coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पदयात्री सेनाको टोली धादिङमा

पदयात्रामा हिडेका नेपाली सेनाको टोलीलाई धादिङको सल्यानटारमा स्वागत गरिदै।

धादिङ - शुक्रबार गोरखाबाट पदयात्रामा हिडेको नेपाली सेनाको टोलीलाई धादिङको सल्यानटारमा स्वागत गरिएको छ। नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्मको पैदल बाटोमा पदयात्रा सुरु गरेका हो।

नौमती बाजासहित गोरखाबाट आएको टोलीले साथमा बोकेर आएका राष्ट्रिय झण्डा, कलस, दियो, घण्ट, टर्चलाइटलगायत सामग्री सल्यानटारको देवीदत्त गणको टोलीलाई हस्तान्तरण गरेका छ। सामान हस्तान्तरणपछि गोरखाको टोली त्यहिबाट फर्कीएको छ, भने देवीदत्त गणको टोलीले यहाँबाट यात्रा सुरु गरेको छ।

नेपाल एकीकरणको बेला प्रयोग गरेको मार्गलाई ‘एकीकरण पदमार्ग’को रूपमा विकास गर्ने योजनाअनुसार पदयात्रा सुरु गरिएको देवीदत्त गणका सेनानी रूपेश चापाँगाइले बताए। ‘गोरखाबाट आएको टोलीले शुक्रबार साँझ नै धादिङको देवीदत्त गणलाई उक्त सामान बुझाएको छ। अब उक्त सामान टोलीले आइतबार दिउँसो नुवाकोट पुग्ने तयारी रहेको छ। राष्ट्रनिर्माता शाहको नेपाल एकीकरण अभियानलाई मनाउन र नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसारका लागि ऐतिहासिक पदमार्गमा पदयात्रा सुरु गरिएको आयोजककोभनाइ छ।

टोलीलाई शुक्रबार बिहान पश्चिम पृतनापति उपरथी गोकुल भण्डारी र गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बिदाइ गरेका थिए। पृथ्वीनारायण शाहले नेपाली एकीकरण गर्दा गोरखादेखि काठमाडौंसम्म हिँडेको बाटो भएर यात्रा गर्दै सेनाको टोली पुस २७ गते पृथ्वीजयन्तीको दिन काठमाडौंमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछ। शनिबार धादिङको सल्यानटारमा भएको कार्यक्रममा नेपाली सेनाका कर्नेल, जिल्ला समन्वय समितिका प्रमुख, गाउँपालिकाका अध्यक्ष तथा सल्यानटारवासीले स्वागत गरेका थिए। नेवारी बाजा, दराई जाती तथा पन्चेबाँजासहित स्थानीयले फूलमालाले स्वागत गरेका थिए।

सेनाले साथमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा प्रयोग भएका सेनाका बस्त्र र बन्दुकसमेत लिएका छन्। पदयात्रामा शाहकालीन गोर्खाली सेनाको पोसाक लगाएका पल्टन पनि सहभागी छन्। सरकारले गोरखादेखि काठमाडौं हुँदै काभ्रेसम्मको एक सय ९२ किलोमिटर बाटोलाई एकीकरण पदमार्गको रूपमा प्रवद्र्धन गर्न लागेको छ। काठमाडौंको हनुमानढोकाबाट गोरखा दरबार २६ कोसको दूरीमा रहेको छ।

पदमार्ग आसपास दर्जनौं ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवालगायतका ऐतिहासिक सम्पदाहरू रहेका छन्। पदमार्गको धेरैजसो खण्डमा भने मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको छ। जसका कारण ऐतिहासिक सम्पदा जोखिममा रहेको बताइएको छ। पुरानो हुलाकी मार्गका रूपमा रहेको बाटो आसपासका पुराना चौताराको पनि संरक्षण हुन सकेको छैन। कोट, किल्ला, गढीको इतिहास सेनासँग जोडिएकाले यस्ता सम्पदाको संरक्षण हुने अपेक्षासमेत गरिएको छ।

प्रकाशित: २० पुस २०७६ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App