७ वैशाख २०८१ शुक्रबार
समाज

जलवायु दिवस मनाउँदै भ्रमण वर्षको स्वागत

सिन्धुपाल्चोकको गुफाडाँडामा जलवायु दिवस मनाएर भ्रमण वर्ष २०२० लाई स्वागत गरिँदै। तस्बिर: ध्रुव/नागरिक

सिन्धुपाल्चोक - पर्यटकीय स्थल गुफाडाँडामा प्रथम जलवायु दिवस मनाउँदै सिन्धुपाल्चोकमा भ्रमण वर्ष २०२० लाई स्वागत गरिएको छ। गत वर्षको पुसमा प्रथम राष्ट्रिय जलवायु सम्मेलन गरिएको स्थलमा औपचारिक कार्यक्रम गरेर भ्रमण वर्ष सुरु गरिएको हो।

भ्रमण वर्षको स्वागत गर्न ७७ वटै जिल्ला समन्वय समितिका प्रतिनिधि गुफाडाँडामा भेला भएका थिए। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु दिवसको अवसरमा साढे दुई हजार मिटरको उचाइमा आयोजना गरेको भ्रमण वर्ष स्वागत कार्यक्रमको संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरे।

कार्यक्रममा जलवायु परिवर्तन, यसले निम्त्याएका असर तथा भ्रमण वर्षलाई सफल बनाउनेबारे छलफल चलाइएको थियो। आयोजकले कार्यक्रमका सबै सहभागीलाई जिल्लाको पर्यटनबारे सूचना दिने एकएक हजार थान किरिङ र क्याप वितरण ग¥यो। कार्यक्रम स्थलमा जिल्लाका १२ वटै स्थानीय तहका भ्रमण वर्षको विशेषता र पर्यटनसम्बन्धी सूचना झल्कने ब्यानर प्रदर्शन गरिएको थियो। साथै सन् २०२० भरि सञ्चालन गरिने गतिविधि समेटिएको क्यालेन्डरसमेत सार्वजनिक गरियो।

जिल्लाका १२ वटै स्थानीय तहका विद्यार्थीबीच जलवायु परिवर्तन र यसका असरबारे सञ्चालन गरिएको वादविवाद प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाकी प्रजिता पराजुली प्रथम भइन्। त्रिपुरासुन्दरी गाउँपालिकाकी उर्मिला तामाङ दोस्रो र लिसंखुपाखर गाउँपालिकाका निर्मल उप्रेती तेस्रो भए। उनीहरुले क्रमशः १५, १० र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाए। आआफ्ना स्थानीय तहमा उत्कृष्ट ठहरिएर उनीहरु प्रतियोगिताका लागि छानिएका थिए।

आयोजक जिसस प्रमुख कृष्णगोपाल तामाङले जलवायु परिवर्तन र यसका असरलाई सँगै जोडेर भ्रमण वर्षसम्बन्धी विभिन्न कार्यक्रम गर्ने बताए। ‘पर्यटन र जलवायु परिवर्तन एकआपसमा जोडिएकाले दुवै विषयलाई सँगसँगै अघि बढाउँछौं,’ उनले भने। कार्यक्रम स्थलमा ७७ जिल्लाको प्रतिनिधित्व गर्दै ७७ वटै राष्ट्रिय झन्डा फहराइएको छ।

मुलुक जलवायु परिवर्तनको मारमा: मन्त्री बस्नेत

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नेपाललगायत तेस्रो मुलुक जलवायु परिवर्तनको मारमा परिरहेको बताएका छन्। हरित ग्यास उत्सर्जन जलवायु परिवर्तनको मुख्य कारण रहेको औँल्याउँदै उनले यसबारे नेपालले विश्वमञ्चमा सशक्त आवाज उठाइरहने बताए।

‘हरित ग्यास उत्सर्जनमा नेपाल संलग्न छैन तर सबैभन्दा ठूलो मार खेपिरहेको छ,’ हरित ग्यास उत्सर्जनले नेपाल विश्वमा चौथो जोखिमयुक्त मुलुक रहेको जानकारी दिँदै मन्त्री बस्नेतले भने। इसिमोडको अध्ययनअनुसार अब १.५ डिग्री मात्रै तापक्रम बढेमा आगामी सन् २०२१ मा दुईतिहाइ हिउँ पग्लेर नेपाली हिमाल कालापत्थर बन्ने खतरा रहेको उनले जानकारी दिए।

जलवायु परिवर्तनले सामुद्रिक किनारका साना जीवको अस्तित्व संकटमा परेको उल्लेख गर्दै उनले दक्षिण एसियाली क्षेत्रमा हिमताल विस्फोट हुने र अधिक हिउँ पग्लने सम्भावना रहेको औँल्याए। जलवायु परिवर्तन न्यूनीकरण गर्न समग्र जलवायु कोषको ८० प्रतिशत रकम स्थानीय तहमा जाने व्यवस्था सरकारले गरेको उनले जानकारी दिए। ‘यो रकम स्थानीय तहले जलवायु न्यूनीकरणका कार्यक्रममा खर्चनेछन्,’ मन्त्री बस्नेतले भने।

प्रकाशित: २० पुस २०७६ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App