८ वैशाख २०८१ शनिबार
समाज

आठ बीटीएस टावरको काम अलपत्र पारेर निर्माण कम्पनी सम्पर्कविहीन

ओखलढुंगा– दुर्गममा मोबाइल नेटवर्क प्रभावकारी बनाउनका लागि ओखलढुंगाका आठ वटा स्थानमा निर्माण थालिएको बीटीएस टावरको काम वर्षौदेखि अलपत्र परेको छ। करिब चार वर्षअघि नेपाल टेलिकमद्वारा जिल्लाको आठ स्थानमा निर्माण थालिएको बीटीएस टावरको काम अलपत्र परेको हो।

ग्लोबल टेन्डर आह्वान गरेर निर्माण बीटीएस टावरको निर्माण थालिएको थियो। ठेकेदार कम्पनीले टावर निर्माणको काम अलपत्र पारेर सम्पर्कविहीन भएको छ। छ महिनाभित्र काम सक्ने गरि टेलिकमले करिब चार वर्षअघि ग्लोबल टेण्डरमार्फत भारतको एस्टर इन्डिया कम्पनीलाई बीटीएस टावर निर्माण गर्ने जिम्मा दिएको थियो।

देशैभर ६१ वटा बीटीएस टावर निर्माण गर्ने ठेक्का पाएको कम्पनीले जिल्लामा आठ वटा टावरको काम अलपत्र छाडेको छ। उक्त ठेकेदार कम्पनीले जिल्लामा आठ वटा टावर निर्माण गर्ने क्रममै सम्पर्कविहीन भएपछि टावर निर्माणको काम अलपत्र परको छ। ओखलढुंगाका बलखुको भिरगाउँडाडा, पलापु, कटुञ्जे, फूलबारी, पोकली, खिजीफलाटे, उबू र दियालेको डाडामा बीटीएस टावर निर्माण गर्ने काम अलपत्र अवस्थामा छ।

निर्माणाधीन टावर सञ्चालन गर्न दुई वर्षअघि नै बलखु, पलापु, खिजीफलाटे र कटुञ्जेमा सोलार सिस्टम जडानको जिम्मा पाएको अर्को कम्पनी आइबीएनले सोलार स्टिम जडानको काम सकेको छ। तीन वर्षअघि थालिएको टावर निर्माणको काम अझै पूरा नभएको सुनकोसी गाउँपालिका–१ बलखुका वडा सदस्य सहदेव गिरीले बताए। मोबाइल नेटवर्क प्रभावकारी बनाउन निर्माण थालिएका टावर नबन्दा यहाँका स्थानीयहरुले सास्ती खेप्नु परेको गिरीको भनाइ छ।

नेपाल टेलिकमको सेवा यस क्षेत्रमा प्रभावकारी नहुँदा निजि कम्पनीको महंगो शुल्क तिरेर मोबाइल प्रयोग गर्नुपरेको दुगाहरी जेरोले गुनासो गरे। यस विषयमा जिल्लास्थित दूरसञ्चार कार्यालयलाई केही जानकारी नभएको बताउदै आएको छ। गुनासो गर्न पुगेका नागरिकलाई केन्द्रीय र क्षेत्रीय कार्यालयलाई जिम्मेवार देखाउँदै फर्काउने गरेको छ।

टावर निर्माणका लागि हालै विभिन्न चरणमा ठेकेदार कम्पनीसँग टावर निर्माणका विषयमा छलफल चलेको नेपाल टेलिकम मोबाइल सेवा निर्देशनालयका वरिष्ठ इन्जिनियर जितेन्द्र शाहले बताए। बलखु, पलापु, खिजीफलाटे र कटुञ्जेमा सोलार सिस्टम जडानको काम दुई वर्षअघि नै भएकाले टावर निर्माण गरि उपकरण जडानको काम मात्र बाँकी छन्।

प्रकाशित: १९ पुस २०७६ १२:२१ शनिबार

बीटीएस_टावर कम्पनी