८ वैशाख २०८१ शनिबार
राजनीति

दसगजा खाली गराउँदै सशस्त्र

मटिअर्वामा दसगजा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरा हटाउँदै जनप्रतिनिधि र सुरक्षाकर्मी। तस्बिर : नागरिक

बारा – सीमावर्ती मटिअर्वामा स्थानीयको अतिक्रमणमा परेको दसगजा क्षेत्रमा रहेका घर–टहराहरू जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा शुक्रबार खाली गराइएको छ। नेपाल–भारत छुट्याउने अन्तर्राष्ट्रिय सिमाना दशजगा क्षेत्रमा नेपालतर्फ नेपाली र भारततर्फ भारतीयहरूले अतिक्रमण गरी विभिन्न घर–टहराहरू निर्माण गरेका थिए।

नेपालतर्फ कलैया उपमहानगरपालिका–१० मटिअर्वामा पर्ने अतिक्रमित दसगजा क्षेत्रलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी र वडाध्यक्ष शंकर साह गुप्ताको सहयोगमा खाली गराइएको सशस्त्र प्रहरी बल, बिओपी (बोर्डर आउट पोस्ट) मटिअर्वाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीले बताए। जोशीका अनुसार भारतमा पर्ने लालाछपरातर्फ अतिक्रमिण दसगजा क्षेत्रलाई भने भारतीय सीमा सुरक्षा बल एसएसबीका कमान्डर अनिल सिंहको नेतृत्वमा खटिएको टोलीले दसगजा खाली गराएको थियो।

नेपाल र भारतको सिमाना छुट्याउन लगभग १० मिटर चौडा दसगजा क्षेत्रमा कुनै घर–टहरा निर्माण नगरी खाली छोडनुपर्नेमा दुवैतर्फका स्थानीयले दसगजा अतिक्रमण गरेका थिए। मटिअर्वातर्फ दसगजा अतिक्रमण गरी एक दर्जनजति घर–टहराहरू बनाई मदिरा, नास्ता र किराना पसलहरू सञ्चालन भइरहेकोमा ती सबैलाई खाली गराइएको जोशीले बताए।

एक किलोमिटर दसगजा क्षेत्रलाई अतिक्रमण गरि घर–टहरा निर्माण गरिएकोमा शुक्रबार तीन सय मिटर खाली गराइएको र बाँकी अतिक्रमित क्षेत्रलाई पनि क्रमशः खाली गराउने सशस्त्र प्रहरीको योजना छ।

प्रकाशित: १९ पुस २०७६ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App