coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अस्पताल सुधार्दै स्वास्थ्यमन्त्री

चितवन-हरियाली बगैंचाको बीचमा सेता भवन– बाहिरबाट हेर्दा चिटिक्कको छ भरतपुरस्थित क्यान्सर अस्पताल। बिपी कोइरालाको नाम राखेर चीन सरकारले मित्रताको प्रतीकस्वरुप १७ वर्षअघि बनाइदिएको उक्त अस्पताल बाहिरबाट हेर्दा देखिनेजस्तो सानदार कदापि छैन। केही वर्षअघिसम्म एसियाकै राम्रो मानिएको क्यान्सर अस्पताल अहिले बेथितिको नमुना बन्दै छ।

नाम बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भए पनि क्यान्सर उपचार गराउने अवस्था आए बिपीनिकट रहेका समेत उक्त अस्पताल टेक्दैनन् । विसं २०५६ को असोजदेखि सञ्चालनमा आएको उक्त अस्पताल सुरुमा साँच्चै सानदार थियो तर अस्पतालको विश्वसनीयता बिस्तारै गुम्दै गयो । अहिले विदेश वा काठमाडौं जान नसक्ने मात्र उक्त अस्पताल जान बाध्य छन् ।

‘निश्चिय नै अस्पताल पहिलेको जस्तो पक्कै छैन । समस्या धेरै नै छन् । ती समस्या कुनै एक खास कारण नभएर अनेक कारण आएका हुन्,’ अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. प्रकाशराज न्यौपानेले भने। अस्पतालमा सेवा लिन जाने बिरामीले उचित उपचार नपाएको गुनासो गरेकै हुन्छन् । अस्पतालका उपकरण बिग्रेर बसेका हुन्छन् । चिकित्सक र प्राविधिक चाहिएका बेला भेट्न पाइँदैन ।

क्यान्सर अस्पतालमा कार्यरत चिकित्सक र प्राविधिक आवासीय रुपमा अस्पताल परिसरमै बस्छन् । सो सुविधाबापत उनीहरुले अन्य अस्पतालमा समेत काम गर्न नपाउने गरेर नीतिगत रुपमै बन्देज लागेको थियो । सो बन्देजको पालना केही समय पहिले भएको पनि थियो तर केही वर्षपछि अटेर गर्न थाले । पछि बाहिरका अस्पतालमा काम गर्न नपाउने बन्देज नै खारेज भयो ।

‘६०÷६१ सालतिर यो प्रावधान खारेज भएपछि अस्पतालको सेवा खस्कने दिन पनि सुरु भयो,’ अध्यक्ष न्यौपानेले भने । उनी कुनै बेला भरतपुर क्यान्सर अस्पतालकै चिकित्सक थिए । हाल उनी भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छन् । तर गत वर्ष असोजमा भरतपुर क्यान्सर अस्पतालको अध्यक्ष पनि बने । भरतपुर क्यान्सर अस्पतालका प्राय चिकित्सक र प्राविधिक बाहिरका निजी अस्पतालमा पनि काम गर्छन् ।

                निजी अस्पतालमा काम गर्ने मात्र होइन, उनीहरुले आफैँ अस्पताल सञ्चालन गरेका उदाहरण पनि छन् । त्यसैले भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि भनेर आएका बिरामी भरतपुर चौबिसकोठी क्षेत्रमा रहेका निजी अस्पतालमा उपचार गराइरहेका भेटिन्छन् । गत वर्ष चितवन जिल्ला प्रशासन कार्यालयले अस्पताल समयमै निजी अस्पतालमा काम गरेका चिकित्सक र प्राविधिकलाई नियन्त्रणमा लिएको थियो ।

निजी अस्पतालमा पठाउने बिचौलिया क्यान्सर अस्पतालभित्रै खटिने गरेका छन् । चितवन प्रहरीले उनीहरुलाई अस्पताल परिसरबाटै समाउने गरेको थियो । प्रहरी प्रशासनले सक्रियता देखाउँदा केही सुस्ताउने र त्यसपछि सक्रिय हुने बिचौलियाले अस्पताल आउने बिरामी दिक्क छन् ।

अध्यक्ष र कार्यकारी निर्देशकलाई स्वास्थ्यमन्त्रीको स्पष्टीकरण:

स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गरेपछि भरतपुर गएका स्वास्थ्यमन्त्री गगन थापाले त्यहाँको अर्को सरकारी अस्पताल भरतपुर अस्पतालको मुक्तकण्ठले प्रशंसा गरे तर भरतपुर क्यान्सर अस्पतालबारे गुनासो आएको भन्दै अधिकारीलाई सजग गराउने गरेका थिए । स्वास्थ्यमन्त्री थापा भेटभाटका बेला दिइएको चेतावनीमा मात्रै सीमित रहेनन् ।

उनले कात्तिक २८ मा मन्त्रालयको जनस्वास्थ्य प्रशासन, अध्ययन तथा अनुगमन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाए । सोही समितिले स्थलगत अध्ययनका आधारमा तयार गरेको प्रतिवेदनमा आधारित रहेको मन्त्रालयले क्यान्सर अस्पतालका सञ्चालक समिति अध्यक्ष डा. प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा. सिबी पुनसँग स्पष्टीकरण मागेको छ ।

मन्त्री थापाका प्रेस संयोजक जीवन भण्डारीका अनुसार कर्मचारी प्रशासन राम्रोसँग नचलाएको, विकिरणयुक्त अस्पतालको फोहरको वैज्ञानिक व्यवस्थापन नभएको, कार्यालय समयमै चिकित्सक र कर्मचारी अन्यत्र काम गर्न गएको, अस्पतालमा भएका उपकरणक उचित मर्मत र नभएका उपकरण खरिद गर्न चासो नदेखाएको भन्ने प्रतिवेदन डा. सिंहको कार्यदलले दिएको छ ।

त्यसैमा आधारित रहेर स्पष्टीकरण सोधिएको हो ।

‘तीन दिनभित्र लिखित स्पष्टीकरण दिन भनेको हो । हिजो पुस ४ गते पत्र बुझ्नुभएको छ,’ भण्डारीले भने । सञ्चालक समितिका अध्यक्ष डा. प्रकाशराज न्यौपाने भने त्यसलाई स्पष्टीकरण नभएर अस्पताल सुधारका लागि मन्त्रालयले आफूहरुसँग राय मागेको बताउँछन् । मंगलबार नै मन्त्रालय पुगेर आफूहरुले सचिवसँग सुझाव राखिसकेको र मन्त्रीलाई लिखित राय नै बुझाउने उनले बताए ।

के छ त अस्पताल सुधार्ने उपाय ?

सन् २०१५ मा नेपालका विभिन्न ठाउँ र भारतका समेत गरेर एक लाख १३ हजार बिरामी भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि आएका थिए । अध्यक्ष डा. रेग्मी नेपालमा रहेका क्यान्सर रोगीमध्ये ६० प्रतिशत उपचारका लागि सोही अस्पताल जाने बताउँछन् । त्यसैले सुधार आवश्यक रहेको उनले बताए ।

‘बिरामीको संख्या बढेको छ तर चिकित्सक प्राविधिकको दरबन्दी ०६७ सालमा जे थियो, त्यही छ । यसरी सबैलाई सन्तुष्ट हुने गरेर उपचार सेवा दिन कसरी सकिन्छ ?’ अध्यक्ष न्यौपानेले भने । क्यान्सर अस्पतालका उपकरण ल्याएको पाँच÷सात वर्षपछि बिग्रन थाल्छन् । मर्मत गरेर चलाए पनि १० वर्षभन्दा बढी चल्दैनन् । तर क्यान्सर अस्पतालमा १७ वर्ष पुराना उपकरण पनि छन् । रेडियोथेरापीजस्तो अत्यावश्यक सेवाका लागि चाहिने उपकरणसमेत नयाँ छैन ।

यसबाहेक विभिन्न पदमा हुने राजनीतिक भागबन्डाले प्रशासनमा अराजकता बढाएकै छ । कार्यकारी निर्देशकजस्तो महŒवपूर्ण पदमा राजनीतिक भागबन्डा चल्छ । माओवादी कोटामा कार्यकारी निर्देशक बनेका डा. भक्तमान श्रेष्ठले पाँच वर्षअघि आफ्नो कार्यकाल सकिए पनि सहजै पद त्याग गरेनन् । कांग्रेस कोटामा कार्यकारी निर्देशक बनेर आएका डा. लक्ष्मीनारायण सिंहलाई उनले लामो समयसम्म पदभार ग्रहण गर्न दिएनन् । कार्यकारी निर्देशकको कोठा र कुर्ची कब्जा जमाएरै बसे ।

                पछि, डा. भक्तमान श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष बनाएपछि यो विवाद साम्य भयो तर प्रशासनभित्र अराजकता त्यही बेलादेखि छि¥यो जुन अहिले चरम रुपमा देखा परेको छ । अस्पतालका अधिकारीका अनुसार कसैले कसैलाई टेर्ने अवस्था त्यहाँ छैन । यस्तो अवस्था रहेसम्म सुधार सम्भव नदेखिएको उनीहरु बताउँछन्।

प्रकाशित: ६ पुस २०७३ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App