७ वैशाख २०८१ शुक्रबार
समाज

आफूखुसी औषधि छाडे जोखिम

काठमाडौं-चावहिलका ५० वर्षीय भरत न्यौपाने कोलस्ट्रोलसम्बन्धी समस्याले ग्रस्त थिए। उनी मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको सिफारिसमा औषधि प्रयोग गर्दै थिए । दैनिक १० किमि अनिवार्य हिँड्न थाले।
केही समयपछि उनलाई आफू निको भएजस्तो लाग्यो । औषधि र व्यायाम दुवै बन्द गरे । तर, त्यसको बीस दिन नबित्दै एक्कासि सहनै नसक्ने गरी छाती दुख्न थाल्यो । परिवारले रातारात सहिद गंगालाल हृदयकेन्द्र लगे । जाँचपछि उनलाई हृदयघात भएको पत्ता लाग्यो । तुरुन्तै चिकित्सकले एनजिओग्राम (मुटुको थुनिएको भल्ब खोल्ने प्रक्रिया) गरे । ‘समयमै अस्पताल पुगेकाले बच्न सफल भएँ, टाढा भएको भए के पो हुन्थ्यो !,’ न्यौपाने धन्य मान्छन् ।
चिकित्सकको सल्लाहबिना आफूखुसी औषधि छाड्दा झन्डै ज्यान गएका उनी अहिले भने औषधि नियमित लिन भुल्दैनन् । ‘अब कहिल्यै आफूखुसी औषधि छाड्दिनँ,’ उनले भने, ‘कोलस्ट्रोल, उच्चरक्त चापका बिरामीले डाक्टरले नभनेसम्म औषधि छाड्न हुँदो रहेनछ ।’ न्यौपानेले आफूखुसी औषधि छाडेकैले उनलाई हृदयघात भएको डा. अनिल बताउँछन् । आफूकहाँ आउनेमध्ये ४० प्रतिशत बिरामी औषधि छाड्दा रोग बल्झिएकाहरू हुने उनले जानकारी दिए । ती बिरामी प्रायः उच्च रक्तचाप, उच्च कोलस्ट्रोल तथा मुटुरोगसम्बन्धी हुन्छन् ।  
औषधि र व्यायाम नियमित नगर्दा अधिकांश मधुमेह बिरामी संकटमा पर्ने गरेको अल्का अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमाली जोशीले बताए । ‘मधुमेहका ३०÷३२ प्रतिशतले औषधि नखाने सोचले नै छाडेका हुन्छन्,’ उनले भने, ‘त्यही कारण उनीहरू दृष्टिक्षमता गुम्ने, खुट्टा तथा मिर्गौला बिग्रिने र पक्षघातको सिकार हुन पुग्छन् ।’

मेट्रो काठमाडौं अस्पतालकी इन्डोक्राइनोलोजिस्ट डा. ज्योति भट्टराई पनि आफूकहाँ आउने बिरामीमध्ये १० प्रतिशत बिरामी आफूखुसी औषधि छाडेर थप जोखिममा परेका हुने बताउँछिन् ।
चिकित्सकका अनुसार बिरामीहरू सकेसम्म लामो समय औषधि खान नपरोस् भन्ने मानसिकताका कारण विकल्प खोजिरहेका हुन्छन् । अनेक बहानामा बीचैमा औषधि छाडिदिन्छन् । ‘पसलमा औषधि नपाएको, अस्पताल लैजाने मान्छे नभएको बहाना देखाइरहेका हुन्छन्,’ डा. अनिलले भने । ‘औषधि नखाने र नियमित जाँच नगर्ने बिरामी धेरै छन्, विकल्प खोज्ने क्रममा उनीहरू थप जोखिम झेलिसरहेका हुन्छन्,’ डा. जोशीले भने ।
छिमेकी, साथी वा आफन्तको बहकाउमा लागेर डाक्टरी उपचार छाडी अन्य उपाय खोज्दै औषधि नखाने पनि छन् । ‘रामदेवको योगा गरेको छु, किन औषधि खानुप¥यो भन्ने प्रवृृत्ति पनि छ,’ डा. अनिलले भने ।
चिकित्सक तथा बिक्रेताले औषधि प्रयोगबारे पर्याप्त परामर्श दिन नसकेका कारण पनि बिरामीले औषधि छाड्ने गरेको चिकित्सकको भनाइ छ । आफूखुसी औषधि छाड्दा उच्चरक्तचाप, कोलस्ट्रोल तथा मधुमेह र थाइराइडजस्ता दीर्घरोगले जप जटिलता जन्माउने उनीहरू बताउँछन् ।
 डा. अनिलका अनुसार मधुमेह नियन्त्रणमा नल्याए खुट्टा, आँखा, मिर्गौला बिग्रिनुका साथै पक्षघात हुन्छ। उच्च रक्तचाप र उच्च कोलस्ट्रोल तथा मुटुरोगले हृदयघात, मस्तिष्कघात निम्त्याउन सक्छ । ‘यस्ता बिरामीले औषधि छाडे अकालमा ज्यानै जान सक्छ,’ उनले भने, ‘दैनिक व्यायाम तथा खानपिनमा ध्यान दिए औषधि घटाउन सकिन्छ तर त्यो पनि चिकित्सकको सल्लाह नलिई आफूखुसी गर्नु हुँदैन ।’
विभिन्न किसिमका थाइराइडमध्ये अटोइम्युन थाइराइडमा औषधि नियमित खानुपर्ने डा. जोशी बताउँछन् । यस्ता बिरामीले आफूखुसी औषधि छाडे आँखामा रगत जम्ने, अन्धो हुने, पेट, छाला, प्रजनन स्वास्थ्यमा असर पर्छ ।
उच्च जोखिमयुक्त दीर्घरोग मानिने यी चारै समस्यामा चिकित्सकको निगरानीमा बसेर औषधि सेवन तथा व्यायाम र खानपान नियम पालना गरे चाँडै रोग नियन्त्रणमा आई सामान्य जीवन फर्कन सकिने पनि चिकित्सक बताउँछन् ।

ध्यान दिनुपर्ने कुरा

– नियमित चेकअप
– रोग नियन्त्रणमा आइसके पनि ६ महिना नियमित जाँच गर्ने  
– वर्षमा एकपटक अनिवार्य जाँच गर्ने
– खानपान र व्यायाममा नियमितता अपनाउने
– चिकित्सकको सुझावअनुसार औषधि प्रयोग गर्ने
– चिकित्सकको सुझावअनुसार मात्र औषधि छोड्ने या घटाउने

 

प्रकाशित: १९ असार २०७३ ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App