coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अवहेलनामा प्रहरीविरुद्ध मुद्दा

दाङ – अदालत परिसभित्रै प्रवेश गरी नेपाल कम्युनिस्ट पार्टी (नेत्रविक्रम चन्द ‘विप्लव’) का चार नेतालाई पक्राउ गरेको दाङ प्रहरीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। गत बुधबार धरौटी बुझाएर अदालतको आदेशअनुसार उनीहरू रिहा हुँदै थिए। त्यसै क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अदालत परिसरबाटै धरपकड गरी फेरि नियन्त्रणमा लियो। प्रहरीको सो कदमले अदालतको अवहेलना भएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराई तथा जिल्ला प्रहरी कार्यालयविरुद्ध मुद्दा दर्ता भएको हो। अदालत परिसरबाटै नियन्त्रणमा आएका विप्लव समूहका नेता तिलक परियार, एकराज चौधरी, धनबहादुर बोहरा र कुलबहादुर ओलीको परिवारले प्रहरीविरुद्ध मुद्दा हालेका हुन्।

घोराही–१७ की छिमा पुन, घोराही–१६ की शिवा बोहरा, तुलसीपुरकी सीता ओली र लमहीका उमिरलाल चौधरीले दायर गरेको मुद्दामा अदालतको अवहेलना गरेको भन्दै प्रहरीमाथि कडा कारबाही माग गरिएको छ। विपक्षीमाथि एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग गरिएको छ। अदालत हाताभित्र कोही कसैलाई पनि प्रहरीले नियन्त्रणमा लिन पाउँदैन। यसो गरे कानुनतः अदालतको अवहेलना ठहर्छ।

मुद्दा परेपछि अदालतले प्रहरीसँग लिखित जवाफ मागेको छ। अदालतले शुक्रबार प्रहरीलाई १५ दिनभित्र लिखित जबाफ पेस गर्न भनेको हो। ‘प्रहरीलाई घटना के हो ? सत्य तथ्यसहित लिखित जबाफ पेस गर्न अदालतले भनेको छ,’ अधिवक्ता रेशमराज गिरीले भने। अदालतको अवहेलना ठहरिएमा प्रहरीलाई एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना सजाय हुनेछ।

असोज ३० गते जिल्लाको राजपुर गाउँपालिकास्थित जंगलबाट नियन्त्रणमा लिइएका २१ जनामध्ये चार नेता गत बुधबार अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए। पक्राउ परेका २१ जनालाई जिल्ला अदालतले ७ पुसमा १५÷१५ हजार धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर प्रहरीले पुनः अदालत परिसरबाटै फरक मुद्दा लगाएर पक्राउ गर्ने तयारी गरेपछि उनीहरू पुस ७ गते धरौटी नबुझाई कारागार चलान भएका थिए।

आफन्तले धरौटी बुझाएपछि रिहा हुन लागेका चार नेताले अदालतको दर्ता चलानी कक्षमा सहीछाप गर्दैगर्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस क्रममा उनीहरूका परिवारमाथि प्रहरीले अदालतभित्रै हातपातसमेत गरेको थियो। ‘अदालतभित्रै मान्छे भकुरेर नियन्त्रणमा लिने कस्तो कानुन हो ?’ तिलक पुनकी पत्नी छिमाले भनिन्, ‘रिहा हुन आदेश दिएका व्यक्तिलाई यसरी जबरजस्ती अदालतभित्रैबाट पक्राउ गर्ने प्रहरीलाई कडाभन्दा कडा कारबाही होओस्।’

अदालत परिसरबाट पक्राउ परेका ती चार नेतालाई जिल्ला प्रहरी कार्यालय दाङले फरक घटनाका अभियुक्त बनाई अरू जिल्ला पठाइसकेको छ। उनीहरूसँगै ३० असोजमा पक्राउ परेका विप्लवका दाजु चन्द्रबहादुर चन्दसहित १७ नेता भने कारागारमै छन्। १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन अदालतले आदेश दिएको भए पनि पुनः पक्राउ पर्ने डरले उनीहरू धरौटी नबुझाई कारागार चलान भएका हुन्। उनीहरूविरुद्ध राज्यविरुद्धको संगठित अपराधअन्तर्गत मुद्दा लगाइएको छ।

प्रकाशित: २१ पुस २०७६ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App