coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

तिवारी हत्यामा आपराधिक समूह

बुटवल–युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी अध्यक्ष दुर्गा तिवारी हत्यामा संगठित आपराधिक गिरोहको संलग्नता पाइएको प्रहरीले जनाएको छ । हत्याबारे प्रारम्भिक अनुसन्धानमा राजनीतिक कारणभन्दा आपराधिक गिरोहको संलग्नता पाइएको रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जानकारी दिएका छन् ।

उनका अनुसार हत्यामा आफ्नो संलग्नता स्वीकार गर्दै स्थानीय सञ्चारमाध्यम र देवदहका आधा दर्जन व्यक्तिलाई मनोज बुढामगरले फोन गरेका छन् । आपराधिक क्रियाकलापमा संलग्न उनी एक वर्षदेखि फरार छन् ।

गत फागुन ६ गते देवदहको वसन्तपुरमा तिवारीलाई गोली हान्ने प्रयास भएको थियो । गोली हानिए पनि मिस फायर भएकाले तिवारी जोगिएका थिए । यो घटनाको प्रहरीले अनुसन्धान गर्दा देवदह–२ निवासी मनोजकै संलग्नता भएको खुलेको थियो ।

‘मनोजकै सेरोफेरोमा रहेर अनुसन्धान सुरु गरेका छौँ । पहिलेका घटना केलाएर विश्लेषण गर्दै काम अघि बढेको छ,’ एसपी धानुकले भने । अनुसन्धानको केन्द्र मनोजलाई बनाइए पनि अरु पक्षतिर पनि अनुसन्धान हुने उनको भनाइ छ ।

स्कुल पढ्दा ०६० तिर माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारी हुँदै मनोज वाइसिएलमा संगठित थिए । त्यसै बेलादेखि उनी चन्दा असुली, फिरौती र अपहरणमा लागेको बताइन्छ । संगठन र पार्टी नेतृत्वको आदेशअनुसार नचलेकाले पार्टीले हटाउन खोजेपछि उनी ०६६ मा एमालेको युवा संघमा प्रवेश गरेका थिए । युवा संघ रुपन्देही क्षेत्र नम्बर १ को कोषाध्यक्ष रहेका उनी ६ महिना पनि युवा संघमा टिक्न नसकेको एमाले नेता बताउँछन् । त्यसबेला उनी संगठनको अनुशासनविरोधी र अराजक गतिविधिमा लागेपछि कारबाही गरेको युवा संघका सचिवालय सदस्य देवराज पोखरेलले बताए ।

रुपन्देही देवदहका व्यवसायी र राजनीतिक दलका कार्यकर्तालाई धम्क्याउँदै चन्दा आतंक विस्तार गरेपछि उनको चर्को आलोचना भएको थियो । आपराधिक क्रियाकलाप गरेको पाइएपछि उनलाई प्रहरीले खोजी गरेको थियो । गएको दसैँ अघिदेखि उनी फरार हुँदै आएका हुन् ।

गत फागुन ६ गते तिवारीलाई गोली हानिएपछि प्रहरीले मनोजको आपराधिक समूहका आठ जनालाई पक्राउ गरी संगठित अपराध ऐनअन्तर्गत कारबाही अघि बढाएको छ । त्यसबेलाको घटना अनुसन्धान गर्दै जाँदा धम्क्याएर पैसा असुल्ने समूह पत्ता लागेको अनुसन्धान संलग्न प्रहरी अधिकारीको भनाइ छ ।

मनोजको आपराधिक कनेक्सनमा शालिकराम चापागाई, ऋषि घिमिरे, राजेन्द्र धमेल, सञ्जोस नेपाली, उग्रेन गुरुङ, बेनीराम सोमै, चित्रबहादुर गुरुङ र रवि केसी रहेको खुलेपछि प्रहरीले उनीहरूलाई  काठमाडौं, बुटवल र पोखराबाट पक्राउ गरी संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ । उनीहरू अहिले पुपक्र्षका लागि थुनामा छन् । पुपक्र्षका लागि थुनामा रहेकामध्ये घिमिरे नवलपरासी सुनवलका हुन् भने अरु सातजना रुपन्देही देवदहका हुन् ।

केही सहयोगी पक्राउ परे पनि भारतको गोवा, लखनउ, दिल्ली र थाइल्यान्डको बैंककमा बस्दै आएका मनोजलाई पक्राउ गर्न नसक्दा अरु सहयोगी परिचालन गरेर अहिले तिवारीको हत्या भएको प्रहरीको अनुमान छ ।

एमालेमा रहेर संरक्षण हुन नसकेको र आफ्ना आपराधिक क्रियाकलापको तिवारीसहित युवासंघका युवाले प्रतिवाद गर्दै आएकाले मनोजले एमाले कार्यकर्तालाई निसाना बनाउँदै धम्की दिएका छन् । तिवारीको हत्यापछि सोमबार उनले देवदहका आधा दर्जन एमाले र युवासंघका कार्यकर्तालाई ‘अब तिमीहरूको पालो’ भन्दै धम्क्याएको पाइएको छ ।

‘उनले गर्ने कल हेर्दा नम्बर देखिँदैन, अननोन र प्राइभेट नम्बर आएकाले कहाँबाट फोन आएको हो भन्ने जानकारी हुन सकेको छैन । तर, अनुसन्धानका क्रममा खुल्दै जानेछ,’ इलाका प्रहरी कार्यालय बुटवल प्रमुख डिएसपी मुकुन्द मरासिनीले भने ।

०७२ कात्तिक २२ गते दिउँसो व्यस्त खैरेनी बजारस्थित पुल हाउसमा २० वर्षीय नारायण बस्नेतको खुट्टामा गोली हानिएको थियो । नारायणलाई गोली हान्ने पनि मनोजकै समूहका व्यक्ति भएको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।
दिनदहाडै व्यस्त बजारनजिकै गोली हानी हत्या गर्ने, फोन गर्दै हत्या स्वीकार गर्ने तर संलग्न अभियुक्त पक्राउ नपरेकाले स्थानीय त्रसित बनेका छन् ।

प्रकाशित: ६ पुस २०७३ ०४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App