coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

क्यामेरामा देखिइन् ‘हिमालकी रानी’

दोलखाको रोल्वालिङ क्षेत्रमा क्यामेरा ट्रयापिङमा देखिएको हिउँ चितुवा। तस्बिर सौजन्य : गौरीशंकर संरक्षण क्षेत्र आयोजना

दाेलखा – दुर्लभ वन्यजन्तु  अध्ययनका  लागि जडान गरिएका क्यामेरामध्ये च्छोरोल्पा हिमतालभन्दा केही माथि पहाडको फेदीमा राखिएको एउटा स्वचालित क्यामेराले वयस्क हिउँ चितुवालाई यसैगरी तीन पटकसम्म कैद गर्छ। जब च्छोरोल्पा हिमतालभन्दा केही माथि आइपुग्छ, ‘हिमालकी रानी’ उपनामले परिचित हिउँ चितुवाको गतिविधि सुरु हुने गर्छ। आफ्नो क्षेत्रभरिको अवस्थिति बुझ्न उसले आङ तन्काएर केही सुँघिरहेको जस्तै दृश्यमा देख्न सकिन्छ।

गत असारदेखि भदौसम्मको कुरो हो यो। अध्यताहरूले रोल्वालिङ उपत्यकामा हिउँ चितुवा रहेको दाबी गरे पनि यसको प्रमाण भेटिएको थिएन। गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले यो क्षेत्रमा हिउँ चितुवासहित संरक्षित र अन्य वन्यजन्तुको अनुसन्धान गर्न रोल्वालिङ उपत्यका वरपर गत असारमा १२ ओटा स्वचालित क्यामेरा जडान गरेको थियो।

ती १२ मध्ये च्छोरोल्पानजिक राखिएको क्यामेराले यो सुन्दर र वयस्क पोथी हिउँ चितुवाका तीन पटकमा ५६ ओटा तस्बिर कैद गरेको छ। असार १५, भदौ २२ र भदौ २६ गते गरेर तीन पटक कैद भएका ५६ तस्बिरमा अध्ययनका लागि सजिलो हुने गरी यो हिउँ चितुवाका गतिविधि खुलेका छन्। च्छोरोल्पा हिमतालनजिक पहाडको फेदमा यो स्वचालित क्यामेरा राखिएको स्थान चौरीहरू आवतजावत गरिरहने क्षेत्र हो। यहीं राखिएको क्यामेराले हिमाली ब्वाँसोसमेत फेला पारेको थियो।

संसारमै लोपन्मुख सूचीमा पर्ने हिउँ चितुवा नेपालको हिमालय क्षेत्रमा तीन सयदेखि चार सय हाराहारीको संख्यामा रहेको अनुमान संरक्षणकर्मीहरूको छ। संरक्षणकर्मीहरू हिउँ चितुवालाई ‘हिमालकी रानी’ को उपमा दिन्छन्। ‘यो आफैंमा सुन्दर छ,’ गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले भने, ‘हिमाली भेगमा पाइने मांसाहारी पशुमध्ये सबैभन्दा ठुलो भएका कारण यसले हिमालका अन्य जीवजन्तुको संख्या नियन्त्रण गर्ने गर्छ, त्यसैले संरक्षणकर्मीहरू यसलाई हिमालको रानी भन्न रुचाउँछन्।’ यसअघि संरक्षण क्षेत्रकै तिब्बती सीमावर्ती गाउँ लप्चीमा एउटा हिउँ चितुवा फेला परेको थियो।

अध्ययनमा खटिएका संरक्षण क्षेत्रका अधिकारीहरूले रोल्वालिङ उपत्यकामा यो एउटामात्रै हिउँ चितुवा रहेको अनुमान गरेका छन्। ‘एउटा हिउँ चितुवाले त्यहाँ वरपरको आहारा खाने गरी ५० किलोमिटरसम्मको क्षेत्र ढाक्ने अनुसन्धानले देखाउँछ,’ रोल्वालिङ क्षेत्रमा वन्यजन्तुको अनुसन्धानमा ६ महिनासम्म खटिएको आयोजनाका टोली प्रमुख एवं अनुसन्धान अधिकृत विष्णुप्रसाद पाण्डेले भने, ‘त्यसैले च्छोरोल्पा हिमतालवरपरको यो क्षेत्रमा एउटा मात्र हिउँ चितुवा रहेको अनुमान गरेका हौं, रोल्वालिङ उपत्यकाभरि अरू पनि हुन सक्छन्।’

६ महिनासम्म जडान गरिएका क्यामेराहरूले यो क्षेत्रमा सातवटा संरक्षित वन्यजन्तुहरू फेला पारेको अध्ययन टोली प्रमुख पाण्डेले बताए। रोल्वालिङ उपत्यकाको दूधकुण्ड, च्छोरोल्पा र यलुङमा जडान गरिएको तीन ओटा क्यामेराले हिमाली ब्वाँसोका पाँच पटकसम्म गरेर २७ वटा तस्बिर खिचेको छ।

सबैभन्दा अनौठो प्रायः निगालोको झाडीमा मात्र देखिने संरक्षित रेडपाण्डालाई बेदिङमा जडान गरिएको क्यामेराले भुइँमा हिडिरहेको अवस्थामा खिचेको छ। ‘सामान्यतः रेडपाण्डा निगालोको झाडीमा भेटिन्छ,’ पाण्डेले भने, ‘तर बेदिङ गाउँभन्दा माथिल्लो भेगमा जडान गरिएको हाम्रो क्यामेराले भुइँमा हिँडिरहेको अवस्थामा फेला पा-यो।’

क्यामेरा ट्र्यापिङबाटै टोलीले नाँगाउँमा कस्तुरी, गौरीशंकर बेस–क्याम्प, बेदिङको र टाकुराको बेस–क्याम्प क्षेत्रमा राष्ट्रिय पन्छी डाँफे, मुनाल साथै आसामी रातो बाँदर फेला पारेको छ। यी सबै लोपोन्मुख जनावर रहेकाले सरकारले संरक्षण सूचीमा राखेको छ।

रोल्वालिङ उपत्यकामा तीन हजार सात सय ४२ देखि पाँच हजार ९१ मिटरसम्मको उचाइका १२ स्थानमा जडान गरिएका क्यामेरामध्ये ६ वटाले मात्र काम गरेको पाण्डेले सुनाए। ती क्यामेराले सात संरक्षित जनावरबाहेक रातो फ्याउरो, झारल, घोरल, मलसाप्रो, पितोदर मलसाप्रोसहित १५ प्रकारका स्तनधारी जनावर र चिलिमे, हिउँ–कुखुरा, हाँडीफोरसहित १२ प्रजातिका चराको तस्बिर खिचेको थियो।

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आइतबार सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरी रोल्वालिङ उपत्यकामा स्वचालित क्यामेराले लोपोन्मुख हिउँ चितुवासहित सात प्रकारका दुर्लभ वन्यजन्तु फेला परेको जानकारी गराएको हो। ‘अब यही अनुसन्धान प्रतिवेदनअनुसार रोल्वालिङ उपत्यकालाई संरक्षित जनावरको प्रमुख बासस्थानका रूपमा विकास गर्ने कार्यक्रम अघि बढाउछौं,’ आयोजना प्रमुख शाहले भने।

अध्ययन गरिएको रोल्वालिङ उपत्यका रहेको गौरीशंकर गाउँपालिकाका प्रमुख स्वयंबहादुर खड्काको अध्यक्षतामा आयोजनाले जिल्लाका अधिकारी र जनप्रतिनिधिलाई बोलाएर अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, नेपाली कांग्रेसका जिल्ला सभापति रुद्रबहादुर खड्कालगायतले दुर्लभ वन्यजन्तु।ंरक्षणको महत्त्व त्यहाँबाट जिल्लाले लिनसक्ने फाइदाका बारेमा बोलेका थिए।

प्रकाशित: २१ पुस २०७६ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App