coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आफैँ बिरामी भएको जाजरकोट अस्पतालको उपचार कहिले ?

जनशक्ति र उपकरणको अभावले आफैं बिरामी भएको जाजरकोट अस्पताल। तस्बिर:जनक/नागरिक

जाजरकोट- केहि समयअघि सुदूरपश्चिबाट जाजरकोटमा पढ्न आएकी एक छात्रा पेट दुखेर उपचारका लागि साथीहरुको सहयोगमा जाजरकोट अस्पतालमा गइन्। अस्पतालमा उनको उपचार हुने त परै जाओस् उनलाई के भएको भनेर बिरामी पहिचान गर्ने काम समेत भएन। अस्पतालका स्वास्थ्यकर्मीले उनलाई उपचार हुन नसक्ने भन्दै रुकुमको चौरजहारीस्थित चौरजहारी अस्पतालमा रिफर गरिदिए। त्यहाँको सामान्य जचाई र भिडिओ एक्सरेपछि उनलाई के भएको हो थाहा भयो अनि उनी थप उपचारका लागि नेपालगन्ज गइन्। दुई दिनमै निको भएर उनी जाजरकोट फर्किइन्।

जिल्लामा ५० सैयाको अस्पताल छ भनेर आसाले उपचार गर्न गएको तर सामान्य उपचारको उपायसमेत नपाएर बाहिर जानुपरयो, उनले भनिन्। आफुलाई भएको स्वास्थ्य समस्याको  उपचार  स्थानीय स्वास्थ्य संस्थामा हुन सक्ने भएपनि ५० सैयाको अस्पतालमा हुन नसकेको भन्दै उनले आश्चर्य व्यक्त गरिन्। उनी जस्तै टाउकोमा चोट लागेर  अस्पताल पुगेका एक युवकको ब्यथा पनि त्यस्तै छ। रातको समयमा प्राथमिक उपचार गरे पनि ठूलो राहत मिल्ने अवस्थामा पनि आफूले कुनै सहयोग नपाएपछि मध्यरातमा नेपालगन्ज जान बाध्य भएको ति युवकले बताए। यो अस्पतालमा उपचार हुन्छ भनेर बसेको भए त मेरो ज्यान नै जाने थियो, युवकले भने।

यी दुई बिरामीका ब्यथा र बाध्यता त नमुना मात्र हुन्। तत्कालीन सरकारले २०७२ कार्तिक महिनामा १५ सैयाबाट ५० सैयामा स्तरोन्नति गरेको जाजरकोट अस्पताल जनशक्ति र उपकरणको अभावले आफैँ बिरामी जस्तै भएको लामो समय छ। यसको उपचारमा कुनै निकायले पहल नगरेको भन्दै स्थानीयहरु आक्रोसित बनेका छन्। अस्पताल आफैँ बिरामी भएको छ रोगी जनताको उपचार कसरी हुन्छ? स्थानीयहरु प्रश्न गर्छन्। सरकारले  अस्पतालको नाम फेरेको तर काम नफेरेको स्थानीयहरुको गुनासो छ।

अस्पतालमा कार्यरत अति न्यून संख्याका स्वास्थ्यकर्मीहरु पनि उपकरण पूर्वाधार र विशेषज्ञ ज्ञानको अभावले सामान्य चेकजाँच गरेर मात्र बस्न बाध्य छन्। हरेक हिसाबले कमजोर भएको जाजरकोट अस्पतालमा उपचार गर्न बिरामी लिनु भन्दा सुरुमै दुःख गरेर जिल्ला बाहिर जानु नै ठीक भएको स्थानीयबासीहरु बताउँछन्। अस्पतालको अवस्था दयनीय भएकोले सरकार र सम्बन्धित निकायप्रति सर्वसाधारणहरुले व्यक्त गर्ने आक्रोससहित  देखिन्छ। भेरी नगरपालिका ४ गैरीखालीका प्रवेश आरसीले तीव्र आक्रोस पोख्दै भने यो अस्पताल ५० सैयाको होइन हेल्थ पोष्ट जस्तो भयो। यस्तो सेवा त स्वास्थ्य चौकीमै पाइन्छ नि, उनले भने।

ठूलो तामझामका साथ ५० सैया बनाइएको अस्पतालको यो अवस्था देख्दा निकै दुःख लाग्ने गरेको आरसीले बताए। २०७३ जेठ १० गते तत्कालीन गृहमन्त्री तथा हालका वन तथा वातावरणमन्त्री शक्तिवहादुर बस्नेतले ठूलो तामझामका साथ ५० सैयामा स्तरोन्नती  भएको घोषणा गरेका थिए। मन्त्री बस्नेतको घोषणापछि पनि जाजरकोट अस्पतालको अवस्था ४ वर्षसम्म नसुध्रिनु निकै दुःखद भएको नागरिक अगुवा केशवजंग शाह बताउँछन्।

जाजरकोट अस्पतालका मेडिकल अधिकृत डा. भुपेन्द्रप्रकाश मल्ल अस्पताल व्यवस्थापनको जिम्मा लिएकाहरुको चरम लापरवाही र कमजोरीका कारण अस्पतालको अवस्था नाजुक बन्दै गएको बताए। काम गर्ने स्वास्थ्यकर्मीलाई समयमै तलव दिने, ओभरटाइम भत्ता दिने तथा अन्य व्यवस्थापकीय कामहरु अस्पताल व्यवस्थापनले गर्न नसकेका कारण हाल उपलब्ध जनशक्तिको पनि उचित प्रयोग हुन नसकेको बताए। अस्पतालमा स्वास्थ्य बिमाको औषधि सकिएको, अन्य औषधिको पनि उचितरुपमा आपुर्ति नभएको तथा फारमेसीको औषधि बिक्री वितरणको उचित व्यवस्थापन तर्फ व्यवस्थापनले ध्यान नदिएको उनको गुनासो छ।

कर्णाली प्रदेश सरकारले केहि समयअघि तीनवटा कार्यालयहरु जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र जिल्ला आयुर्वेदिक औषधालयलाई एउटै कार्यालय बनाएपछि झनै अस्पतालको व्यवस्थापनमा समस्या परेको स्वास्थ्यकर्मीहरु बताउँछन्। सुरुमा संघीय सरकार र अहिले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा आएको यो अस्पतालमा सबै प्रमुख र जरुरी प्राविधिक पदहरु खाली नै रहेको अस्पताल विकास समितिका अध्यक्ष धर्मशीला बस्नेतले बताइन्। उनले ५० सैया बनेदेखि ९ जना विशेषज्ञ डाक्टरहरु पूरै खाली भएको  तर कहिलेकाही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले  एक जना विशेषज्ञलाई काजमा खटाएर सेवा दिने गरेको बताइन्।

हाल अस्पतालमा विशेषज्ञ सेवाका सबै डाक्टरहरु, दरबन्दीका स्वास्थ्य सहायक, स्टाफ नर्स, मेडिकल अधिकृतहरुमध्ये एक जना स्टाफ नर्स बाहेक सबै खाली रहेका छन्। जाजरकोट अस्पतालको अवस्था सुधारका लागि आफूले प्रदेश सरकार तथा सामाजिक विकास मन्त्रालयसँग पटकपटक आग्रह गर्दा पनि अहिले कर्णालीका सबै अस्पतालको अवस्था यस्तै भनेर मन्त्रीदेखि माथिल्लो तहका कर्मचारीले जवाफ दिने गरेको अध्यक्ष बस्नेतले बताइन्। उनका अनुसार जाजरकोट अस्पतालमा सरकारबाट स्वीकृत विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीहरुको पद संख्या ४१ मध्ये ३२ वटा पदहरु खाली रहेको छ।

चार वर्षअघि नाम फेरिएको अस्पतालमा काम नफेरिएर सधै सामान्य उपचारका लागिसमेत जिल्लाबाहिर नै जानुपर्ने भएपछि आफ्नो ठाउँमा अस्पताल छ भन्नु बेकार भएको स्थानीय कुसलराज थापाले बताए। जाजरकोटका जुन सर्वसाधारणलाई अस्पतालको बारेमा  प्रश्न गरे पनि सबैको एउटै प्रतिप्रश्न छ, आफैँ बिरामी जाजरकोट अस्पतालको उपचार कहिले होला कसले गरिदेला?

 

 

प्रकाशित: २० पुस २०७६ ०८:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App