ललितपुर- महिला हिंसा भएको र यात्रु बिरामी भएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र गुड्ने माइक्रो बसको उल्टो सिट हटाए पनि यात्रु उक्त समस्याबाट अझै मुक्त हुन सकेका छैनन्। पहिला चार जना अटाउने उल्टो सिटमा अहिले व्यवसायीले आठ यात्रुलाई उभ्याउने गरेका छन्।
महाशाखाले डेढ महिनाअघि उपत्यकामा चल्ने सबै (दुई सय ६० वटा) माइक्रो बसमा उल्टो सिट हटाएको थियो। यसले यात्रुलाई झनै असुविधा थपिएको छ भने व्यवसायीलाई फाइदा पुगेको छ।
सिट हटाएपछि उक्त स्थानमा टाउको निहुँराएर उभिनुपरेको यात्रुको गुनासो छ। उनीहरुले सिटभन्दा धेरै यात्रु राख्न नहुने माग राखेका छन्। 'पहिला उल्टो सिटमा भए पनि बस्न पाइथ्यो, अहिले त झनै उभिएर यात्रा गर्नुपरेको छ,' आइतबार माइक्रोबस चढेर सुन्धारा जाँदै गरेका किशोर परियार भने, बरु सकिन्छ भने सिटभन्दा बढी यात्रु चढाउन नपाइने नियम लागू गर्नु नि!'
तर, महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी लोकेन्द्र मल्लले उपत्यकाभित्र गुड्ने सवारीमा उभिएर यात्रा गर्न नहुने नियम लागू गर्न नसकिने बताए। उनले भने, 'अहिले नयाँ बस थपिएका छन्, त्यसले पनि यात्रुलाई थप सहज हुनेछ, उपत्यकामा गुड्ने सवारीले सहज हुने गरी सीमित यात्रुलाई उभ्याउन पाउँछन्, यदि कुनै सवारीमा कोचिएर यात्रा गर्नुपरेको छ भने हामीलाई खबर गर्नुस्।'
यता, ललितपुरका ट्राफिक प्रहरी इन्चार्ज सीताराम हाछेंथुले उपत्यकामा गुड्ने (बा.१ज र बा.१ख) का माइक्रोले उभ्याएर यात्रा गर्न नपाउने व्यवस्था ट्राफिक प्रहरीले लागू गरिसकेकाले उक्त नम्बरका माइक्रोले उभ्याएर यात्रु राखेमा ट्राफिक प्रहरीलाई खबर गर्न आग्रह गरे।
त्यस्तै, यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले उल्टोसिट भएको स्थानमा जम्पर सिट राख्नका लागि विभागले ट्राफिक प्रहरीसँग मंसिर २ गते छलफल गरिसकेको जानकारी दिए। 'उल्टो सिट भएको ठाउँमा हामीले जम्पर सिट राख्ने निर्णय गरेका छौँ, यस्तो सिट राखेपछि व्यवसायीले यात्रु उभ्याउन पाउनेछैनन्।'
उनले उक्त निर्णय कार्यान्वयनका लागि यातायात व्यवासायीलाई पत्र पठाइसकेको जानकारी दिए।
प्रकाशित: ७ पुस २०७३ ०३:४४ बिहीबार