६ वैशाख २०८१ बिहीबार
अर्थ

समन्वय समितिको मनोमानीः यसरी दुरुपयोग गर्छन् करोडौंको सरकारी सम्पती

ओखलढुंगा–जिल्ला समन्वय समिति ओखलढुंगामा रहेको करोडौ मूल्य बराबरको सरकारी सामान दुरुपयोग गरिएको पाईएको छ।

समन्वय समितिमा रहेको करोडौ मूल्य बराबरको तारजाली, जालिबुन्ने रोलतार, खानेपानी पाईप, चारपाङ्ग्रै तथा दुई पाङ्ग्रे सेवारी साधन, ल्यापटप डेक्सटप कम्युटर, फर्निचर लगायतका विद्युतीय तथा निर्माण सामाग्रीहरु समितीले आफुखुशी व्यक्ति तथा संस्थालाई वितरण गरेको हो। 

कार्यायलयले ८ करोड ४० करोड पर्ने तयारी तार जाली समेत सिधै व्यक्ति तथा संस्थालाई दिएको छ। सिधै दिंदा अनियमितताको आशंका छ। त्यस्तै १२ लाख भन्दा बढी मूल्यको खानेपानी पाईपसमेत समितीले विभिन्न व्यक्तिलाई वितरण गरेको छ। उक्त पाईप तत्कालिन जिल्ला समन्वय अधिकारी नारायण प्रसाद मैनालिले सिधै वितरण गरेका हुन्। 

तार जाली र जालिबुन्ने तारको रोल जिल्ला समन्वय समितीका सभापति जयबहादुर श्रेष्ठले वितरण गरेका हुन्। समन्वय समितीमा रहेको सामाग्री लैजाने सबैभन्दा बढी समितीकै सदस्यहरु संगै उनीहरुका आफन्तहरु र कर्मचारी बढी छन्। समितिका सदस्यहरु सिता सार्की, विजय लामा, सुन्तला परियार, रामचन्द्र बोगटी, निरबहादुर थापा र होमबहादुर विक आफैले पनि समितीको सरकारी सवारी साधन र तारजाली, पाईप, निर्माण सामाग्री लगायतका सामाग्रीहरु दुरुपयोग गरेका छन्। 

जिल्ला समन्वय अधिकारी जयबहादुर श्रेष्ठ र उपप्रमुख दीलकुमारी खतिवडा, तत्कालीन जिल्ला समन्वय अधिकारी नारायणप्रसाद मैनालीलगायत सदस्यहरूले सरकारी सम्पत्ती दुरुपयोग गरेको तथ्य बाहिरिएको छ।

यता प्रमुख श्रेष्ठले आवश्यकता र मागको आधारमा आफूले ती सामग्री वितरण गरेको दाबी गर्दै आएका छन्। उनी जिल्लामा नभएको समयमा २०७५ चैत १४ गते कार्यबाहक प्रमुख दीलकुमारी खतिवडाको अध्यक्षतामा बैठक बसेर समितिले स्टोरमा बाँकी रहेको तारजाली, पाइलगायत जिन्सी सामग्री तत्कालीन समन्वय अधिकारी मैनालीलाई वितरण गर्ने अधिकार दिएका थिए। बैठकले सो मितीभन्दा अगाडि बाँडिएको सामग्रीको अनुमोदनसमेत गरेको छ। 

प्रमुख श्रेष्ठ र समन्वय अधिकारी मैनालीले होडबाजीमा सामान बाँडेर सकेका हुन्’ स्रोतले भन्यो, ‘जिल्ला समन्वय समितिमा लापरबाही हुनुको प्रमुख कारण पदाधिकारीबीचको द्वन्द्व हो।’ प्रमुख श्रेष्ठ जिल्ला बाहिर गएको समयमा उपप्रमुख खतिवडाको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरू ओमकुमारी दाहाल, सुन्तला परियार, होमबहादुर विक, विजय लामा, निरबहादुर थापा मगर, रामचन्द्र बोगटी र सीता सार्की सहभागी थिए। स्रोतका अनुसार समन्वय समितिका सदस्यहरूले दामासाही भाग गरेर समान लगेका थिए। उनीहरूले लगेको सामान आफन्त र नजिकका कार्यकर्तालाई बाँडेका थिए ।

सवारीसाधनको दुरुपयोग

जिल्ला समन्वय समिति ओखलढुंगाले नियम विपरित सरकारी सवारी साधनको समेत दुरुपयोग गेरेका छ। समितिले विभिन्न स्थानीय तह तथा व्यक्तिलाई समेत सरकारी सवारी साधन वितरण गरेको पाइएको छ। 

जिल्ला समन्वय समितिले बाँडेको बा १ व ९५३४ नम्बरको डिस्कोभर मोटरसाइकल सुनकोसी गाउँपालिकाको सिस्नेरीमा बेवारिसे अवस्थामा फेला परेको छ। उक्त मोटरसाईकल समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठमार्फत वितरण भएको हो।

जिल्ला समन्वय प्रमुख श्रेष्ठ र तत्कालीन जिल्ला समन्वय अधिकारी नारायणप्रसाद मैनालीले एउटा टाटा सफारी गाडी सहित दश वटा मोटरसाइकल व्यक्ति तथा स्थानीय तहलाई वितरण गरेका थिए। २०७६ असार ८ गते जेष्ठ सदस्य ओमकुमारी दाहालको अध्यक्षतमा समितिको बैठक राखी समन्वय अधिकारी मैनालीले एउटा टाटासफारी गाडी मानेभञ्ज्याङ गाउँपलिकालाई दिएका छन्।

गाडी सञ्चालन र मर्मत गर्न स्रोत नभएको भन्दै गाडी सोझै गाउँपालिकालाई दिइएको हो। यसका साथै समन्वय समितिका पदाधिकारी र अन्य व्यक्तिले समेत सरकारी मोटरसाइकल दुरुपयोग गरिरहेका छन्। पाँच वटा सरकारी मोटरसाइकल जिल्ला समन्वय समितिका पाँच जना सदस्यले प्रयोग गरि रहेका छन्। समितिका सदस्यहरु होमबहादु विकले स १ व ४६१ नम्बरको मोटरसाईकल, विजय लामाले बा १ व ७६८३ नम्बरको मोटर साईकल, निरकुमार थापा मगरले बा १ व ९०७६ नम्बको मोटरसाईकल र सुन्तला परियारले बा १ व ५३१० नम्बरको यामाहा रेजेटर स्कुटी लगेका छन्। 

तीन जनालाई समन्वय अधिकारी मैनाली र दुई जनाले समन्वय प्रमुख श्रेष्ठमार्फत लगेको जिसस श्रोतले जनाएको छ। सदस्यहरुले प्रयोग गरेको मोटरसाइकलको सदुपयोग भन्दा दुरुपयोग बढि भएको स्थानीयले बताएका छन्। उनीहरुले उक्त मोटरसाइकलहरु व्यक्तिगत कामका लागि प्रयोग गरेको स्थानीयको भनाई छ। अधिकांश सवारी चालक अनुमती पत्र समेत नभएका सदस्यले पनि मोटरसाईकल लगेका छन्।

जिल्ला समन्वय समितिबाट मानेभञ्ज्याङ्ग गाउँपालिका सरुवा भएर गएका तत्कालिन सवओभरसियर बैधनाथ यादवले प्रयोग गरेको मोटरसाइकल उनले सँगै लिएर गएका छन्। समन्वय अधिकारी मैनालीको सहमतीमा यादवले सरुवा भएको ठाउँमा आफुले प्रयोग गरेको सरकारी मोटरसाइकल सँगै लिएर गएका हुन्।

यसका साथै सुनकोशी गाउँपालिका–७ ले दुई ओटा र वडा नं.८ ले एउटा जिल्ला समन्वय समितिको सरकारी मोटरसाइकल लिएर प्रयोग गरिरहेका छन्। हाल चार वटा बिग्रिएको मोटरसाइकल जिससको स्टोरमा थन्किएका छन्। त्यसबाहेक चालु अवस्थामा रहेको एउटा मात्र मोटरसाइकल जिससका कर्मचारीले प्रयोग गरेका छन्।

जिल्ला समन्वय समितिका उपप्रमुखसहित दुई जना सदस्यले प्रदेश सरकारले तोकेको यातायात खर्चबाहेक सवारी साधन सुविधाका लागि लिएका छैनन्। उपप्रमुख दिलकुमारी खतिवडा र सदस्यहरु ओम कुमारी दाहाल र सीता सार्कीले सवारी साधन सुविधा नलिएका हुन्।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं.१ ले जिल्ला समन्वय प्रमुख, उपप्रमुख र सदस्यहरुका लागि तोकेको सुविधाभन्दा विपरित पाँच जना सदस्यले सरकारी मोटरसाईकल प्रयोग गरिरहेका छन्। समितिका सदस्यले यातायात खर्चवापत मात्र मासिक चार हजार पाउने व्यवस्था छ। तर कुनै सरकारी सवारी साधन सुविधाकालाई प्रयोग गर्न पाउने छैनन्।

सामानको दुरुपयोग बढी

जिल्ला समन्वय समितिले वितरण गरेको सामग्रीहरुको सही सदुपयोग पनि भएको देखिँदैन। वितरण गरिएका तारजाली व्यक्तिले बाख्रा तथा कुखुराका खोर बनाउन, बारबेर गर्न, व्यक्तिगत पर्खाल लगाउन तथा कतिले घरैमा स्टोर गरेको भेटिएको छ।  यो खोलाखोल्सा तथा पहिरो रोकथामका लागि प्रयोग हुने जालीको दुरुपयोग हो।

मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्साका वडाध्यक्ष उमेश कार्कीले त्यस्ता समाग्रीहरुको चरम दुरुपयोग भएको बताएका छन्। ‘वर्षामा बाढी–पहिरोले स्थानीयको घर जोखिममा पर्दा रोकथामका लागि तारजाली पाइएन, अहिले स्थानीयले दुरुपयोग गरेका छन्’ उनले भने।

त्यस्तै त्यस्ता जालीहरु ठेकेदारहरुलाई बिक्रि गरिएको पनि देखिएको छ। ओखलढुंगाका निर्माण व्यवसायी संघका अध्यक्ष विनोद ताम्राकार पनि उक्त काममा मुछिएका छन्। 

केही समय अघि जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले पत्रकार सम्मेलन गरी कति सामग्री वितरण भए भन्ने यकिन तथ्यांकसमेत नभएको बताएका थिए। सबै यथार्थ पत्ता लगाउन आफ्नातर्फबाट समेत अध्ययन थालिएको सभापति श्रेष्ठले बताइएका थिए। 

आफ्नो क्षेत्रका नागरिकलाई बाँड्नका लागि समन्वयका सदस्यहरुकै मागको आधारमा सामाग्री वितरण गरिएको तत्कालिन समन्वय प्रमुख नारायण प्रसाद मैनालीले बताए। उपप्रमुख लगायत सदस्य र केहि गाउँपालिकाका जनप्रतिनिधीहरुले मागेकाले तारजाली, रोलतार, पाईप, हम्मर लगायतका निर्माण सामाग्री वितरण गरको उनको भनाई छ। ‘समन्वय प्रमुखले मात्र एकलौटी सामान बाडेपछी सदस्यहरुले गुनासो गरे’ उनले भने ‘आ–आफ्नो क्षेत्रका नागरिकलाई बाड्ने गरि समन्वयका सदस्यहरुले सामान मागेपछि दिएको हुँ।’ 

हिनामिनाबारे छिट्टै जानकारी

यता जिल्ला समन्वय समिति प्रमुख जयबहादुर श्रेष्ठले भने समिति भित्रको हिनामिनाबारे आफुले चाँडै  पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएका छन्। यस विषयमा उनले कुनै प्रतिक्रिया दिन मानेनन्। 

प्रकाशित: २० पुस २०७६ ०९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App