४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

जाडोमा बढ्छ हृदयघात ?

हृदयघात भनेको के हो ?

– मुटुमा  रक्तसंचार गर्ने नलीहरु हुन्छन्। यसलाई कर्नरी आर्टरी भनिन्छ। यी नलीहरुको काम  मुटुको मांसपेशीलाई आवश्यक पर्ने अक्सिजन,ग्लुकोज लगायत पोषण तत्व पु–याउने हो। कुनै कारणवस यी रक्तनलीमा अवरोध आयो भने  त्यो भागमा रक्तसंचार कम हुने र मुटुको मांशपेशीको मृत्यु हुन सक्छ। यसलाई हार्ट अट्याक अर्थात हृदयघात भनिन्छ।

– मुटुमा रक्तसंचार गर्ने दुई नलीहरु हुन्छन् ।  जसलाई लेफ्ट कर्नरी आट्री(वायाँ धमनी ) र राइट कर्नरी आर्टरी (दायाँ धमनी) भनिन्छ। वायाँ धमनीवाट थप दुई वटा ठूला नलीहरु हुन्छन्। यी वाहेक अन्य साना नलीहरु पनि हुन्छन्। यी ठूला नलीहरु मध्ये कुनैमा अवरोध भयो भने ठूलो हृदयघात हुन्छ र सानो नलीमा अवरोध भयो भने माइनर हर्टअट्याक हुन्छ। मुुटुमा दुई वटा ठूला रक्तनली हुन्छन्। दायाँ कर्नरी आर्टरी र वायाँ कर्नर? नली यी मध्ये एउटामा अवरोध आएमा ठूलो हृदयघात हुन्छ भने मुटुको साना नलीहरुमा अवरोध आयो भने माइनर हार्टअट्याक(सानो हृदयघात)  हुन्छ।

हामी कहाँ मेजर (ठूलो हृदयघात) हार्टअट्याक कि सानो हार्टअट्याक हुन्छ ?

समग्रमा १७ मिलियन अर्थात् १ करोड ७० लाख मृत्यु मुटु तथा रक्तनली सम्वन्धी रोगको कारणले हुने गरेको तथ्याकं छ। यो भनेको विश्वभरी प्रति वर्ष हुने कुल मृत्युको ३० प्रतिशत हो।  नेपालमा हृदयघात कति हुन्छ भन्ने बारेमा यकिन तथ्याकं छैन। विभिन्न संघसंस्थाले गरेको अध्ययन अनुसार नेपालमा  २५ प्रतिशत मानिसमा कुनै न कुनै मुटु सम्वन्धी रोग लाग्ने गरेको तथ्याकं छ।  

हृदयघात भएर आउने बिरामीको संख्या मनमोहन सेन्टरमा कति छ त ?

– अस्पतालको तथ्याकं अनुसार वर्षमा लगभग २ हजार जनाले कर्नरी एनजिओग्राफी गर्छन्। त्यो भनेको हृदयघातको सम्भावना भएका र भइसकेका दुवै  समुह पर्छन्। मुटुको नलीको रोग भएका व्यक्ति पनि भन्न सकिन्छ।

जाडोमा गर्मीको तुलनामा बढी हृदयघात किन हुन्छ ? कसरी बच्ने ? प्रस्तुत् मनमोहन कार्डियो भाकुलर,थोरासिक एण्ड ट्रान्सपलान्ट सेन्टरका सह–प्राध्यपक तथा मुटुसर्जन डा.अनिल भट्टराईसित गरेको कुराकानी। भट्टराईले रुसवाट एमविविएस र एमएस अध्ययन गरेका छन् भने इटलीवाट मुटु शल्यक्रिया बिषयमा पिएचडी गरेका छन्।

एनजिओग्राफी भनेको के हो ?

– मुटुमा रक्तसंचार गर्ने नलीको जाँच हो। यो प्रक्रियामा मुुटुको रक्तनलीमा अवरोध छ या छैन ?,नलीमा जाली राख्नु पर्छ या पर्दैन भन्ने अवस्थाको जाँच गर्ने बिधि हो। सम्भावित हृदयघात छ भने यो बिधिवाट पहिल्यै रोग पहिचान गर्न सकिन्छ र भविष्यमा हुने हृदयघातबाट बचाउन सकिन्छ।

जाडोमा हृदयघात किन बढ्छ ?

– जाडोमा गर्मीको तुलनामा हृदयघात बढ्ने कुरा यथार्थ हो। जाडोमा बढ्नुको कारण पहिला नै कुनै पनि मुटुको रोग छ या मुटुको नली पहिल्यै साँघुरो भइसकेको छ भने चिसोले यो बढेर जान्छ। अर्थात् चिसोको कारण रगतका नलीहरु साँघुरो बन्छन्।  त्यसै गरी जाडोमा भिटामिन डीको कमी हुन्छ। जुन भिटामिन मुटुको लागि आवश्यक मानिन्छ। चिसोमा शरिरको ताप बाहिर नजाओस् भन्नका लागि शरिरको नशा खुम्चिन्छ। जो व्यक्ति विहानै चिसोमा बाहिर निस्कदा चिसो हावा चलिरहेको छ भने नशा खुम्चिने प्रक्रिया बढी हुन्छ। त्यसले गर्दा जसको पहिल्यै नशा साँघुरो भइसकेको छ। उनीहरुको चिसोको कारणले १०० प्रतिशत नशामा अवरोध आयो भने उनीहरुमा हृदयघात हुने कारण हो। चिसोले अवरोध भन्दा पनि नसा खुम्चाउने गर्छ।

हृदयघातको जोखिम समुहमा को को पर्छन् ?

– पहिलो त वंशाणुगत समस्या आउँछ। जसमको परिवारमा हृदयघात भएको इतिहास छ भने,पहिला नै हृदयघात भएका व्यक्ति जसको समयमै उपचार भएन भने, जसको रगतको नशा बिभिन्न कारणले पहिला नै साँघुरो बनिसकेको छ,मधुमेहको बिरामी,शरिरमा कोलस्ट्रोल,उच्च रक्तचाप भएका व्यक्ति,धेरै तनावमा बाँचिरहेका,मोटोपना बढी भएका,अत्यधिक रक्सी सेवन गर्ने र धुमपान गर्ने मानिसहरु यसको जोखिममा पर्छन्।

यो जाडो बढेपछि हृदयघात भएर आउने बिरामीको संख्या कस्तो छ ?

– हृदयघात हामी कहाँ गर्मीको तुलनामा बढी नै छन्। जस्तो कि मुटुको नलीको वाइपास सर्जरी गर्ने संख्या बढी छ। त्यसै गरी एनजिओग्राफी गर्नेको संख्या पनि बढेको छ। यो बढ्नु भनेको मुटुको नलीमा समस्या आएको या हृदयघात भइसकेका र सम्भावित जोखिम समुहको संख्या बढेको हो भनेर बुझ्नु पर्छ।जाडोमा संधै बढी हुन्छ। पहिला हृदयघात भएर आउनेहरुमा एनजिओग्राफी गर्ने हुन्छन्।

मधुमेह भएका व्यक्ति कसरी हृदयघातको जोखिममा हुन्छन् ?

– मधुमेह भएका मानिसको रगतको भित्री नलीको लेयर ग्लुकोजले नष्ट गरेको हुन्छ। मधुमेह ग्लुकोजको ाकारणले शरिरमा दुई किमिसका नशा हुन्छन्। एउटा रक्तसंचार गर्ने नशा  अर्को स्नायु नशा। मधुमेहले रक्तनलीको भित्री लेयर नष्ट गरिदिन्छ। नष्ट भएको नलीमा वोसो बस्ने प्रक्रिया छिटो हुन्छ। जसले गर्दा जाडोमा हृदयघात हुने सम्भावना बढी हुन्छ। मधुमेह नभएका व्यक्तिमा ७० वर्षमा हृदयघात हुन सक्छ भने मधुमेह भएकामा ५० औ वर्षमा हृदयघात हुन सक्छ।

अहिले हृदयघातका बिरामी कति आइरहेका छन् ?
 
– मुटुको वाइपास सर्जरीको संख्या,एनजिओग्राफी गर्नेहरुको संख्या यतिखेर बढेको छ। एनजिओग्राफी गर्नु भनेको हृदयघात भएर आएकालाई तुरुन्तै जाली हाल्नु पर्ने अवस्था। जाली हाल्न नमिल्ने वा तीन वटै नली ब्लक भएको अवस्थामा छाति खोलेर (वाइपास सर्जरी गर्नु पर्छ।)। एनजिओग्राफी गर्दा दुई वटा कुरा हुन्छ। एउटा प्राथमिक पिसिआइ भन्ने हुन्छ। हार्ट अट्याक भएर तुरुन्त आईपुथ्यो भने तुरुन्तै जाली हाल्ने। ढिला आउनेलाई जाली हाल्ने र नहाल्ने विकल्प हुन्छ। जाली हाल्न नमिलेको अवस्थामा छाति खोलेर शल्यक्रिया गर्ने विकल्प मात्र हुन्छ।

बिरामी कुन अवस्थामा आइपुग्छन् ?

– सक्दो छिटो अस्पतालमा पुगेमा बचाउन सकिन्छ। तर सवै विरामी समयमै अस्पताल पुग्ने अवस्था छैन। अहिले उपत्यका बाहिरका मुख्य सहरमा मुटुको उपचार हुन्छ। तर ढिला पुगेको कारणले बढी हृदयघातको कारणले मृत्यु हुने गरेको छ। सहरी क्षेत्रका मानिस त समयमै पुग्न सक्छन्। तर विकट गाउँको मानिसको हकमा यो कम हुन्छ। दुर्गम क्षेत्रका बिरामीमा ठूलो हृदयघात भयो भने मृत्यु हुने गर्छ। सहरमा पनि ढिला गरी अस्पताल पुग्ने चलन छ। काठमाडौंमै पनि छाति दुख्यो भने ग्याष्टिक दुख्यो भनेर ग्याष्टिकको औषधी खाएर बस्ने धेरै छने। यसमा  बुझ्नु पर्ने कुरा के छ भने यदि कुनै पनि खालको छातिको वीच भाग या देबे्र भागमा दुखाई एक्कासी दुख्यो भने मुटुको समस्या हुन सक्छ भनेर मुटुरोग बिशेषज्ञलाई देखाउनु उचित हुन्छ।

विरामीले आफुलाई  हृदयघात हुँदैछ भन्ने संकेत केही पहिल्यै समय देखिन्छ कि देखिंदैन ?

–  थाहा पाउन छातिको देबे्रपट्टि दुखेको हुन सक्छ। बिशेष गरी धेरै तला भ¥याङ चढ्दा,गह«ौं काम गर्दा छातिको देबे्र भाग या वीच भागमा दुख्यो भने कालान्तरमा हृदयघात हुन सक्छ। अर्को देबे्र भागको दुखाइ वायाँ हाततिर समेत पुग्यो भने,कुनै पनि काम गर्दा ,भारी उठाउँदा दुखाइ बढ्न थाल््याो भने भविष्यमा हृदयघातको जोखिम छ भन्ने व्यक्तिले बुझ्नु पर्छ।


हृदयघात हुँदै गर्दा कति समय भित्र अस्पाल पुगिसक्नु पर्छ ?

– सक्दो छिटो पुग्नु पर्छ। माइनर हर्टअट्याक(सानो हृदयघात) हो भने उपचापछि निको हुन्छ। मेजर हर्ट अट्याक (ठूलो हृदयघात) भयो भने उपचार नहुन सक्छ। अकस्मात हृदयघात हुनै खोज्यो भने बिरामीले घरैमा एस्पिरिन औषधी ७५ एमजीको दुई चक्की खान सकिन्छ। यो औषधीले रगत पातलो बनाएर रक्तसंचारको अवरोध हटाउन सक्छ।


तुरुन्तै हुन लागेको हृदयघातको लक्षण के के हुन् ?

– छातिको वीच र दायाँ भागमा असहय दुख्नु,वाक–वाक लाग्नु,वान्ता हुनु,चिट–चिट पसिना आउनु,कडा पीडा हुनु, रिंगटा चल्ने र वहोस भएर ढल्ला जस्तो हुने लक्षण हुन्छन्।

नेपालमा हृदयघात बढेको भनिन्छ , यथार्थ के हो ?

बढेको पनि छ र रोगको पहिचान पनि बढेको छ। पछिल्लो समय हाम्रो जीवनशैलीमा आएको परिवर्तनले मुटु स्वास्थ्यमा असर परेको छ। पछिल्लो दश वर्षमा पाँच गुणाले बढेको देखिन्छ। मुख्य कुरा व्यायमको कमी हो।पहिलाको जीवनशैली शारिरीक व्यायमसित सम्वन्धित थिए। अहिले खानपान र व्यायम दुवै मिलेको छ। शरिरलाई चाहिने भन्दा बढी क्यालोरी खाने,घरमा सवैले भात कम खायो भन्ने,भातै खान्न डा.साप भन्ने,सागपात तरकारीसित मतलव छैन। तपाइँले एक कचौरा भात खाँदा दुई कचौरा पनि सागपात खांदैनौं।

पहिला नेपाली सवै साहकारी थिए। अहिले दिन–दिनै मासु खान्छौं। धुमपान र प्रदुषण उत्तिकै छन्। धुवाँले रक्तनलीको भित्री लेयरलाई नष्ट गर्छ। नष्ट भएको भागमा क्याल्सियम तथा वोासो जम्मा भएर साँघुरिन्छ। यो कारणले पनि हृयदघातको जोखिम बढ्छ। पछिल्लो समय नेपालीहरुमा रक्सीको सेवन पनि जीवनशैली बन्दै गएको छ। जुनसुकै पार्टीमा रक्सीको समावेश हुन थालेको छ। अहिले सीमित जातजातिवाट सवैजातजातिमा रक्सीको सेवन पुगिसकेको छ। आजको मानिसको जीवनशैली पनि उत्तिकै तनावपुर्ण छ। यसले पनि मुुटुको रक्तनली साँघुरिन्छ।

 जाडोमा हृदयघातबाट बच्न के गर्ने  ?
 
– जोखिम समुहका मानिसहरु ,मधुमेह,उच्च रक्तचाप,रक्सी –चुरोट सेवन गरिसकेका,चालिस वर्ष भन्दा माथिका,मोटापना बढी भएकाहरु,एक पटक पहिल्यै हृदयघात भइसकेका व्यक्तिहरु विहानै चिसोमा बाहिर ननिस्कने,एकदम चिसो पानीमा ननुहाउने,घाम लागेपछि मात्र हिंड्ने या व्यायम गर्ने,तातो कपडा लगाउने गर्नु पर्छ। यो संगै उच्चरक्तचाप,मधुमेह ,उच्च कोलस्ट्रोल भएका व्यक्तिहरुले नियमित औषधी खाने।


नेपालमा हृदयघातको उपचारको अवस्था कस्तो छ ?

– हृदयघातको उपचार सवैको पहुँचमा छैन। सवै प्रदेशमा समयमै पुग्ने गरी मुटुरोगका अस्पतालहरु छैनन्। यो कारण अस्पतालदेखि टाढा रहेका,दुर्गमका विरामी समयमै अस्पताल पुग्न सक्दैनन्। यदि सवैको पहुँचमा मुटुरोग उपचार केन्द्र हुने हो भने अहिलेको संख्यामा हदृयघातवाट धेरै मानिसहरु मर्नु पर्दैन।

प्रकाशित: १९ पुस २०७६ ०५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App