coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

इन्जिनियरको ठगी छानबिनकाे दायरामा

धरान - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरूसँग अधिकार नै नभएको विभागका एक अधिकृतस्तरका कर्मचारीले बिजुलीको महसुल संकलन गरेर अनियमितता गरेकोबारे छानबिन सुरु भएको छ।

प्रतिष्ठान परिसरमा रहेका निजी व्यवसायीहरूले इलेक्ट्रिकल इन्जिनियरिङ विभागका अधिृकत तेजनारायण साहले सात महिनायता बिजुलीको महसुलबापत रकम उठाउँदै आएको जानकारी दिएपछि प्रतिष्ठान प्रशासनले आन्तरिक छानबिन थालेको हो। अधिकृत साहले अधिकार क्षेत्रबाहिर गएर महसुल लिइरहेको थाहा पाएपछि तीनजना व्यवसायीले बिहीबार कार्यबाहक उपकुलपतिलाई निवेदन दिएका थिए। उनीहरूले निवेदनसँगै इलेक्ट्रिकल विभागको नाममा साहले दिएको भौचरको प्रतिलिपि पनि बुझाएका छन्।

अधिकृत साहले प्रतिष्ठानमा भाडामा रहेका व्यवसायीहरूसँग बिजुलीको बिलबापत लाखौं रुपैयाँ संकलन गरेर अपचलन गरेको आशंका गरिएको छ। आर्थिक कारोबारको अधिकार प्रतिष्ठानको लेखा शाखालाई मात्र छ। लिखित निवेदन परेपछि प्रतिष्ठानले साहलाई स्पष्टीकरण सोधेर आन्तरिक छानबिन सुरु गरिसकेको छ। ‘लिखित निवेदन परेपछि के भएको हो, बुझ्ने काम भइरहेको छ,’ प्रतिष्ठानका कार्यबाहक उपकुलपति डाक्टर गुरु खनालले भने, ‘एक–दुई दिनमा विस्तृत कुरा खुल्छ।’

व्यवसायीहरूका अनुसार विगत सात महिनादेखि नै उनीहरूले साहलाई बिजुलीको बिलबापत पैसा बुझाउँदै आएका छन्। त्यसअघि भने व्यवसायीहरूले लेखा शाखामै पैसा बुझाउने गर्थे। प्रतिष्ठानको सर्भर बिग्रेको बेला इलेक्ट्रिकल इन्जिनियरिङ विभागमा कार्यरत साहले अबदेखि आफूलाई नै पैसा बुझाउनु भनेपछि उनलाई नै बिजुलीको बिलबापतको पैसा बुझाउँदै आएको बताउँछन्। ‘एक पटक बिपीको सफ्टवेयर बिग्रेको थियो, त्यसपछि उनैले अबदेखि माथि अकाउन्टमा होइन, यही बुझाउनु भने,’ टेक्सन भोजनालयका प्रोपाइटर टेक लोहनीले भने, ‘त्यसपछि हामीले उनैलाई नै बिलबापतको पैसा बुझाउँदै आएका छौं।’

व्यवसायीहरूले बिलबापतको पैसा बुझाएपछि इलेक्ट्रिकल इन्जिनियरिङ विभागको रिसिभ भौचर दिइएको छ। त्यसमा प्रतिष्ठानको स्टाम्प पनि छ। रिसिभ भौचरमा पैसा बुझ्ने व्यक्तिको नाम एमके राई उल्लेख छ भने उनैको हस्ताक्षर पनि छ। तर यो नाम गरेका व्यक्ति इलेक्ट्रिकल विभागमा छैनन्। ‘आर्थिक कारोबार गर्ने, पैसा लिने काम अकाउन्ट शाखाको हो, यहाँबाट होइन,’ इलेक्ट्रिकल विभाग प्रमुख नेत्र खड्काले भने, ‘यो विषयमा आन्तरिक छानबिन हुँदैछ, एमके राई को हुन् भनेर खोजी हुँदैछ।’

प्रतिष्ठानको लेखा शोक्ट्रिक सफ्टवेयरको आर्थिक कारोबार गर्ने अधिकार इन्दिरा कार्कीलाई मात्र छ। सफ्टवेयरमा लग–इन उनको मात्र छ। प्रतिष्ठान हाताभित्र क्यान्टिन चलाइरहेका एक व्यवसायी बुधबार पैसा बुझाउन इलेक्ट्रिकल सेक्सनमा पुगेपछि मात्र यो प्रकरण बाहिरिएको थियो। ती व्यवसायीले साहलाई नभेटेपछि विभागका प्रमुख खड्कालाई भेटेर पैसा बुझाउन आएको बताएका थिए। तर खड्काले पैसा यहाँ बुझाउने होइन भनेपछि ती व्यवसायी झस्किएका थिए। ‘कैले फोन गरेर पैसा बुझाउनु भन्थे, कैले क्यान्टिनमा नै लिन आउँथे,’ नाम नखुलाउन आग्रह गर्दै ती व्यवसायीले भने, ‘यसपालि म नै बुझाउन आउँदा खड्का सरसँग भेट भयो र मात्र थाहा पाइयो।’

इलेक्ट्रिकल विभागका अधिकृत साहले भने आफूहरूको काम मिटर रिडिङ गराउने मात्र भएको र आफूले पैसा नलिएको दाबी गरे। उनले आफूविरुद्ध गलत प्रचार गरेर फसाउन खोजेको पनि बताए। ‘हाम्रो काम मिटर रिडिङ गराइदिने हो र सफ्टवेयरमा हालिदिने हो। हामीले पैसा लिनै मिल्दैन,’ साहले भने, ‘निवेदन मेरो बारेमा दिएको हो भने गलत हो, मलाई फसाउन खोजिएको हो।’

प्रकाशित: २० पुस २०७६ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App