७ वैशाख २०८१ शुक्रबार
समाज

प्रमुखको कार्यकक्षमा डेढ महिनादेखि ताला

इलाम - सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पस डेढ महिनायता अन्योलमा गुज्रिरहेको छ। विद्यार्थी आन्दोलन र समस्या समाधानमा क्याम्पस प्रशासनको तदारुकता अभावले प्रशासनिक कामकाज ठप्प छ। २ हजारको हाराहारीमा विद्यार्थी अध्ययन गरिरहेको जिल्लाकै एक मात्र सरकारी क्याम्पसप्रमुखको कार्यकक्षमा मंसिर पहिलो सातादेखि नै विद्यार्थीले तालाबन्दी गरिदिएका छन्।

कार्यकक्ष तालाबन्दी भएका बेला क्याम्पसप्रमुख रामप्रसाद गुरागाईं ४० दिनभन्दा बढी काठमाडौं बसेपछि क्याम्पसको कामकाज शून्यप्रायः रह्यो। केही दिनअघि इलाम फर्किएका प्रमुखले आन्दोलनरत विद्यार्थीलाई वार्तामा बोलाए पनि वार्ता हुन सकेन। विद्यार्थीले वार्तामा आउनुको सट्टा गत १४ गते प्रशासन र लेखा शाखामा समेत ताला थपिदिएपछि सबै कामकाज ठप्प भएको छ। तालाबन्दीका कारण क्याम्पसको प्रशासनिक कामकाज प्रमुखले बाहिरबाटै सञ्चालन गरिरहेका छन्।

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले गत कात्तिक २४ मा क्याम्पस प्रशासनलाई १८ बुँदे मागपत्र बुझाएका थिए। नियमित, स्वच्छ र शान्त वातावरणमा पठनपाठन व्यवस्था गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयको मापदण्ड र कानुन मिचेर दोहोरो, तेहरो सेवा–सुविधा प्रदान गर्नेगरी विभिन्न बहानामा करारमा गरिएको मनपरी नियुक्ति खारेज गर्नुपर्ने, क्याम्पस हाताभित्र नक्सापास नै नगरी भइरहेको भवन निर्माण कार्य तत्काल रोकी प्रावधान पु-याउनुपर्ने माग विद्यार्थीले राखेका थिए।

उनीहरूले बागवानी संकायको सहायक प्रमुख तत्काल नियुक्त गर्नुपर्ने, सो संकायमा क्रेडिट आवर पूरा भएका विषयमा एमएस्सी एजी वा सोसरहका विषयमा रामपुरलगायत क्याम्पसमा अध्ययन गर्न पाउने र क्रेडिट आवर पूरा भएका विषयमा लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने सुनिश्चितता गरिनुपर्ने माग पनि राखेका थिए। विद्यार्थीले एमबिएस, बिबिएलगायत संकायको सञ्चालन प्रक्रिया अगाडि बढाउन तथा प्राध्यापक, कर्मचारी र विद्यार्थीको इलेक्ट्रोनिक हाजिरी व्यवस्था गर्न पनि माग गरेका थिए।

तर, सुरुको वार्तामा प्रशासनसँग सहमति नभएपछि दुवै संगठनले मंसिर पहिलो साता प्रमुखको कार्यकक्षमा तालाबन्दी गरे। ‘क्याम्पसले माग पूरा नगरेपछि तालाबन्दी गर्नुपरेको हो,’ अनेरास्ववियू क्याम्पस कमिटी सचिव विशाल कार्कीले भने, ‘तालाबन्दीपछि क्याम्पस प्रमुख लामो समय काठमाडौं बसेर हाम्रो माग बेवास्ता गरिएको छ।’

बैठकका लागि भन्दै कात्तिक ३० गते काठमाडौं गएका प्रमुख गुरागाईंले क्याम्पस फर्किएर पुस १३ मा आन्दोलनरत विद्यार्थीलाई लिखित रूपमै वार्तामा बोलाए। तर, वार्ताका लागि समय, स्थान, मिति केही नतोकिएको विद्यार्थी बताउँछन्। ‘वार्ता कहाँ, कहिले गर्ने भन्ने कुनै निश्चित भएन,’ विद्यार्थी नेता कार्कीले भने, ‘प्रमुखले हाम्रो फोन उठाउनुहुन्न। समस्या समाधानका लागि प्रमुखको निवासमै जाँदा पनि प्रमुखले हुन्छ–हुन्छ भन्नेबाहेक ठोस पहल गर्नुभएन।’

पछिल्लो समय क्याम्पसमा शैक्षिक, प्रशासनिक, भौतिक, आर्थिकलगायतमा अपारदर्शी, अमर्यादित र बदनियतपूर्ण कार्यशैली देखिएको विद्यार्थीको आरोप छ। विगतमा भएका सहमति कार्यान्वयनमा पनि प्रशासनले कुनै चासो नदेखाएको भन्दै दुवै विद्यार्थी संगठनले क्याम्पसको नेतृत्व नियम–कानुन उल्लंघन गर्दै निजी स्वार्थमा लागेको बताएका छन्।

शिक्षक–कर्मचारीको तलब वितरणदेखि अन्य कामकाजसमेत लामो समय अन्योलग्रस्त भएपछि क्याम्पसस्थित प्राध्यापकआबद्ध संघ–संगठनले क्याम्पसको गतिहीनता अन्त्य गर्न आग्रह गरे। नेपाल प्राध्यापक संघले गत बिहीबार विज्ञप्ति जारी गर्दै ‘वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न, नसके बाटो खुला गर्न’समेत क्याम्पस प्रशासनलाई आग्रह गरेको छ। संघका सभापति तारानाथ पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पसका सरोकारवाला व्यक्ति वा निकायले कि समयमा निकास दिनुपर्छ नभए आआफ्नो दायित्व, भूमिका निर्वाह गर्न सकिँदैन भने बाटो खुला गरिदिनुपर्छ।’

प्रजातन्त्रवादी प्राध्यापक संघले क्याम्पस केही समययता विषम परिस्थितिबाट गुज्रिरहेको भन्दै विद्यार्थीले गरेको तालाबन्दीउपर कारबाही नहुनु, प्रमुख लामो समय काठमाडौं बस्नु, शैक्षिक–प्रशासनिक कामकाज कमजोर हुनुजस्ता कारणले क्याम्पसको प्राज्ञिक उन्नयनमा गिरावट आएको जनाएको छ। पुस ९ मा विज्ञप्ति जारी गर्दै संघले राजनीतिक आस्था सबैमा हुने भए पनि निहितस्वार्थमा क्याम्पसजस्तो विद्याको मन्दिर, प्राज्ञिक थलोमा रडाको मच्चाउनु र कचहरीको थलो बनाइनु शोभनीय नहुने जनाएको छ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संघले पनि देशभरका आंगिक क्याम्पसमध्ये लगातार दुईपटक उत्कृष्ट ठहरिएको सो क्याम्पसको साख पछिल्लो समय देखिएको समस्या समाधानको पहल नगरिएकै कारण खस्किँदै गएको जनाएका छन्।

विद्यार्थीले वार्तामा नआई प्रशासन तथा लेखा शाखामा समेत तालाबन्दी गरेपछि प्रमुख गुरागाईंले पुस १६ देखि माघ ८ सम्मका लागि क्याम्पसमा जाडो बिदा गरिएको सूचना पुस १५ मा निकाले। तर, समस्या समाधान गर्नुको साटो प्रमुखले ‘घरबाटै क्याम्पस सञ्चालन गरेकाले’ जाडो बिदाको निर्णय नमान्ने भन्दै विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए। गत कात्तिक २४ मा पनि विद्यार्थीले क्याम्पसले सहमतिविपरीत परीक्षा शुल्क बढाएको विरोध गर्दै क्याम्पस प्रमुख गुरागाईंसहित सहायक प्रमुखद्वय पुष्प ढुंगाना र पूर्वचन्द्र ढुंगानालाई ५ घण्टा प्रमुखको कोठामा थुनेका थिए। सोही दिन साँझ भएको वार्तामा बढाइएको शुल्क फिर्ता गर्ने, माथिल्लो तहमा अध्ययन, लोकसेवा आयोगमा सहभागितालगायतबारे छलफल गर्न समिति बनाउने सहमति जुटेको थियो।

प्रमुख गुरागाईंले आफूले वार्तामा बोलाउँदा विद्यार्थी नआएको बताए। ‘प्रमुखको कार्यकक्षमा लगाइएको ताला खोलेर समस्या समाधानका लागि छलफल गरौं भन्ने प्रस्ताव राख्दा विद्यार्थीले क्याम्पसको सवारीसाधनको साँचो पनि भित्रै राखेर प्रशासन र लेखा शाखामा समेत तालाबन्दी गरे,’ प्रमुख गुरागाईंले नागरिकसँग भने, ‘छलफल र संवादबाटै समस्याको समाधान खोजिने भएकाले मैले त्यसको प्रयास गरेको थिएँ।’

प्रमुख गुरागाईंले आफू काठमाडौंमा रहेका बेला गत मंसिर १ देखि पुस १२ सम्म क्याम्पसले गरेका नीतिगत र प्रशासनिक कामको १८ बुँदे सूचीसमेत सार्वजनिक गरेका छन्। ‘क्याम्पसकै कामले काठमाडौंमा रहेका बेला मैले गरेका कामको प्रत्येक दिनको रेकर्ड छ,’ उनले भने, ‘क्याम्पसकै काममा ६ साताभन्दा बढी काठमाडौं बस्दा पनि आंशिकतर्फका कामको ५ दिनको मात्रै सुविधा लिएको छु। अरू दिनको तलबबाहेक अन्य सुविधा लिएको छैन।’ प्रमुख गुरागाईंले विज्ञप्तिमार्फत् क्याम्पसको विषयमा चिन्ता व्यक्त गर्ने प्राध्यापक संघ–संगठनलाई समेत वार्ताको सहजीकरणका लागि आग्रह गरेको जनाउँदै सबै सरोकारवालाको सहमतिबाटै समस्याको समाधान खोजिने बताए।

इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस।
तस्बिर ः भीम÷नागरिक

प्रकाशित: २० पुस २०७६ ०४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App