८ वैशाख २०८१ शनिबार
खेल

चारदिने टेस्टको विपक्षमा कोहली

गुवाहाटी – विश्व क्रिकेटको संरक्षक संस्थाले टेस्ट क्रिकेटको फरम्याट परिवर्तन ल्याउन बहस चलाइरहँदा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भने विपक्षमा देखिएका छन्। क्रिकेटमा निकै व्यस्त तालिकाको कारणसहित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पाँच दिवसीय टेस्टलाई चार दिन खेलाउन तयारी स्वरूप बहस थालिरहेको अवस्थामा शनिबार भारतीय क्रिकेट टोलीका कप्तान कोहलीले नयाँ शैली आवश्यक नभएको बताएका छन्। आइसिसीले सन् २०२३ को विश्व टेस्ट च्याम्पियनसिपपश्चात् टेस्ट क्रिकेटको आकारमा परिवर्तन ल्याउने तयारी गरे पनि देश र खेलाडीको मत भने बाझिन थालिएको छ।

टेस्ट क्रिकेटको विश्व वरीयतामा शीर्ष स्थानका कोहलीले हाल भइरहेको टेस्ट क्रिकेटको शैली परिवर्तन गरिन नहुने प्रतिक्रिया दिएका छन्। ‘डे–नाइट क्रिकेट बनाइनुपर्ने अवस्था थियो र जुन ठीक पनि छ,’ श्रीलंकासँग आइतबारको ट्वान्टी–२० क्रिकेटअगाडि कोहलीले भने, ‘तर टेस्ट क्रिकेटलाई चार दिनमा छोट्याउनु भनेको त्यसभित्र रोमाञ्चकता घटाउनु हो। त्यसैले उद्देश्य विलकुलै सही छैन। साथै उनले टेस्ट क्रिकेटको धरातलसमेत मेटिनसक्ने बताएका छन्।

‘हाल चार दिनमा छोट्याउने बहस चलेको छ,’ कोहलीले भने, ‘यो बहसको शृंखला चारबाट तीन दिनमा घटाइनुपर्ने पनि चल्न सक्छ। फेरि, यसलाई कसरी सम्बोधन गर्न सक्छौं। यद्यपि, म परिवर्तनका लागि वाधक भने होइन। तर, टेस्ट क्रिकेट जसरी सुरुआत भएको थियो, त्यसको महŒव भने घट्नेछ।’ क्रिकेटलाई व्यवसायीकरण गर्न डे–नाइट खेल्ने अवधारण ल्याइनु सही भए पनि दिन नै घटाउनुपर्ने अवस्था नआएको धारणा व्यक्त गरेका छन्।

‘डे–नाइटमा खेल्नु व्यवसायीकरण बनाउन गरिएको परिवर्तन थियो। यसले सबैलाई रोमाञ्चकता दिएको पनि छ। तर दिन घटाउनुलेसो रोमाञ्चकता दिन सक्दैन,’ कोहलीले भने। यद्यपि, सुरुआती चरणमा डे–नाइट क्रिकेटको अवधारणाप्रति पनि क्रिकेटरले आलोचना गरेका थिए। तर, पछि अधिकांशले नयाँ स्वरूपलाई स्वीकार गरे। दिन घटाउने आइसिसीको तयारीमा पनि सोही अवस्था बन्न सक्नेछ।

आइसिसीले पनि सन् २०१७ मै चार दिनको टेस्टलाई स्वीकार गरिसकेको छ। यसअघि दक्षिण अफ्रिका र जिम्बाब्वे तथा इङ्ल्यान्ड र आयरल्यान्डले चार दिनको खेल खेलिसकेका छन्। यद्यपि, भारत भने परिवर्तनको विपक्षमा उभिएको छ। तथापि इङ्ल्यान्ड, अस्ट्रेलिया र न्युजिल्यान्डको क्रिकेट बोर्डले भने टेस्ट क्रिकेटको दिन घटाउनेप्रति तयार रहेको संकेत दिइसकेको छ।

इङ्ल्यान्डका कप्तान जोए रुटले पनि नयाँ योजना लागू हुनुपर्ने बताइसकेका छन्। तर कोहलीसँगै केही क्रिकेटरले भने परिवर्तन ठीक नभएको विचार व्यक्त गरिरहेका छन्। अस्ट्रेलियाका कप्तान टिम पाइनेले केही खेल चार दिनको भए पनि मुख्य प्रतियोगिता भने पाँच दिनमै खेलाइनुपर्ने बताएका छन्। अस्ट्रेलियाकै सफल स्पिनर नाथन लियोनले पनि नयाँ सोच ‘हास्यास्पद’ भएको प्रतिक्रिया दिए।

‘धेरै प्रतियोगिता भइरहेको पक्कै हो। त्यसमा म पनि सहमत छु,’ लियोनले भने,’ तर पनि म परिवर्तनको पक्षमा छैन। मलाई लाग्छ, आइसिसीले पनि यसमा धेरै सोच्नुपर्ने अवस्था छैन।’ यद्यपि, आइसिसी र केही राष्ट्रका क्रिकेट बोर्ड भने व्यस्त एकदिवसीय, ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट र व्यावसायिक क्रिकेट लिगका कारण टेस्ट क्रिकेटको दिन घटाउने योजनामा छन्।   

‘यो बहसको शृंखला चारबाट तीन दिनमा घटाइनुपर्ने पनि चल्न सक्छ। फेरि, यसलाई कसरी सम्बोधन गर्न सक्छौं। यद्यपि, म परिवर्तनका लागि वाधक भने होइन। तर, टेस्ट क्रिकेट जसरी सुरुआत भएको थियो, त्यसको महत्व भने घट्नेछ।’

प्रकाशित: २० पुस २०७६ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App