coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सप्तऋषि अस्पतालमा एक रातमै तीन शिशुको मृत्यु

लहान नगरपालिका ३ स्थित सप्तऋषि अस्पताल। तस्बिरः मिथिलेश/नागरिक

लहान – लहान नगरपालिका–१९ की २५ वर्षीया जानकी यादवलाई शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि सप्तऋषि अस्पताल लगियो। दोस्रोपटक आमा बन्दै गरेकी उनलाई निजी अस्पतालमा भरपर्दो उपचार हुने आशाले त्यहाँ लगिएको थियो। भर्ना भएको झन्डै पाँच घन्टापछि चिकित्सकले शल्यक्रिया गर्नुपर्ने जानकारी परिवारलाई गराए। ‘शल्यक्रियाका लागि डाक्टरले सहमतिपत्रमा हस्ताक्षर गरी मन्जुरी जनाउन भनेपछि त्यसै ग-यौं,’ जानकीका पिता घुरन यादवले भने। शल्यक्रियापछि सकुशल छोरा जन्मियो। केही बेरपछि नर्सहरूले बच्चालाई आइसियुमा राख्नुपर्छ भने। ‘बच्चाको अवस्था ठीक छ, आत्तिनुपर्दैन, यो कागजमा छिटो हस्ताक्षर गर्नुस् भने। हामीले फेरि पनि हस्ताक्षर ग-यौं,’ घुरनले भने।

केहीबेरमै तिनै नर्सहरूले भने, ‘बच्चा म-यो।’ त्यसपछि आफूहरूको होस उडेको घुरनले सुनाए। बच्चाको शव छिटो लान दबाब दिएपछि नजिकैको बलान खोलामा लगेर गाडिदिएको बताए। घुरनले शनिबार साँझ इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरदकुमार थापा क्षत्रीलाई फोन गरेर घटनाबारे जानकारी गराए। थापासहितको टोली अस्पतालमा पुगेपछि शुक्रबार राति थप दुई महिलाले शिशु गुमाएको घटना सार्वजनिक भयो।

शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि औरही गाउँपालिका–१ दरैहियाकी २३ वर्षीया प्रमिला यादव सप्तऋषि अस्पताल पुगिन्। उनलाई भर्ना गरेर स्लाइनपानीमार्फत सुई दिन थालियो। पानी चढाएपछि व्यथा हराएको तर पेट फुट्ला जस्तो भएको प्रमिलाकी नन्द शिवोदेवीले बताइन्। उनका अनुसार त्यसपछि नर्स र डाक्टरहरू शल्यक्रिया गर्नुपर्छ भन्दै हतारिन थाले। ‘हामीले शल्यक्रियाका लागि स्वीकृति दियौं,’ शिवोदेवीले भनिन्। मध्यरातमा खुसीको खबर सुन्न आतुर परिवारजन बच्चाको मृत्युको खबरले छाँगाबाट खसेजस्तै भए। प्रमिलाका पति लालबहादुर यादवले आफ्नो शिशुको मृत्यु नभई हत्या भएको आरोप लगाउँदै शल्यक्रियामा संलग्न चिकित्सकमाथि कारबाहीको माग गरे।

सप्तरीको बलानबिहुल गाउँपालिका–३ दुधौलाकी २० वर्षीया संगीता साहले पनि छोरा गुमाउनुप-यो। शुक्रबार राति उनले सप्तऋषि अस्पतालमा उनले छोरा जन्माएकी थिइन्। चिकित्सककै लापरबाहीले बच्चाको मृत्यु भएको आरोप पीडित पक्षको छ। संगीताका पति मनोज साहले प्रसूति कार्यमा संलग्न चिकित्सकमाथि कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिएका छन्। ‘हामीले भोग्नुपरेको पीडा अरू कसैले भोग्नु नपरोस् भनेरै कारबाहीका लागि कानुनी ढोका ढकढक्याएका हौं,’ उनले भने। प्रहरीले निष्पक्ष निसाफ दिलाउने भरोसामा आफूहरू रहेको उनले बताए। ‘अदक्ष चिकित्सक र सिकारु नर्सका कारण आफूहरूले अपूरणीय क्षति बेहोर्नुप-यो,’ उनले भने, ‘राम्रो उपचारको आस गरेर अस्पताल पुगेको थिएँ, तर क्षति भयो। सप्तऋषि उपचार केन्द्र होइन, ज्यान मार्ने थलो रहेछ।’

शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म एक रातमा तीनजनाको पालैपालो शल्यक्रिया भए पनि शिशुहरू भने बाँचेनन्। शल्यक्रियामा डाक्टरको लापरबाही भएको पीडितका आफन्तहरूको आरोप छ। अस्पतालका प्रमुख डा. पशुपति चौधरीका अनुसार शल्यक्रिया डा. रञ्जिता जयसवालले गरेका हुन्। शल्यक्रियामा संलग्न डाक्टरको कुनै लापरबाही नदेखिएको डा. चौधरीको जिकिर छ। ‘पीडित तीनजनाबाट जाहेरी आएको छ,’ डीएसपी थापाले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ सुरक्षा स्रोतका अनुसार उक्त अस्पतालले नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण नगरेका चिकित्सकलाई उपचारमा संलग्न गराउँदै आएको छ। ‘त्यही चिकित्सकले नै उक्त रात शल्यक्रिया गरेका थिए,’ स्रोतले भन्यो, ‘उनले गरेको शल्यक्रिया तथा प्रसूतिका तीनजना मात्र नभई चारजना सुत्केरीले बच्चा गुमाउनुपरेको छ।’ एक जनालाई मिलापत्र गरेर घर पठाइएको स्रोतको दाबी छ।

सप्तऋषि अस्पतालमा लापरबाहीको घटना यो नै पहिलो भने होइन। असार ३१ गते सिरहा नगरपालिका–७ की मनतोरिया मण्डल प्रसूतिका लागि सप्तऋषि अस्पतालमा भर्ना भइन्। असार ३२ गत्ते शल्यक्रिया गरेर मनतोरियाको बच्चा जन्मियो। साउन ७ गते उनलाई औषधि दिएर डिस्चार्ज गरियो। घर फर्केको दुईचार दिनपछि उनमा पेट पोल्ने र फुल्ने समस्या देखियो। आफन्तले उनलाई पुनः त्यही अस्पताल पु-याए। चिकित्सकले औषधि थपेर घर फर्काए। समस्या झन्झन् बल्झिँदै गएपछि मण्डल परिवार अत्तालियो। साउन १९ गते बिरामीलाई फेरि त्यही अस्पतालमै पु¥याइयो। पेटभित्रै समस्या हुन सक्ने भन्दै विराटनगरको सुविधासम्पन्न अस्पताल लान सिफारिस गरियो भनियो। पति श्रवणले मनतोरियालाई हतारहतार विराटनगरको नोबेल अस्पताल पु-याए। त्यहाँ उनको पेटको शल्यक्रिया भयो तर समस्या पत्ता लागेन। सुत्केरी गराउन सप्तऋषि अस्पतालले शल्यक्रिया गरेको ठाउँमा पुनः शल्यक्रिया गर्दा बल्ल चिकित्सकले समस्याको कारण पत्ता लगाए। सप्तऋषिका चिकित्सकले शल्यक्रिया गर्दा दुईवटा गज (कपडाको टुक्रा) पेटभित्र फेलापरेको श्रवणले बताए। त्यतिबेलाका प्रजिअले घटनाबारे अनुसन्धान भइरहेको बताए पनि पछि घटना त्यतीकै सेलाएर गयो। पीडित पक्षले पनि लिखित जोहेरी नदिएको कारण देखाउँदै तत्कालीन प्रहरी प्रमुख पनि चुप बसेका थिए।

प्रकाशित: २२ पुस २०७६ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App