४ वैशाख २०८१ मंगलबार
समाज

छाउगोठ भत्काउन गाउँगाउँमा प्रहरी

जुम्ला – कर्णाली प्रदेशमा छाउगोठ भत्काउन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। कर्णालीका कालिकोट, जुम्ला र मुगुस्थित जिल्ला प्रशासन कार्यालयहरूले छाउगोठ भत्काउन सादा पोशाकमा प्रहरी परिचालन गरेका हुन्।

कालिकोटका प्रहरी प्रमुख एवं डिएसपी श्यामबाबु ओलियाले छाउगोठको अवस्था बुझ्न गाउँगाउँमा प्रहरी परिचालन गरिएको बताए। ‘छाउगोठले महिलाको स्वास्थ्यमा गम्भीर असर पारेको छ। अब छाउगोठ रहँदैनन्,’ उनले भने। गाउँमा परिचालन गरिएका प्रहरीलाई छाउगोठ भेटिए भत्काउने निर्देशन दिइएको उनले बताए।

कालिकोटको नरहरिनाथ नगरपालिकामा १५ वटा छाउगोठ भत्काएको प्रहरीले जनाएको छ। अभियानका क्रममा छाउगोठमा बसेको भेटिए कानुनी कारबाही गर्ने प्रहरी प्रशासनले चेतावनी दिएको छ। कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले मुलुकी अपराधसंहिता २०७४ ले परिभाषित गरेको सामाजिक विभेद, भेदभाव तथा अपमानजनक व्यवहारविरुद्ध कानुनी व्यवस्था सम्बन्धमा आमनागरिकमा सचेतनामूलक अभियान सञ्चालन गरिने जानकारी दिए। उनले भने, ‘यहाँका छाउगोठ भत्काउन सरकार नै लागेकाले छाउगोठ बनाउनेलाई पनि कारबाही हुन्छ।’

जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे छाउपडी प्रथाका नाममा महिलामा िर अत्याचार भएकाले यसको उन्मूलनका लागि कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले छाउपडी प्रथा र अन्य भेदभाव तथा अपमानजनक व्यवहारविरूद्ध स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्। उनले जुम्लामा छाउगोठमा महिला बसेको नभेटिएको जानकारी दिइन्। ‘छाउगोठमा महिला नबसे पनि छाउपडी प्रथाबारे अन्धविश्वास हटाउनु जरुरी छ,’ उनले भनिन्। धर्मका नाममा छाउपडी प्रथाले प्रश्रय पाएको उनको भनाइ छ। ‘छाउपडी प्रथा मान्नेलाई कारबाही गर्छाैं,’ उनले भनिन्।

मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे छाउपडी प्रथा उनमूलनका लागि पहिलो चरणमा शिक्षक–विद्यार्थी र आमा समूहबीच छलफल थालिएको बताउँछन्। यससँगै छाउपडी गोठ भत्काउने, छाउपडी बार्ने र बार्न लगाउनेको सरकारी सेवा–सुविधा रोक्ने तथा अन्य सजाय दिने तयारी गरिरहेको उनको भनाइ छ। उनले जिल्लामा छाउपडी गोठ नभेटिएको बताए।

कर्णालीका ग्रामीण क्षेत्रका महिला महिनावारी भएका बेला घरभित्र बस्दैनन्। यस क्षेत्रमा महिनावारी हुँदा घरभित्र बसे देउता रिसाउने अन्धविश्वास छ। यस्तै महिनावारी भएका बेला दूध–दही खान नहुने र खाएमा गाई–भैंसीले दूध नदिने मान्यता छ। यस क्षेत्रमा महिला महिनावारी भएका बेला सातदेखि नौ दिनसम्म छाउगोठमा बस्ने गरेका छन्। कतिपय ठाउँमा भने गाई–भैंसी बस्ने गोठमा महिला बस्ने गरेका छन्। पूर्णिमा र पर्वका बेला भने खुला आकाशमा बस्ने गरेका छन्।

प्रकाशित: २१ पुस २०७६ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App