coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

मुस्ताङको घमीमा आएको बेमौसमी बाढी (फोटो फिचर)

पोखरा–वर्षा बिना नै हिमालपारिको जिल्ला मुस्ताङको घमीमा गत आइतबार भीषण बाढी आयो । बाढीपछि घमीका बासिन्दा त्रसित छन्। बाढी आएको ढाकमर खोलामा अझैपनि लेदो पानी बग्न रोकिएको छैन। बाढी आउनुको कारण पहिल्याइदिन गाउँलेले सरकारसँग माग गरेका छन्।

गाउँ भन्दा निकै माथिबाट आएको बाढीले भीषण रुप लिँदा आइतबार घमी– ८ र ९ वडाको ढाकमर गाउँमा क्षति पुगेको थियो। खोलामा लेदो पानी बगिरहेकोले थप बाढी आउनसक्ने डरले रातभर निदाउन नसकेको उनीहरुले बताए। ‘बाढी आउँदा भागेर ज्यान जोगायौं। अझैपनि खोलामा लेदो बगिरहेको छ,’ स्थानीय छिरिङ पाल्जोङ गुरुङले भनिन्, ‘बाढी आउँदा खोला नजिकका घरमा हिलो पसेको छ । अझै बाढी आउने हो कि भनेर डर छ ।’ बाढी आउँदा भागेर ज्यान बचाएको बताउने उनले आइतबारपछि घरमा सुत्न नसकेको बताइन्।

बाढीले बगाएका पुलका काठ संकलनमा गाउँले व्यस्त रहेको उनको भनाइ छ। ‘पुल बनाउनुपर्यो, त्यही भएर बगेका काठ खोज्न हिडेका छौं। यहाँ अरु काठ पाउन मुस्किल छ,’ उनले भनिन, ‘बगेको पुलका काठ केही भेटिएपनि भाँच्चिएका रहेछन्। तैपनि हामीले संकलन गरेका छौं। तिनै काठबाट पुल बनाएर कामचलाउन गर्ने हो ।’ हेलिकोप्टरमा माथिल्लो क्षेत्रमा पुगेर बाढी आएको कारण र ठाउँ हेरिदिए हुन्थ्यो भन्ने गाउँलेको चाहना रहेको उनले सुनाइन।  ‘बाढी आउने सम्भावना छ वा छैन भनेर थाहा पाउन पाए हुन्थ्यो,’ उनले भनिन्, ‘बाढी आउँदैन भन्ने ढुक्क हुन पाए घरमा बस्न सकिन्थ्यो। त्यसकालागि हेलिकोप्टरमा जानुको विकल्प छैन ।’

बेमौसमी बाढीले भीषण रुप लिँदा ढाकमर खोलाका ८ वटा काठेपुल बगेका छन् । त्यस्तै गाउँमा खानेपानी ल्याएको पाइप बाढीले बगाएको छ। खोलामा संचालित पानीघट्ट बगेका छन् । केही घरमा बाढीले बगाएको लेदो पसेको छ । गाउँमा बढेमानका ढुंगा खसेका छन् । बाढीले ठुलो खाडल पार्दै गाउँमा ढुंगा बगाएर ल्याएको स्थानीयले बताएका छन्।
उद्धारमा खटिएका प्रहरी सहायक निरिक्षक कृष्णबहादुर बाँनियाले गाउँलेहरु त्रासमा रहेको बताए। ‘खोलामा अझैपनि लेदो बगिरहेको छ। त्यसले गर्दा थप बाढी आउनसक्ने भन्दै गाउँले त्रसित भएका छन्,’ बाँनियाले भने, ‘सफा पानी बग्नुपर्नेमा कालो लेदो बगिरहेको छ । पानी सफा नहुँदा थप गाउँले त्रसित भएका छन् ।’ बाढी आउने त्रासले गाउँले रातभर निदाउन नसकेको उनले बताए ।

बाँनियाका अनुसार घमी ८–९ वडामा करिब ६० घर छन्। ती मध्ये अधिकांश घरमा मान्छे जाडो छल्न पोखरा लगायतका सहरमा झरिसकेको भएपनि घर कुरेर बसेका गाउँले रातभर निदाउन नसकेको उनले बताए। उनका अनुसार त्रसित गाउँलेले बाढी आएको ठाउँ र कारण पहिल्याइदिन स्थानीय प्रशासनसँग आग्रह गरेका छन्। गाउँलेले हेलिकोप्टर मगाएर बाढीको मुहान र कारण पत्ता लगाए मात्र आफुहरु निदाउन सक्ने भन्दै व्यवस्थाका लागि आग्रह गरेको उनले बताए ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले तत्काल हेलिकोप्टर पठाएर अवस्था हेर्ने बारे यकिन नभएपनि आवश्यक परेको खण्डमा परिचालन गर्न सकिने बताए ।

सबै तस्बिर सौजन्यः अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App