८ वैशाख २०८१ शनिबार
राजनीति

सभापतिले पार्टीलाई विधिहिन बनाउन खोजे : केसी

पोखरा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विधिहिन् बनाउन खोजेको आरोप लगाएका छन्। प्रेस यूनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले नेकपाको सरकारलेजस्तै पार्टी सभापतिले पनि विधिहीन बनाउन खोजेको आरोप लगाएका हुन्। सभापतिले एकलौटी गर्न खोजेको भन्दै उनले बहुमतको आधारमा विधान लत्याएको स्वीकार्य नहुने बताए। उनले नेता रामचन्द्र पौडेलजस्तै पार्टी सभापतिले चालेको एकपक्षीय कदमको आफूहरूले पनि विरोध गरेको बताए। सभापतिको कदम नसच्चिएसम्म आफू पनि पार्टीको बैठकमा नजाने अडानसमेत उनले व्यक्त गरे।

नेता केसीले छिट्टै सहमतिको बिन्दु भेटिने विश्वास व्यक्त गरे। ‘सधैं यसरी जाँदैन, प्रयास भइरहेकै छ। पक्कै पनि सहमतिको बिन्दु भेटिन्छ,’ उनले भने। नेतृ सुजाता कोइरालाले भनेजस्तो कांग्रेसलाई भोट हाल्दा हात काँप्ने स्थिति नभएको भन्दै कोइरालाले कुन विषय र प्रसंगमा त्यस्तो भनेको हो त्यो आफूलाई जानकारी भएको बताए।

नेता केसीले नेकपा नेतृत्वको सरकारले संविधानलाई रक्षा कवच बनाएर भ्रष्टचारको दलदलमा देशलाई फसाएको आरोप लगाए। भ्रष्टाचार, मूल्य वृद्धि र करको भारका कारण जनता आक्रान्त भएको उनले बताए। उनले भ्रष्टाचारमा जो संलग्न भए पनि कारबाही हुनुपर्ने बताए। कुन पार्टी र त्यसको के हैसियत छ भनेर होइन, ‘उनले भने, ‘एनसेल, वाइड बडी, गोकर्ण रिसोर्टदेखि बालुवाटारकाण्डसम्ममा जो–जो मुछिएका छन् उनीहरूलाई कारबाही गरे हुन्छ।’ उनले अरु पार्टीका नेतालाई देखाएर आफ्ना पार्टीकालाई चोख्याउन खोजेको आरोप लगाए। निष्पक्ष ढंगले छानबिन गरेर कारबाही गर्ने आँट गरे भ्रष्टाचारमा जोकोही परे पनि कांग्रेसले सहयोग गर्ने उनले बताए।

प्रकाशित: २१ पुस २०७६ ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App