६ वैशाख २०८१ बिहीबार
राजनीति

१ नम्बर प्रदेशका दलित जनप्रतिनिधि इलाममा भेला हुँदै

इलाम– दलित जनप्रतिनिधिको प्रदेश नम्बर १ स्तरीय भेला तथा ‘दक्षिण एसियाली दलित मिट–२०७६’ सदरमुकाममा आयोजना हुने भएको छ।

जिल्लाका दलितआबद्ध सम्पूर्ण संघ–संस्थाले संयुक्त रूपमा आउँदो माघ २४ र २५ गते भेला आयोजना गर्ने भएका हुन्। 

भेलामा प्रदेशभरका साढे ३ सय दलित जनप्रतिनिधि सहभागी हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। दलित समुदायका संघीय सांसद्, प्रदेश सांसद्, जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष र कार्यपालिका सदस्यहरू भेलामा सहभागी हुनेछन्।

आयोजक मूल समारोह समिति संयोजक नवराज शंकरले इलामका गाउँ–नगरका दलित समुदायका सदस्यहरू चाहिँ सबै सहभागी हुने बताए। ‘व्यवस्थापन गर्न गाह्रो हुने देखिएकाले प्रदेशभरका स्थानीय तहमा निर्वाचित सबै दलित सदस्यलाई सहभागी गराउन सकिएन,’ उनले भने, ‘तर, १ नम्बरबाहेक ६ वटा प्रदेश तथा भारत र भुटानबाटसमेत १ सय आमन्त्रित सहभागी भेलामा आउने छन्।’

सदरमुकामको ठूलो टुँडिखेलबाट सुरु हुने नौमती र झाँकीसहितको र्‍याली गौतमुद्ध सभागृहमा पुग्नेछ।  इलाम क्षेत्र नम्बर २ का सांसद सुवासचन्द्र नेम्बाङले भेला उद्घाटन गर्नेछन्।

त्यही अवसरमा नेम्बाङले संविधान र कानुन निर्माणमा दलितका सबालबारे आफ्नो धारणा राख्ने कार्यक्रम तय गरिएको शंकरले बताए। उद्घाटनका दिन ‘दलित महिलाः अवसर, सम्भावना र चुनौती’ विषयमा सांसद् तथा दलित अगुवाहरू लक्ष्मी परियार, अनिता परियार र दुर्गा सोबबीच बहस हुनेछ। त्यसै दिन ‘दलित युवाः उद्यमशीलता र रोजगारी’ विषयमा अशोक शंकरबीच बहस हुनेछ भने महावीर विश्वकर्माले एकल साहित्य वाचन गर्नेछन्। साँझ सांस्कृतिक कार्यक्रम राखिएको छ। 

दोस्रो दिन प्रदेशका १४ वटै जिल्लाका जनप्रतिनिधिका टोलीनेताले स्थानीय तहको समीक्षात्मक अनुभव प्रस्तुति गर्ने कार्यक्रम तय भएको आयोजक समितिले जनाएको छ। ‘स्थानीय तहमा अहिलेसम्म दलित जनप्रतिनिधिले के गरिरहेका छन्, उनीहरूको अनुभव के छ भन्ने विषयमा समीक्षा गरिनेछ,’ उनले भने, ‘नयाँ संविधानको भावना र मर्मअनुसार यो समुदायका मुद्दा सम्बोधन भए/नभएको अनुभव जनप्रतिनिधिले बताउनुहुनेछ।’

त्यही दिन नेपालमा जातपात र छुवाछूत’बारे विश्वभक्त दुलाल (आहुति), ‘नेपालको दलित आन्दोलनः विगत, वर्तमान र भविष्य’बारे गणेश विक तथा दलित समुदायः आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको सबाल विषयमा याम किसानले विचार राख्नेछन्। ‘दलित समुदायको समस्या र राज्य’ विषयमा सांसदद्वय छविलाल विश्वकर्मा र मीन विश्वकर्मा तथा विनोद पहाडीबीच बहस हुनेछ। भेलाले इलाम घोषणापत्र जारी गर्ने आयोजक समितिले जनाएको छ। 

भेला आयोजना गर्न शंकर संयोजक र प्रकाश परियार सदस्य–सचिव रहेको १ सय ५१ सदस्यीय मूल समारोह समितिसहित ९ उपसमिति गठन गरिएको छ। २६ लाख ७५ हजार रुपैयाँ खर्च अनुमान गरिएको भेलाका लागि १ नम्बर प्रदेश सरकार, इलामका स्थानीय तह, संघ–संस्था र सहभागीको दर्ता शुल्कबाट आर्थिक स्रोत संकलन गरिने शंकरले जानकारी दिए।

प्रकाशित: २० पुस २०७६ १२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App