coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'एमसीसीबारे नेपालले आफ्नो हित हेर्नेछ'

काठमाडौ – नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले पछिल्लो समय विवादित भइरहेको अमेरिकन अनुदान सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेशनबारे नेपालले आफ्नो हित हुने गरी निर्णय गर्ने बताएकी छिन्। शुक्रबार काठमाडौस्थित चिनियाँ दूतावासमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा यस्तो बताएकी हुन्।

नेपाल कम विकसित मुलुक भएकाले नेपाललाई अन्तर्राष्ट्रिय सहयोग र सहायताको खाँचो रहेको भन्दै उनले त्यो सहयोग चीनबाट मात्र लिनुपर्छ भन्ने नहरेको बताइन। ‘नेपालले कुनै पनि अन्तराष्ट्रिय सहायता स्वीकार गर्न सक्छ यदी त्यो आर्थिक सहायताका रुपमा दिन खोजिएको हो भने,’ उनले भनिन, ‘म के आशा गर्छु भने नेपाली पक्षले कुनै दबाब बिनै यसमा स्वतन्त्र रुपमा निर्णय गर्नेछ।’। यसमा नेपाल सरकारले मुलुकको हित हुने गरी सकारात्मक निर्णय गर्ने उनको भनाई थियो।

हालै नेपालमा पक्राउ परेका चिनियाँ नागरिकका बारेमा बोल्दै राजदूत याङछीले उनीहरु पर्यटन भिसामा नेपाल आएर अन्य गतिविधिमा संलग्न भएकाले चिनियाँ पक्षकै सहयोगमा पक्राउ परेको बताइन्। ‘उनीहरुले पर्यटक भिषामा नेपाल आएका थिए तर त्यसमध्य कतिपय साइबर अपराधमा पनि संलग्न भएको हामीले पायौँ। त्यसैले चिनियाँ पक्षले नै नेपाली पक्षलाई सूचना नेपाली पक्षलाई उपलब्ध गराएपछि नेपाल प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो,’ उनले भनिन। पक्राउ परेका उनीहरुमाथि हिराशतमा राखेर दुवै पक्षबाट अनुसन्धान भइरहेको राजदूत याङछीको भनाई थियो। अनुसन्धानको प्रक्रिया पुरा भएपछि थप जानकारी गराउने पनि उनले बताइन। यसले नेपालको पर्यटन बजारलाई पनि सहयोग पुग्ने उनको विश्वास थियो। चिनियाँ सरकार विदेशमा रहेको आफ्ना नागरिकको कानुनी अधिकारप्रति सचेत भएपनि गैरकानुनी गतिविधिलाई कहिले पनि संरक्षण नगर्ने उनको भनाई थियो।

राजदूत याङछीले चाइन– इन्डिया प्लस वान भनेको त्रिपक्षिय साझेदारी भएको प्रष्ट पारिन। ‘यसको अर्थ सानो मुलुकमा खेल्ने भन्ने होइन। यो विन विन साझेदारी हो,’ उनले भनिन। त्यो प्लस वान नेपाल भएमा त्यो सहकार्य नेपाली पक्षको माग र प्रस्तावका आधारमा हुने उनले प्रष्ट पारिन। त्रिपक्षिय साझेदारीमा पूर्वाधार, टेलिकम्युनिकेशन लगायतका क्षेत्र हुनसक्ने भन्दै उनले अफगानिस्तान, चीन र इन्डिया प्लस वानको सफल उदाहरण भएको बताइन। अफगानिस्तानमा चीन र भारतमात्र नभएर चीन र अमेरिकाबीचमा पनि सहकार्य भएको उनको भनाई थियो।

हङकङ र सेन्जियानमा पश्चिमा शक्तिहरुले खेल्न खोजिरहेको भन्दै राजदूत याङछीले पश्चिमा शक्तिहरुको दोहोरो भूमिका देखिएको आरोप लगाइन। उनले केही पश्चिमा शक्तिहरु चीनलाई समृद्ध र स्थायीत्व भएको हेर्न नचाहेको बताउँदै उनले त्यस्ता शक्तिले नेपाल र चीनकाबीचमा पनि राम्रो सम्बन्ध नहोस भन्ने चाहेको बताइन्। त्यस्ता किसिमका गतिविधिप्रति चीनको चासो भएको उनको भनाई थियो। नेपाल र चीनकाबीचमा कुनै किसिमको असमझदारी नरहेको भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी जिङ पिङको राजकीय भ्रमणले दुई मुलुकबीचको सम्बन्ध थप उचाइमा पुगेको बताइन्। नेपाल र चीनकाबीचमा विगतका वर्षहरुमा विकास निर्माण लगायतका क्षेत्रमा महत्वपूर्ण सहकार्य र साझेदारी रहेको भन्दै उनले आगामी वर्षमा पनि दुई मुलुकबीचको आपसी फाइदा र विन विन नतिजाका लागि सहकार्य जारी रहने बताइन्।

प्रकाशित: १९ पुस २०७६ ०१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App