coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

केन्द्रको विरोध नगरे पनि सांसद असन्तुष्ट

मकवानपुर – स्थायी राजधानी र नामबारे छलफल गर्न तीन दिनदेखि जारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश ३ संसदीय दलको बैठक बिनानिष्कर्ष स्थगित भएको छ। तीन दिनसम्म चलेको बैठकमा प्रदेश स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्ने नेकपा केन्द्रीय सचिवालयको निर्णयको सिधै विरोध नगरे पनि काभ्रे र आसपासका नेकपाकै सांसदले असन्तुष्ट देखिएका छन्।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसहित ६४ जना सांसदले भनाइ राखे पनि स्पष्ट निर्णय भइनसकेको नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँलले बताए। ‘बैठकमा मुख्यमन्त्री, पार्टीकी प्रदेश इन्चार्ज एवं सांसद अष्टलक्ष्मी शाक्यलगायतले धारणा राख्नुभएको छ,’ उनले भने, ‘बैठक पुनः मंगलबार बजे बस्नेगरी स्थगित भएको छ, राजधानी र नामबारे फेरि छलफल गर्नेछाैं।’

प्रदेश सांसदले प्रदेश स्थायी राजधानीका विषयमा हेटौंडाको पक्ष र विपक्षमा आ–आफ्नो धारणा व्यक्त गरेका छन्। केही सांसदले पार्टी सचिवालयको स्थायी राजधानी हेटौंडा र नाम बागमती हुने निर्णयलाई लिएर आपत्ति जनाए पनि पार्टीको निर्णय र निर्देशनविरुद्ध नजाने बताएका छन्। प्रदेशको स्थायी राजधानी र नामकरणलाई पार्टी केन्द्रीय सचिवालयको निर्णयलाई सबै सांसद सर्वसम्मत गराउन मुख्यमन्त्री पौडलको टोली डटेर लागेको छ। तर पार्टीकी प्रदेश इन्चार्ज एवं सांसद अष्टलक्ष्मी शाक्य, पूर्वमन्त्री केशव स्थापित, काभ्रे र आसपासका सांसद भने केन्द्रले प्रदेश सभा र सांसदको अधिकार हस्तक्षेप गरेकोमा तिव्र असन्तुष्ट हुँदै स्थायी राजधानी काभ्रे बनाउनुपर्ने पक्षमा रहेको स्रोतको दाबी छ।

पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न चौतर्फी दवाब पनि बढेको छ। स्थायी राजधानी हेटौंडा राख्ने र नाम बागमती हुने नेकपा केन्द्रीय सचिवालयको बैठकविरुद्ध कडा प्रतिक्रिया दिएका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले बैठकमा भने लचिलो रुपमा प्रस्तुत भएको स्रोतले जनायो। ‘राजधानी र नामबारे अझै छलफल गर्न जरुरी छ,’ स्थापितलाई उद्धृत गर्दै स्रोतले भन्यो।

काभ्रेका सांसद लक्ष्मण लम्सालले राजधानी र नामबारे पार्टी केन्द्रीय सचिवालयले गरेको निर्णयप्रति असन्तुष्टि व्यक्त गरे। ‘स्थायी राजधानी र नामबारे पार्टी केन्द्रले गरेको निर्णय विधि सम्मत छैन,’ स्रोतले भन्यो। धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले राजधानीको विषयले दीर्घकालसम्म महत्व राख्ने भएकाले अझै छलफल गर्नुपर्ने बताए। ‘हाम्रा सन्ततिले एक सय वर्षपछि पनि हाम्रो क्षमताको मूल्यांकन गर्ने भएकोले अझै छलफलको आवश्यकता छ,’ उनले भने।

चितवनका सांसद कृष्ण खनालले पार्टीको निर्णय लागू गरिनुपर्नेमा दुई मत नरहेकोमा जोड दिए। सिन्धुलीका सांसद विनोदकुमार खड्काले बैठकमा जति नै विरोध गरे पनि कम्युनिस्ट पार्टीको कार्यकर्ता भएपछि केन्द्रको निर्णय मान्नैपर्ने तर्क गरे। ‘बैठकमा जे कुरा बोले पनि पार्टी हाइकमाण्डको निर्णय मान्नैपर्छ, सचिवालयकै निर्णय नै अन्तिम हुन्छ,’ उनले भने।

पार्टी केन्द्रले स्थायी राजधानी र नामबारे निर्णय गरेपछि छलफल र निर्णय गर्न सोमबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ। प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै सभामुख सानुकुमार श्रेष्ठले बैठकमा राजधानीसम्बन्धी प्रस्ताव पेस तथा छलफल हुने र लगत्तै प्रस्ताव निर्णयार्थ पेस गर्ने बताए।

‘समितिले सिफारिस गरेको स्थानमध्ये स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधिको अनुसूची १ बमोजिमको ढाँचामा प्रस्ताव दर्ता हुन्छ,’ उनले भने, ‘दर्ता भएको स्थानमध्ये बर्णानुक्रमको आधारमा मतदान हुन्छ, जहाँ दुईतिहाइ मत पुग्छ त्यही स्थायी राजधानी हुन्छ।’

सोमबारै प्रदेश नामांकरण सम्बन्धी कार्यविधि प्रदेश सभा बैठकमा पेस हुनेछ। प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पनि सोमबारै निर्णयार्थ प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयको तयारी छ। सभामुख श्रेष्ठका अनुसार प्रदेशसभा सचिवालयले त्यस्तो तयारी गरेपनि अन्तिम निर्णय भने सोमबार विहान बस्ने कार्यब्यवस्था परामर्श समितिले तय गर्ने छ।

विशेष समितिले बर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तताका आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको थियो। संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमतले निर्णय गर्ने उल्लेख छ। १ सय १० सांसद रहेको प्रदेशसभामा नेकपाका दुईतिहाइ बढी अर्थात् ८० सांसद छन्। त्यस्तै, नेपाली कांग्रेसको २२, विवेकशील साझा, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्रगरी आठ सांसद रहेका छन्।

प्रकाशित: २१ पुस २०७६ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App