coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश ३ काे राजधानी र नाममा रस्साकस्सी जारी

मकवानपुर - प्रदेश ३ को स्थायी राजधानी टुंगो लगाउन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छुट्टा–छुट्टै छलफल गरेका छन्। दुवै पार्टीको संसदीय दलको बैठक शुक्रबार प्रदेशको अस्थायी राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौंमा गरेका हुन्। नेकपाको बैठक मुख्यमन्त्री डोरमणि पौडेलको निवास हेटौंडामा र कांग्रेसको बैठक काठमाडौंस्थित संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको सम्पर्क कार्यालयमा भएको थियो।

प्रदेशसभाको हिउँदे अधिवेशन सोमबार डाकेपछि सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेस सांसदहरू प्रदेशको स्थायी राजधानीसँगै नामकरणबारे बृहत् छलफलमा जुटेको हो। शुक्रबार भएको बैठकमा नेकपाका १७ जना प्रदेश सांसदले आ–आफ्नो धारणा राखेको नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँलले बताए। ‘पार्टीको केन्द्रीय निर्देशन प्रदेश सांसदले नमान्ने भन्ने हुँदैन,’ उनले भने, ‘स्थायी राजधानी र नामकरण सर्वसम्मत गर्ने प्रयास गर्नेछांै।’

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कम्युनिस्ट पार्टीको नेतृत्वको निर्णय मान्ने संस्कारबाट कार्यकर्ता निर्देशित हुने बताए। नेकपा केन्द्रीय सचिवालयको निर्णयलाई आफूहरूले कार्यान्वयन गर्नुपर्ने भन्दै उनले घुमाउरो भाषामा प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती नै हुने दाबी गरे। ‘दुई वर्षदेखि राजधानी र नाम टुंगो लगाउन नसकेकाले धेरै काम गर्न समस्या भएको छ,’ उनले भने, ‘राजधानी र नाम पुस २२ गतेसम्म सर्वसम्म्त टुंगो लगाइसक्ने छौं।’

उता, कांग्रेसका प्रदेश सांसदले नेकपाले संविधानको मर्म र भावनाविपरीत संसदीय दललाई निर्देशन दिनु खेदपूर्ण भन्दै प्रदेशसभाको अधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिएको कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घलले बताइन्। ‘कांग्रेस सरकारले नै हेटौंडालाई अस्थायी राजधानी तोकेको थियो,’ उनले भनिन्, ‘प्रदेश सांसद जनताबाट निर्वाचित भएकाले पार्टीले ह्विप नलगाई स्वतन्त्र रूपमा बोल्न र मतदान गर्न दिने निर्णय भएको छ।’ नेकपा संसदीय दलको बैठक शनिबार पनि बस्ने भएको छ भने कांग्रेस संसदीय दलको बैठक सोमबार बस्ने बताइएको छ।

प्रदेशको नाम बागमतीमा नेकपाका सांसद लगभग सहमत भएका छन् भने कांग्रेसका अधिकांश सांसदले प्रदेशको नाम नेवाः ताम्सालिङ राख्नुपर्ने बताएका छन्। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हेटौंडालाई स्याथी राजधानी कायम गर्ने र नाम बागमती राख्ने सचिवालयको निर्णय कार्यान्वयन गर्न प्रदेश पदाधिकारीलाई निर्देशन दिएपछि बहसले गति लिएको छ।

विसं २०७४ माघ १८ गते प्रदेशसभाको पहिलो बैठक बसेपछि स्थायी राजधानी तोक्न गठन गरिएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले २०७५ असारमै प्रतिवेदन बुझाए पनि छलफल गरिएको छैन। विशेष समितिले बर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तताका आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको थियो। प्रदेशको नाम भने बागमती, नेवाः ताम्सालिङ, नेपाल मण्डल, पशुपतिलगायत चर्चामा छ।

संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमतले निर्णय गर्ने उल्लेख छ। १ सय १० सांसद रहेको प्रदेशसभामा नेकपाको दुईतिहाइभन्दा बढी अर्थात् ८० सांसद छन्। त्यस्तै, नेपाली कांग्रेसका २२, विवेकशील साझा, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र गरी आठ सांसद रहेका छन्।

प्रकाशित: २० पुस २०७६ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App