७ वैशाख २०८१ शुक्रबार
अर्थ

घटेन माउ कुखुराको आयात

बनेपा - नेपालमै ब्रोइलरको माउ कखुरा (प्यारेन्ट स्टक) उत्पादन गर्ने दुई वटा ग्रान्ड प्यारेन्ट (जिपी) फार्म सञ्चालनमा रहे पनि विदेशबाटै प्यारेन्ट स्टक आयात गर्ने क्रम घटेको छैन। यतिखेर मुलुकमै कब भान्ट्रेस इन्क अमेरिकाको प्रत्यक्ष निगरानीमा कब–५०० जातको प्यारेन्ट स्टक उत्पादन भइरहेको छ। यो प्यारेन्ट स्टक उत्पादनका लागि कब नेपाल प्रालिले पाँचखाल र धुलिखेलमा जिपी फार्म सञ्चालन गरिरहेको छ। यस्तै, पाँचखाल–३, रामपुरमा पिबी पोल्ट्री प्रालिले एभियाजेन इन्कर्पोरेटेड, अमेरिकाको प्योरलाइन इन्डियन रिभर मिट ग्रान्ड प्यारेन्ट (जिपी) स्टकबाट इन्डियन रिभर (आइआर) जातको प्यारेन्ट स्टक उत्पादन गर्ने क्रममा रहेको छ।

पछिल्लो पटक जिपी ल्याएको पिबी पोल्ट्री फार्मले केही समयपछि उत्पादन थाल्दैछ। तर, ब्रोइलर प्यारेन्ट स्टकमा परनिर्भरता घटाउने उद्देश्यले सन् २०१४ को सुरुबाटै नेपालमा कब–५०० जातको ब्रोइलर प्यारेन्ट उत्पादन थालेको कब नेपालले पाँच वर्ष बितिसक्द पनि यहाँका ह्याचरीको मागअनुसार प्यारेन्ट स्टक उपलब्ध गराउन सकेको छैन। यही कारणले पुनः विदेशकै जिपी फार्ममा भर पर्नुपरेको ह्याचरी उद्योगीहरुको भनाइ छ।  

‘कब नेपाल जिपी फार्मका सबै सञ्चालकको आफ्नै ह्याचरी छ। उनीहरुले आफ्नो माग पूरा नहुँदासम्म बाहिरका ह्याचरीलाई प्यारेन्ट नै बेच्दा रहेनछन्। यही भएर कब–५०० चल्ला उत्पादन गर्ने थाइल्यान्ड र मलेसियाका जिपी फार्ममा भर पर्नुपर्ने बाध्यता रहेको छ,’ चितवनका पुराना ह्याचरी उद्यमीले गुनासो गरे। यो कुराको पुष्टि भन्सार विभागको चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्यांकलेसमेत पुष्टि गर्छ। सो अवधिमा थाइल्यान्डबाट करिब चार लाख र मलेसियाबाट ६४ हजार तीन सय ४४ गोटा कब–५०० जातको प्यारेन्ट स्टक नेपाल भित्रिएको छ।

विभागका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको अवधिमा ११ वटा मुलुकबाट सात लाख ७१ हजार गोटा प्यारेन्ट स्टक आयात भएको छ। यो सबै परिमाण नेपालका ह्याचरी उद्योगले आयात गरेका हुन्। भारत, थाइल्यान्ड, मलेसिया, श्रीलंका, बेलायत, फ्रान्स, डेनमार्क, क्यानडा, अमेरिका र न्यूजिल्यान्डलगायत मुलुकका प्यारेन्ट स्टक नेपाल आयात भएको हो। यिनमा ब्रोइकलर प्यारेन्टको बाहुल्य छ। भन्सारको अभिलेखमा नाम नै उल्लेख नभएको मुलुकबाटसमेत तीन हजार पाँच सय प्यारेन्ट स्टक आयात भएको देखिन्छ। यो अवधिमा सबैभन्दा बढी थाइल्यान्डबाट करिब चार लाख, बेलायतबाट ८२ हजार ६ सय ४०, न्युजिल्यान्डबाट ७३ हजार तीन सय पाँच, मलेसियाबाट ६४ हजार तीन सय ४४, भारतबाट ५९ हजार नौ सय २८ फ्रान्सबाट २७ हजार दुई सय ३२, श्रीलंकाबाट २० हजार सात सय पाँच, डेनमार्कबाट १६ हजार आठ सय ८०, अमेरिकाबाट १८ हजार नौ सय  १६ र  क्यानडाबाट १३ हजार आठ सय ४० गोटा प्यारेन्ट स्टक आयात भएको देखिन्छ।

चालु आर्थिक वर्षको पाँच महिनामा विदेशबाट प्यारेन्ट आयात हुँदा खरिद मूल्यबापत साढे ५४ करोड रुपैयाँभन्दा बढी विदेशिएको छ। यस्तै हवाई भाडावापत करिब १० करोड रुपैयाँ विदेशिएको छ। नेपालमा जिपी फार्म स्थापना हुने बेलामा मूल्यमा कमी र हवाई भाडामा बचत हुने तर्क दिइएको थियो। यस्तै, प्यारेन्ट स्टक आयातमा आर्थिक ऐनले नै हरेक वर्ष भन्सार छुट दिने गरेकाले सरकारलाई राजस्व आम्दानी हुने गरेको छैन। विदेशको प्यारेन्टमा भर पर्नु परेकोबारे चितवनका उद्यमीले भने, ‘कब भान्ट्रेसको निगरानीमा नेपालमै कब–५०० प्यारेन्ट स्टक उत्पादन भएपनि कम्पनीले माग अनुसार सप्लाई गर्न नसक्ने समस्या एकातिर रहेको छ। अर्कातिर ह्याचरी उद्योगीको ‘इगो प्रोब्लेम’ले पनि नेपालको प्यारेन्ट किन्नेभन्दा बाहिरबाटै ल्याउने चलन बढेको हो,’ उनले थपे।

पछिल्लो समय प्यारेन्ट स्टक (माउ चल्ला)मात्रै नभई यहीँ प्यारेन्ट उत्पादन गर्नका लागि जिपीको ह्याचेबल अण्डासमेत ल्याउने क्रम बढेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ६ वटा मुलुकबाट ह्याचेबल अण्डा नेपाल आयात भएको छ। यो अवधिमा दुई करोड २७ लाख मूल्यका एक लाख ३९ हजार ६ सय ४० गोटा आयात भएको हो। यसवापत भन्सार महसूल २२ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ। यस अवधिमा ह्याचरीले सबैभन्दा बढी फ्रान्सबाट ७९ हजार दुई सय, न्यूजिल्यान्डबाट ४० हजार एक सय ४०, भारतबाट २६ हजार, चेक रिपब्लिकबाट १५ हजार, बेलायतबाट पाँच हजार एक सय र थाइल्यान्डबाट दुई सय गोटा ह्याचेबल अण्डा नेपाल भिœयाएका हुन्।

कुखुरापालन क्षेत्रले मुलुकको कूल ग्राहस्थ उत्पादनमा करिब चार प्रतिशतले योगदान गर्दै आएको छ भने चार लाखको हाराहारीमा प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना गरिरहेको छ। पछिल्ला वर्षमा युवा जनशक्ति पलायन र जलवायु परिवर्तनलगायत कारणले मकै र भटमास मुलुकमै भनेजत्ति उत्पादन हुँदैन। कुखुराको दानामा सबैभन्दा बढी आवश्यक र मुख्य कच्चा सामग्री यिनै हुन्। मुलुकको उत्पादनले नधान्ने हुँदा यहाँका उद्योगीले भारतलगायत तेस्रो मुलुकबाट मकै र भटमास आयात गर्दै आएका छन्। बिडम्बना नै भन्नुपर्छ, दानाको मुख्य कच्चा पदार्थ मकै र भटमासको आयातमा पाँच प्रतिशत कृषि सुधार शुल्क लगाएको वर्तमान सरकारले ह्याचरी उद्योगले आयात गर्ने ह्याचेबल अण्डामा लाग्दै आएको भन्सार महसूलमा भने ५० प्रतिशत छुट दिएको छ। सरकारको यो निर्णयप्रति कुखुरापालनमा संलग्न किसानका संघसंस्थाले विरोध गर्दै आएका छन्।

तथ्यांकहरु मेल खाँदैन
बर्सेनि मुलुकमा आयात हुने ग्रान्ड प्यारेन्ट, प्यारेन्ट स्टक (ब्रोइलर र लेयर्स), ह्याचेबल अण्डा र एसएिएफ अण्डाको एकनासको तथ्यांक भेटिन्न। भन्सार विभाग, पशु सेवा विभागस्थित पशु स्वास्थ्य रोग अन्वेषण तथा क्वारेन्टाइन कार्यक्रम र नेपाल ह्याचरी उद्योग संघको तथ्यांक एक अर्कासँग पटक्कै मेल खाँदैन। प्यारेन्ट स्टक आयात सिफारिशमा सरकारी दस्तुर नलाग्ने भए पनि संघले ह्याचरीबाट रकम असुल्दै आएको छ।

नियमनकारी निकाय नभएको संघले मुलुक भित्रने र स्वदेशमै खरिद हुने प्यारेन्ट स्टकबाट प्रतिगोटा पाँच रुपैयाँका दरले ‘लेबी’ उठाउने भएकाले संघले आयातको रेकर्ड राख्ने गरेको ह्याचरीको भनाइ छ। उता, आयातकर्ताले भन्सार कार्यालयमा घोषणा गर्नेे शीर्षक र उपशीर्षकका कारण पनि तथ्यांकमा फरक देखिने गरेको हो। यस्तै, पशु सेवा विभागको आयात निर्यात सिफारिश प्राविधिक समितिबाट जारी सिफारिशअनुसार प्यारेन्ट स्टक आयात नहुँदा पनि तथ्यांकमा घटीबढी हुने गरेको पाइन्छ।

प्रकाशित: २१ पुस २०७६ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App