८ वैशाख २०८१ शनिबार
समाज

बढ्दै चेक बाउन्सका घटना

प्रतिकात्मक तस्बिर

काठमाडौं - ललितपुर सानेपाकी रितु (नाम परिवर्तन) ४ करोड २० लाखको चेक बाउन्स (खातामा पैसा नभएको चेक) बोकेर मंगलबार महानगरीय प्रहरी परिसर टेकुमा पुगिन्। करिब दुई साताअघि जग्गा कारोबार गर्दा दुवै पक्ष जिल्ला मालपोत कार्यालय ललितपुरमा गएका थिए। त्यहाँ सम्पति स्रोत खुलाई चेकमार्फत भुक्तानी गर्ने सहमति भयो। सोही अनुसार उमेश बस्नेतले उनलाई चेक हस्तान्तरण गरे।

चेक हातमा परेको भोलिपल्ट उनी वाणिज्य बैंक पुगिन्। चेक दिने व्यक्तिको खातामा पैसा नभएपछि उनलाई शंका लाग्यो। ती व्यक्तिलाई फोन गर्दा स्विचअप थियो। त्यसपछि रितुलाई तनाव भयो। तीन दिनसम्म चेक बोकेर बैंक धाइरहिन्। बैंकका कर्मचारीले ‘हुँदैन, चेक बाउन्स छ’ भनिदिएपछि आफू ठगिएको महसुस गर्दै उनी प्रहरी गुहार्न टेकु पुगेकी थिइन्। ‘खातामा पैसा होला भनेर कारोबार गरियो, मालपोतमा चेकबाट पैसा दिने सहमति पनि भएको थियो तर तीनपटक बैंकमा साट्न जाँदा चेक दिने व्यक्तिको खातामा पैसै रहेनछ,’ उनले सुनाइन्। प्रहरीका अनुसार चेक बाउन्स कारोबार गर्ने व्यक्ति फरार छन्।

अर्का एक व्यक्ति पनि त्यसैगरी बाउन्स चेकमा फसेको भन्दै फाइल बोकेर आइपुगे। उनको चार करोड १७ लाखको चेक बाउन्स थियो। जग्गा व्यवसायीले नै बाउन्स चेक दिएर ठगेको उजुरी प्रहरीमा दिएर उनी फर्किए। ‘मोटो रकम चेकमै कारोबार हुने भएकोले विश्वास गरेर चेक बोकियो, साट्न जाँदा खातामा पैसा रहेनछ,’ ती व्यक्तिले सुनाए।परिसरमै भेटिएका विराटनगरका सुरेश बस्नेत पनि चेक बाउन्समा ठगिएका थिए। लुगा खरिद गर्दा विराटनगरकै व्यापारी मुकेश शाहले दिएको चेक बाउन्स भएपछि उनी उजुरी दिन परिसर आएका थिए। ‘मेरो मोबाइल पसल थियो,’ उनले भने, ‘त्यहीं कारोबार भयो, साट्न जाँदा खातामा पैसा थिएन।’

साउनयता दुई हजार १ सय ८६ वटा चेक बाउन्स भएको उजुरी महानगरीय प्रहरी परिसरमा टेकुमा परेको छ। यीमध्ये चार करोडभन्दा माथिका तीनवटा, दुई करोडका चारवटा छन्।

चेक बाउन्समा ठगिएका यी उदाहरण हुन्। परिसरमा चेक बाउन्सका दैनिक २० वटा उजुरी पर्छन्। ती उजुरी १ लाखदेखि पाँच करोडसम्मका चेक बाउन्ससम्बन्धी छन्। परिसरको तथ्यांकअनुसार बैंकिङ कारोबारअन्तर्गत चेकमार्फत ठगी गर्नेको संख्या बढेको छ। साउनयता दुई हजार १ सय ८६ वटा चेक बाउन्स भएको उजुरी परिसरमा परेको छ। यसमध्ये चार करोडभन्दा माथिका ३ वटा, दुई करोडका ४ वटा छन्।

प्रहरीका अनुसार चेकमार्फत १० लाखभन्दा बढीको कारोबार गर्दा व्यक्तिले आवश्यक कागजातसहित सम्पत्ति विवरण खुलाउनुपर्छ। कोही व्यक्तिले नक्कली कागजात बनाएर नभएको सम्पत्ति देखाएको छ भने प्रहरीले सम्पत्ति शुद्धीकरण विभागसँग प्रमाण माग्छ। ‘अहिले चेकमार्फत हुने कारोबार बढेको छ,’ परिसरका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले भने, ‘चेकमार्फत कारोबार गरे पनि ठगिने क्रम बढेको छ।’ सरकारी कार्यालयमा सबै कागजात मिलाएपछि चेक कारोबार रोकिएका उजुरी आउने गरेको सुनाउँदै उनले थपे, ‘जग्गाको कारोबारमा चेक बनाउँदा यस्ता घटना धेरै भएका छन्।’

जग्गा कारोबारमा आर्थिक समस्या बढेपछि मालपोत कार्यालयले ठूलो कारोबारमा गुड फर पेमेन्ट (बैंकले नै रकम भुक्तानी ग्यारेन्टी गरेको चेक) वा बैंक भौचरको प्रमाण पेस गरेपछि मात्र जग्गा पास गर्ने गरेको छ। जिल्ला मालपोत कार्यालय ललितपुरका मालपोत अधिकृत सुबोधकुमार खनालले दुई तरिकाले मालपोत कार्यालयमा घरजग्गा पास हुने बताए। ‘गुड फर पेमेन्ट चेक वा बैंक भौचरका आधारमा जग्गा पास हुन्छ। अरु तरिकाले जग्गा कारोबार गर्न मिल्दैन,’ उनले भने, ‘भौचरका आधारमा जग्गा किनबेच गर्दा दुवै पक्षलाई सोध्छौं, उनीहरु मन्जुर भएपछि मात्रै पास हुन्छ।’

कतिपय अवस्थामा भने यी दुईबिना नै जग्गा पास हुनगरेको मालपातकै एक अधिकारीले बताए। ‘गुड फर पेमेन्ट चेक वा बैंक भौचर चाहिन्छ नै तर कारोबार भइसक्यो भनेर दुवै पक्षले भन्दा कहिलेकाहीं आँखा चिम्लिने गरेको पनि पाइन्छ,’ उनले भने, ‘यो काम कार्यालयको अधिकारीमा निर्भर रहन्छ।’ मालपोत अधिकृत खनालका अनुसार नक्कली बैंक भौचर वा लेनदेन नभईकन व्यक्ति जग्गा पास गर्न मन्जुर भयो, कार्यालयका अधिकारीलाई पनि झुक्यायो वा चेक बाउन्स भयो भने मालपोत कार्यालय जिम्मेवार हुँदैन।

प्रहरी प्रधान कार्यालयको तीन वर्षयताको तथ्यांकले पनि दुई वर्षयता बैंकिङ कसुरमा दर्ता भएका उजुरीले ‘ग्राफ’ बढिरहेको देखाउँछ। ०७३/०७४ मा ९३, ०७४/०७५ मा ७ सय ७६, ०७५/०७६ मा ३ हजार १ सय ६७ र ०७६/०७७ को ६ महिनामै १ हजार ७ सय २८ वटा यस्ता उजुरी दर्ता भएका छन्। पुरानो तथ्यांकलाई हेर्दा दुई वर्षयता बैंक तथा वित्तीय क्षेत्रमा हुने अपराध बढेको छ।

प्रहरी प्रधान कार्यालयका डिआइजी शैलेश थापाले अपराधीको निसानामा बैंक तथा वित्तीय क्षेत्र परेकाले बैंकिङ कसुरका उजुरी बढेको बताए। बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को परिच्छेद २ दफा ३ मा कसैले चेक हस्तान्तरण ग¥यो तर खातामा पैसा छैन भने त्यसलाई बैंकिङ कसुर भनेर परिभाषित गरिएको छ।

पछिल्लो मुलुकी संहिता २०७४ अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दा फौजदारीभित्र पर्छ। बैंकिङ कसुरसम्बन्धी कानुनअनुसार खातामा पैसा नभएको चेक दिएर झुक्याउनेलाई ६० दिन हिरासतमै राखेर अनुसन्धान गर्न सक्ने अधिकार प्रहरीलाई छ। त्यस्तै बिगोसहित जरिवाना तथा क्षतिपूर्ति र तीन महिनासम्म कैद हुने व्यवस्था छ।

ललितपुरमा पनि बैंकिङ कसुरका घटना बढेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डिएसपी सन्तोष तामाङका अनुसार ०७४/७५ मा बैंकिङ कसुरका ५८ वटा र ०७५/७६ मा १ सय ५३ वटा उजुरी दर्ता भएका थिए। यस वर्ष पनि साउनयता ७६ उजुरी परिसकेका छन्।

प्रकाशित: २० पुस २०७६ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App