७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘डढेलो महिनौंसम्म नियन्त्रणमा नआउन सक्छ’

डढेलोको कारण ध्वस्त भिक्टोरियाको बेन्र्सडाले क्षेत्रको हवाई दृश्य। तस्बिर ः एजेन्सी

सिड्नी – देशमा लागेको विनाशकारी डढेलो महिनौंसम्म नियन्त्रणमा आउन नसक्ने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोर्रिसनले चेतावनी दिएका छन्। डढेलोमा परी ध्वस्त भएका घर तथा व्यापारको पुनर्निर्माणका लागि एउटा निकाय खोल्ने घोषणा पनि प्रधानमन्त्री मोर्रिसनले गरेका छन्।

देशमा तीन महिनाभन्दा लामो समयदेखि जारी डढेलो नियन्त्रणका लागि उचित प्रतिक्रिया नदिएको भन्दै प्रधानमन्त्री मोर्रिसनको चौतर्फी आलोचना भइरहेकै बेला उनको यस्तो घोषणा आएको हो। प्रधानमन्त्री मोर्रिसनले शनिबारमात्रै डढेलो नियन्त्रणका लागि थप तीन हजार सैनिक परिचालन गर्ने घोषणा गरेका थिए। अस्ट्रेलियाको इतिहासमा प्राकृतिक प्रकोप नियन्त्रणमा सहयोग गर्नका लागि यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको पहिलो पटक भएको अस्ट्रेलियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

तापक्रम र हावाको गतिमा कमी र हल्का वर्षा भएपछि भिक्टोरिया र न्यु सायथ वेल्सको अवस्था भने आइतबार केही सहज भएको अधिकारीहरुले बताएका छन्।

सेप्टेम्बर महिनादेखि सुरु भएको अस्ट्रेलियाली डढेलोमा परी हालसम्म कम्तीमा २४ जनाको मृत्यु भइसकेको छ। डढेलोका कारण उत्पन्न धुवाँले गर्दा यसै साता राजधानी क्यानबेराको हावाको गुणस्तर विश्वकै सबैभन्दा खराब मापन गरिएको छ। अस्ट्रेलियाको डढेलोका कारण यो साता झनै अवस्था खराब भएको विभिन्न सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। यो साता थप सयौंको संख्यामा संरचना ध्वस्त भएको बताइएको छ। ग्रामीण गाउँ र देशका प्रमुख सहरका आकास डढेलोको धुवाँका कारण रातो देखिएको बताइएको छ।

तापक्रम र हावाको गतिमा कमी र हल्का वर्षा भएपछि भिक्टोरिया र न्यु सायथ वेल्सको अवस्था भने आइतबार केही सहज भएको अधिकारीहरुले बताएका छन्। यद्यपि प्रशासनले भने सो क्षेत्रमा विद्यमान खतरा भने कम नभएको चेतावनी दिएको छ। ‘हामी अनावश्यक भूभागमा छौं,’ न्यु साउथ वेल्सका प्रिमियर ग्लादिस बेरेजिक्लियनले भने, ‘यस्तो अवस्था पहिले पनि आएको थियो भनेर हामी नाटक गर्न सक्दैनौं।’

‘भिजिबिलिटी ५० मिटरमा आइपुगेको छ र हामीले आकासबाट कैयौं भग्नावशेषका साथै सेतो खरानी झरिरहेको देख्यौं,’ आफ्नो श्रीमतीसहित डढेलो प्रभावित ग्रामीण एडेन क्षेत्रबाट सुरक्षित स्थानान्तरण गरिएका ७३ वर्षीय जोन स्टिलले फ्रान्सेली समाचार एजेन्सी एएफपीसँग भने, ‘अझै पनि आकास रातै छ। हामी अझै जंगलबाट बाहिर आउन सकिरहेका छैनौं।’

डढेलोको मुस्लो न्युजिल्यान्डसम्म पुग्यो
अस्ट्रेलियामा लागेको डढेलोका कारण उडेको धुवाँको मुस्लो न्युजिल्यान्डसम्म पुगेको छ। डढेलोका कारण उठेको धुवाँको मुस्लोले न्युजिल्यान्डको अकल्यान्ड सहरको आकास ढाकेको अधिकारीहरुले आइतबार बताएका छन्। न्युजिल्यान्डको जलवायु तथा मौसम विभागले तास्मान समुद्रिक क्षेत्र हुँदै मुस्लो न्युजिल्यान्डतर्फ आएको जनाएको छ। अस्ट्रेलियाको डढेलोबाट धुवाँको मुस्लो आएको यो दोस्रो पटक भएको न्युजिल्यान्डका अधिकारीहरुले जनाएका छन्।

धुवाँको मुस्लोले उत्तरी आइसल्यान्ड र दक्षिणी आइसल्यान्डको माथिल्लो भागलाई पनि ढाकेको अधिकारीहरुले जनाएका छन्। त्यस क्षेत्रका बासिन्दाले धुँवाको गन्ध थाहा पाउने अवस्था रहेको मौसम विभागका अधिकारीहरुको भनाइ छ। यसले दीर्घकालीन असर भने नपर्ने बताइएको छ।

प्रकाशित: २१ पुस २०७६ ०१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App