८ वैशाख २०८१ शनिबार
प्रवास

लहैलहैमा अष्ट्रेलिया जाँदा दुःख

मेलबर्न–  अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ। चीन र भारत पछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो।

कक्षा १२ पढेर अष्टे«लिया आउने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन्। तर लहैलहैमा यहाँ आउनेहरुले निकै दुःख पाउने गरेको यहाँका अनुभवीहरु बताउँछन्। बुझेर आउनेका लागि भने भविष्य उज्वल भएको यहाँ रहेका नेपालीको भनाइ छ। 

गैरआवासीय नेपाली महासङ्घ अष्ट्रेलियाका अध्यक्ष केशव कँडेल यहाँ आफ्ना सन्तान पठाउनुअघि अभिभावक र स्वयम् विद्यार्थीले विचार पुर्‍याउन नसक्दा दुःख पाउने गरेको बताए। उनका अनुसार सुजबुझबिना आउनेले विभिन्न समस्या भोगेको पाइन्छ। आधिकारीक तथ्याङ्क नभए पनि एक लाख ५० हजारभन्दा बढी नेपाली अष्ट्रेलियाको विभिन्न सहरमा अध्ययन र काममा छन्। कँडेल सङ्ख्या बढिरहेको भन्दै गएको ६ महिनामा ४६ हजार विद्यार्थी यहाँ आएको बताउँछन्।  

सन् १९७५ देखि नेपाली अष्ट्रेलिया आउन थालेको बताइन्छ। यो क्रम क्रमशः बढ्दै आएको हो। पूर्वतयारी बिना आएका विद्यार्थी यहाँ रोजगारी नपाउने, क्याम्पस शुल्क तिर्न नसक्ने, बस्न–खानदेखि विभिन्न समस्या भोग्न बाध्य छन्। यससँगै परिवार र यहाँको दोहोरो दबाबका कारण मानसिक समस्यामा पर्ने गरेका छन्। 

यस्तै नक्कली बिहे, नक्कली लाइसेन्स र सीप नजानी प्रमाणपत्रमात्र बोकेर आउने जोकोहीका लागि अष्ट्रेलियामा समस्या बन्ने गरेको छ। मेलबर्नको एक प्रतिष्ठित अस्पतालमा कार्यरत अजिता दवाडी मानसिक समस्या बोकेर नेपाली विद्यार्थी आउने गरेको बताउँछन्। 

गैरआवासीय नेपाली महासङ्घ अष्ट्रेलियाका अध्यक्ष कँडेल नेपालीका लागि अष्ट्रेलिया महत्वपूर्ण गन्तव्य भएको भन्दै बुझेर आउनेका लागि भविष्य उज्वल भएको बताउँछन्। उनको भनाइमा नेपाली विद्यार्थी कम्तीमा स्नातक वा स्नातकोत्तर गरेरमात्र अष्ट्रेलिया आउनुपर्छ। आउनुअघि सीप लिएरै आउनुपर्छ। घरभित्रका नियमित कामदेखि सीपमा कफी बनाउने, वेटर, हाउसकिपिङ, फ्रन्टडेस्क, कार्यालय सहयोगी जस्ता कुनै न कुनै काम जानेकै हुनुपर्छ। यससँगै नक्कली नभएर गाडी चलाएर चालक अनुमतिपत्र लिएरै आउनुपर्ने उनको सुझाव छ। प्रमाणपत्रमात्र होइन काम जानेरै आउन सुझाव दिँदै उनी योग्यता र सीपमा दक्ष र सक्षम भएर आउनुपर्ने बताउँछन्। 

अष्टे«लियाका लागि नेपाली राजदूत महेशराज दाहालले यहाँका बारेमा आफैँ नबुझी सीपबिना आउनेहरुका लागि सुरुका दिनहरु निकै कठिन भएको भन्दै प्राविधिक र व्यावसायिक तालीम लिएर आउनुपर्ने बताउँछन्। सबै कामको यहाँ उत्तिकै सम्मान भएको भन्दै उनले कम्तीमा एउटा सीप भयो भने निकै सहज हुने बताए। नेपाली विद्यार्थीहरुले कुनै समस्या परेमा तत्काल राजदूतावास, गैरआवासीय नेपाली महासङ्घका प्रतिनिधिलगायत सँग सम्पर्क गर्न र यी सङ्घसंस्थाका वेबसाइट अध्ययन गर्न दाहालले सुझाव दिए। 

ख्याति प्राप्त विश्वविद्यालय छान्न र अध्ययनमा ध्यान दिनुपर्ने भन्दै कँडेलले कुन सहरमा आउने हो सो सहरका बारेमा राम्रोसँग अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिए। आफ्ना इष्टमित्र, साथीभार्इ भएको सहर छान्न, एक वर्षका लागि आवश्यक खर्च व्यवस्थापन गरेरमात्र आउन (करिब आठ हजार डलर) एक वर्षका लागि विश्वविद्यालय शुल्कको तयारी घरबाटै गर्न र अक्टोबरको सत्रमा नआउन कँडेलको सुझाव रहेको छ। रासस

प्रकाशित: २१ पुस २०७६ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App