coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रोकियो उखु किसानको आन्दोलन

काठमाडौं – सरकार र आन्दोलनरत उखु किसानबीच पाँचबुँदे सहमति भएको छ। शुक्रबार उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा किसानको बक्यौता भुक्तानी र समस्याको दीर्घकालीन समाधानका लागि सरकारले गृहकार्य गर्नेगरी सम्झौता भएको हो। सहमतिसँगै आन्दोलनरत किसानले आन्दोलन स्थगित गरेका छन्।

सहमतिमा माघ ७ गतेभित्र किसानको बक्यौता रकम भुक्तानी गर्ने र त्यसको जिम्मा मन्त्रालयले लिने, उखुको उत्पादकत्व बढाउन किसानलाई समयमै मलबीउ, मेसिनलगायत उपलब्ध गराउने, नेपाली चिनी उद्योगलाई आत्मनिर्भर बनाउन पहल गर्ने, उखु बिक्री गरेको रकम तुरुन्त भुक्तानी हुनेगरी स्वचालित प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालय सहसचिवको संयोजकत्वमा किसान प्रतिनिधि र विज्ञ सम्मिलित कार्यदल बनाउने र कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ।

सरकारले अनुदानबापत प्रदान गर्ने रकम तुरुन्त उपलब्ध गराउन वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि तथा अर्थ मन्त्रालयमा अनुरोध गरी पठाउने भएको छ। उखु किसानको भुक्तानी, चिनीको आपूर्तिलगायतका विषयमा कुनै समस्या वा गुनासो आएमा तत्काल सम्बोधन गर्न सरकारले आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखाका रुपमा तोक्ने सहमतिसमेत भएको छ।

किसानले सरकारसँग उखु किसानले ६ वर्षदेखि पाउन बाँकी रकम किसानको खातामा जम्मा हुनुपर्ने, उद्योगले सरकारले तोकेको मूल्यभन्दा ३६ रुपैया कम दिँदै आएकाले सो रकमसमेत पाउनुपर्ने, सुक्खा कटीबापत काटिएको एक प्रतिशतभन्दा बढी रकम पाउनुपर्ने, उखुको बिमा गराउनुपर्ने माग राखेका थिए। साथै उखु तौल गरेको १६औं दिनभित्र भुक्तानी दिइसक्नुपर्ने, उखु उद्योगमा ल्याएको ३६ घण्टाभित्र तौल गरिसक्नुपर्ने, बीउबिजन र मल डिपोको व्यवस्था हुनुपर्नेलगायतका माग पनि उनीहरुले अघि सारेका थिए।

सरकारसँग पाँचबुँदे सहमति। माघ ७ गतेभित्र किसानको बक्यौता रकम भुक्तानी गर्ने र त्यसको जिम्मा उद्योग मन्त्रालयले लिने सहमति भएको छ।

किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले सरकारसँगको सहमतिले किसानका धेरै माग सम्बोधन हुने देखिएको बताए। ‘उहाँहरुले सम्झौतामा जुन कुरा उल्लेख गर्नुभएको छ, त्यो पूरा हुन्छ भन्ने हाम्रो विश्वास हो,’ उनले भने, ‘सम्झौताअनुसार काम नभए फेरि आन्दोलनमा जानेछौं, त्यसैले अहिलेलाई आन्दोलन स्थगितमात्र भएको भनेका छौं।’ मिश्रले वर्षौंदेखि बक्यौता उठाउन नपाएका किसान त्यसको जिम्मा सरकारले लिएपछि खुसी भएको बताए। ‘मिल मालिकलाई १५ महिनादेखि भेट्न नसकेका हामीलाई सरकारले ग्यारेन्टी दिनु नै ठूलो उपलब्धि हो,’ उनले भने, ‘अब बाँकी मागमा पनि सरकार सहयोगी बनोस् र किसानलाई उत्पादन गर्ने वातावरण बनाओस्।’

दुई सातादेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका किसानसँग बुधबार पनि सरकारले वार्ता गरेको थियो। बुधबारको वार्ता सहमतिनजिक पुगे पनि थप छलफल र लिखित सम्झौता गर्नुपर्ने किसानको मागका आधारमा शुक्रवार फेरि वार्ता भई सहमति भएको हो। शुक्रबार वर्षाबीच पनि माइतीघर मण्डलमा किसानले आन्दोलन जारी राखेका थिए। आन्दोलनमा प्रहरी धरपकडसमेत भएको थियो। प्रहरीले आन्दोलनरत किसानलाई केही क्षण नियन्त्रणमा राखेर छाडेको थियो।

यसै बीच आन्दोलनमा रहेका किसानलाई नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले लुगा वितरण गरेका छन्। बजगाईंले शुक्रबार माइतीघर मण्डलमा पुगेर उखु किसानलाई ज्याकेट वितरण गरेका हुन्। उनले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सरकारले श्रमजीवी किसानका समस्या बिर्सिएको आरोप लगाए। किसानको भोटमाथि राजनीति गर्दै सरकार चलाउने तर किसानलाई बेवास्ता गर्ने काम भएको उनले बताए। आन्दोलनरत किसानलाई जाडोको समयमा सामान्य सहयोग होस् भन्ने हेतुले ७० हजार रुपैयाँबराबरको ज्याकेट वितरण गरिएको उनले जानकारी दिए।

प्रकाशित: १९ पुस २०७६ ०१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App