्रिस्टल प्यालेस र म्यानचेस्टर युनाइटेडबीचको खेलमा सोही प्रकृतिको फाउल गरेका युनाइटेडका अर्जेन्टिनी रक्षक मार्कोस रोजोलाई रातो कार्ड नदेखाएकोमा पसन आलोचित हुँदै आएका छन्।

लेस्टर सिटी जारी लिगमा १५ औं स्थानमा छ। १७ खेलमा १७ अंक जोडेको लेस्टर रेलिगेसन क्षेत्रभन्दा तीन अंकले माथि छ।

प्रकाशित: ७ पुस २०७३ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App