४ वैशाख २०८१ मंगलबार
विचार

मध्यपहाडमा बस्नुको मजा

गत हप्ता कामका सिलसिलामा पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र इलामका केही भूभाग र पूर्व–पश्चिम राजमार्ग हुँदै सिन्धुली–बर्दिवास बाटो भएर राजधानी भित्रिने निकै रमाइलो यात्रा गर्ने अवसर जुर्‍यो । भनिरहनु पर्दैन– प्राकृतिक हिसाबले नेपाल भूस्वर्ग नै हो । हिमाल, पहाड र तराई, अनि उपोष्ण, समशितोष्ण, शितोष्ण र टुन्ड्रा (हिमाली)– विश्वका सबै क्षेत्रका मिश्रित भूगोल र हावापानी यही सानो भूभाग (१,४७,१८१ वर्ग किलोमिटर) मा पाइन्छ । 

यात्राका क्रममा इलाम, पाँचथर र ताप्लेजुङका बस्तीमा मानिसको चहलपहल बाक्लै देख्न पाइयो । मेची राजमार्ग हुँदै ताप्लेजुङबाट पाँचथरतर्फ साँझमा फर्किंदा पंक्तिकारसहितको टोलीले पहाडी भेगका बस्तीमा बलेका बिजुली बाक्लै देखिएकाले त्यहाँका स्थानीयले आफ्नो पुख्र्याैली थलो त्यागेर तराईमा बसाइँ सरिसकेका छैनन् कि भन्ने महसुस गर्‍यो ।  

सामान्यतः पश्चिमको तुलनामा पूर्वी भेग रसिलो र हराभरा देखिन्छ । नेपालमा समुद्री सतहबाट १००० मिटरदेखि १२०० मिटरसम्म दक्षिणी ढलोका बस्ती प्रायः घमाइला, पारिला र रमणीय देखिन्छन् । हुन त मेची राजमार्गमा पर्ने पाँचथरको २४०० मिटरको उचाइमा अवस्थित पौवा भञ्ज्याङ र त्यहीनजिकका राँकेलगायत क्षेत्रमा पनि बस्ती, रमाइलो अनुभव भयो । पुसको चिसो भने ह्वात्तै बढेको महसुस भयो ।

राजधानी फर्किन पंक्तिकारको टोलीले सुरुमा भद्रपुर–काठमाडौंको हवाई यात्रा गर्ने तय गरेको थियो । तर स्थानीय तहमा कुराकानी हुँदा तराईमा शीतलहरको संकेत देखिन थालेको र मौसममा आइरहेको बदलीका कारण समयमा उडान–अवतरण हुन नसकेको जानकारी प्राप्त भएपछि टिकट रद्द गरी पूर्व–पश्चिम राजमार्गको बर्दिवास हुँदै राजधानी भित्रिने निर्णय गरियो । हामी आउने भनेको दिन मौसमकै कारण उडान रद्द हुन पुगेछ । हवाई यात्राबाटै आउने निर्णय लिएर बिर्तामोडमै बसेका एक सहयात्री भने त्यसदिन पनि उड्न नपाई अन्ततः सडक यातायातै प्रयोग गरेर एकदिन ढिला गरी काठमाडौं आउनुपरेको खबर सुन्दा समयसापेक्ष निर्णय लिन सकेकामा हाम्रो टोली खुसी भयो । 

त्यसो त १३०० मिटरभन्दा बढी उचाइमा अवस्थित काठमाडौंको यस्तो कठ्यांग्रिँदो चिसोमा पनि मानिस झुम्मिएकै छन् । मध्य पुसको कठ्यांग्रिँदो चिसोमा वरपरका डाँडोमा हिँउ जम्दा यसको कचौरा आकारको भूबनोटले यहाँ दैनिक बढ्दै गएको वायु प्रदूषणको भार कटौती गर्न पनि त्यति सहज छैन । चिसो याममा उपत्यका यसै पनि ‘विष च्याम्बर’का रूपमा विकास हुँदै गएको हो कि भन्ने कुरा वातावरणीय मापनका उपकरणले दिनैभर रातो वा बैजनी रङ देखाएबाट अनुमान गर्न सकिन्छ । यसको मुख्य कारण हो– पूर्व–पश्चिम दिशाबाट मात्रै हावाको निकास सम्भव हुनु ।  तसर्थ उपत्यकाको विषाक्त हावा बाहिरिन कि हुरीबतासै चल्नुपर्छ कि पानी पर्नुपर्छ, जमिनमा झर्न ।

अन्यथा दिनभरको तापक्रमले जमिनबाट उडेर सम्भवतः वायुमण्डलको माथिल्लो तहमा पुगेको धुलो–धुवाँका कणयुक्त विषाक्त वायु पुनः रात छिप्पिँदै जाँदा वायुमण्डल चिस्सिँदै जाने क्रममा विभिन्न तौलका कण थर्मल इन्भर्सन एवं गुरुत्वाकर्षणका कारण क्रमशः जमिनतर्फ नै दैनिक झर्ने र तापक्रम बढेसँगै पुनः वायुमण्डलमा फर्किने चक्र दोहोरिरहन्छ । यही विषाक्त हावा लिएर बाँच्नु नै उपत्यकावासीको बाध्यता बनेको जगजाहेरै छ । जाडो याममा धुलोका कण वायुमण्डलमै रुमलिने हुँदा दिनभरजसो रातो वा बैजनी रङमा परिणत भइरहेको प्रदूषित तस्बिर पनि निरन्तर देखिन्छन्, अखबारमा । 

यति हुँदा पनि राजधानी (काठमाडौं) भित्रिने मानिसको संख्यामा कमी आउन सकेको छैन । यहाँको एउटै आकर्षण भनेको देशकै राजधानी र त्यसले सिर्जना गरेको बाँच्ने आधार र अवसर नै हुन् । त्यसअतिरिक्त बाटो, बिजुली र तुलनात्मक हिसाबले महँगै भए पनि स्वास्थ्य र शिक्षाको उपलब्धता पनि यसका कारण हुन् ।  यसर्थ आफ्नो अवस्था जेजस्तो भए पनि छोराछोरीको भविष्य बनाउने आशा र विश्वाससहित गाँउबाट तराई हुँदै राजधानी भित्रिने क्रमले रोकिने मौका पाएको छैन । पछिल्लो समय यसमा बढोत्तरी भएकाले नै होला– अघिल्लो वर्ष राजधानीको जनसंख्या ५० लाख भन्ने गरिएकामा अहिले ६०–७० लाख पुगेको अनुमान गर्न थालिएको छ । मुलुक संघीयतामा गएपछि क्रमशः विगतका जिल्ला सदरमुकाममा भन्दा प्रदेश राजधानीतर्फ मानिसको चहलपहल बढ्न थालेको छ भने संघीय राजधानी नआई उन्नति÷प्रगति नहुने आम धारणा पनि विकास भइरहेको छ । जसले गर्दा गाँउघर मात्रै नभई प्रादेशिक सहर पनि बिस्तारै ओझेलमा पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।      

उसो त विकासको द्योतकका रूपमा लिने गरिएको सडक सञ्जालले जोडिएका क्षेत्रस्थित नदीकिनारका फाँटमा एकाबिहानै कुहिरोले ढपक्कै ढाक्दा माथि उल्लिखित उचाइमा अवस्थित बस्तीलाई भने झुल्के घामका किरण स्पर्श गर्न पुग्छन् । त्यसको आनन्द देख्ने÷भोग्नेलाई मात्रै थाहा हुन्छ । 

पूर्व–पश्चिम राजमार्ग भएर बर्दिवासमा रात बिताएको पंक्तिकारको टोली भोलिपल्ट सिन्धुलीको बाटो हुँदै राजधानी भित्रिने क्रममा देखिएका तराई र पहाडका दृश्यले फेरि एकपटक हाम्रो विकास पद्धतिमा रहेका खोट सम्झाएका छन् । बस्ती–बस्तीमा सडक सञ्जाल पु¥याएर सर्वसाधारणलाई विकासको स्वाद चाख्न बाउबाजेको थातथलो छाड्न बाध्य नबनाई रमाउने माहोल सिर्जना गर्ने वा नदीकिनार र तराईका उर्वर फाँटको पेट चिरेर बाटो बनाई कम्तीमा गाउँबाट बेंसी नझरी विकास देख्न÷भोग्न नपाउने मौजुदा अवस्थाकै निरन्तरता कायम गर्ने भन्ने बहसले अझै व्यावहारिक निकास पाउन सकेको छैन । न्यून उत्पादन हुने गाँउको पारिलो पाखोमा घरघडेरी बनाएर वास बनाएका आम नेपाली हिजोआज तराई वा कम्तीमा बेंसीका फाँटमा घर बनाई गुजारा गर्न विवश भएका छन् । 

पुख्र्याैली थातथलोमै रमाएका र  गाँउघर नछाडेका पहाडी बस्तीका बासिन्दाले तराईको ज्यानमारा शीतलहर र बेंसीका बाक्लो कुहिरो नफाटेर हुने र भइरहेको कठ्यांग्रिँदो जाडोको सामना गर्न नपरेको मात्र छैन, विगतमा धरान, काठमाडौं र पोखरालगायत सहरमा महामारीको रूप धारण गरेको डेंगुलगायत रोगबाट पनि तड्पिनुपरेको छैन । पहाडका मानिस त्यसैले हिजोआज भन्ने गर्छन्, ‘अरू थोक के छ र पहाडमा ? केवल चिसो हावापानीले बचाएको छ, हामीलाई ।’ हुन पनि हो, सहरबजारकै जस्तो रोग–व्याधि गाँउमा पनि लाग्ने हो भने आम सर्वसाधारणको अवस्था कल्पनाबाहिर हुन्थ्यो होला ! 

मध्य पहाडी लोकमार्ग निर्माण समयमै सके र सडक दाँयाबाँया कम्तीमा २०० मिटरभित्र कुनै पनि संरचना नबनाई सवारीसाधन निर्वाध सञ्चालन हुन सक्ने नीति अख्तियार गर्न सके सडकमा बालबालिका खेल्ने÷खेलाउने, बिस्कुन सुकाउने वा कुखुराको चल्ला चर्ने÷चराउने गर्दा हुने दुर्घटनाले स्थापना गरेको राजमार्ग अवरुद्ध गर्ने मौजुदा परिपाटी मत्थर गर्दै खास अर्थमा यातायात सञ्चालन गर्न सहज हुने र खानेपानी, फोहोरमैला र यातायाताजन्य प्रदूषणको चपेटाबाट स्थानीयलाई जोगाउन सकिन्थ्यो ।

बर्दिवासमा पुसको शीतलहरले ल्याएको ठण्डीले काम्दै काममा निस्केका मानिस देखेको पंक्तिकारको टोलीले सिन्धुलीगढी नपुग्दै पारिलो घाममा आङ तन्काइरहेका मानिसको झुण्ड काममा निस्किँदै गरेको देख्दा मन कम्ती पुलकित भएन । र, सोच्न बाध्य बनायो र यो आलेख तयार गर्न प्रेरित गर्‍यो, पंक्तिकारलाई । साथै आफंैले आफंैलाई सोध्न मन लाग्यो– ‘पहाडैपहाडले भरिएको नेपालले किन विकासको पद्धति उल्टो अपनाइरहेको छ हँ ?’ तराई र पहाडका उर्वर फाँट मासेर एकातिर कृषिप्रधान देशले अन्न भण्डार सिध्याएको छ भने अर्कातिर पारिला ग्रामीण बस्तीमा रहेका बाउबाजेले बनाएका घरमा पाती फुलाएर, सहरमा छाती फुलाएर हिँड्ने मानिसमा रूपान्तरण गराएको छ ।

प्रकाशित: २० पुस २०७६ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App